Comments Add Comment

महिला क्रिकेटको ‘पारस’ बन्ने धोको

८ कात्तिक, काठमाडौं । वुमन च्याम्पियन्स लिगको फाइनलमा क्याट क्विस काठमाडौंले जब दोस्रो विकेट लियो, चितवन राइजोनकी सुमन खतिवडाले ट्रेडमार्क इन्ट्री मारिन् । मैदानमा प्रवेश गर्नासाथ केहीबेर स्प्रीन्ट गरिन् ।

नेपाली क्रिकेटलाई पछ्याउनेहरुका सुमन फाइनलमा मात्र होइन, सिंगो प्रतियोगिताभर अरु महिला क्रिकेटरहरु भन्दा भिन्न देखिइन् । कतिले उनको आत्मविश्वासको तारिफ गरे, कतिले उनको खेल्ने शैलीको प्रशंसा गरे ।

अनि कतिपयले उनमा नेपाली महिला क्रिकेटको भविश्य देखे, उनमा पारस खड्का देखे । उनीहरु मध्ये एक थिइन् महिला राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री । फाइनलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुमनमा महिला क्रिकेट टिमलाई नेतृत्व गर्ने क्षमता आफूले खेलेको भन्दै प्रशंसा गरिन् ।

झापाकी सुमन चाहिँ के सोच्छिन् ? एक दशक नेपाली क्रिकेटको नेतृत्व गरेका पारसका फ्यान उनले आफूलाई पारसकै पथमा हिँडाउने प्रयास गरेको सुनाइन् ।

मैदान प्रवेश गर्नासाथ गर्ने गरेको स्प्रीन्ट पनि पारसलाई नै पछ्याउने प्रयास रहेछ । भन्छिन्, ‘त्यो ‘ट्रेडमार्क’ मैले पारस दाइबाटै सिकेको हो । प्रधानमन्त्री कपमा दाइले त्यसै गर्नुभएको थियो । अनि मैले पनि त्यस्तै गर्न थालेँ ।’

यसो गर्दा आफूमा आत्मविश्वास बढ्नुका साथै विपक्षी टिमलाई दबाब बढ्ने उनको बुझाइ छ ।

भयो त्यस्तै । लगातार दुई विकेट गुमाएको चितवन सम्हालियो, उनले आक्रमक ब्याटिङ गरेकी उनले व्यक्तिगत २९ रन बनाइन् । ११३ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई ६७ रनमा अलआउट गर्ने क्रममा उनले तीन विकेट चट्‍काइन् र आफूलाई अलराउण्डरका रुपमा स्थापित गरिन् ।

अब उनको लक्ष्य छ, राष्ट्रिय टिमबाट खेल्ने र महिला क्रिकेटको ‘पारस’ बन्ने । ‘पारस दाइ जस्तो बन्ने जो कोहीलाई पनि इच्छा हुन्छ । मेरो पनि छ’ सुमनले हाँस्दै भन्छिन्, ‘दाइ र ममा समानता पनि छ, दुबै अलराउण्डर हौं ।’

उनको लक्ष्य छ, पारसले पुरुष टिमलाई विश्वकपमा पुर्‍याएजस्तै महिला टिमलाई पनि विश्वकपमा पुर्‍याउने । भन्छिन्, ‘नेपाललाई विश्वकपसम्म पुर्‍याउन चाहन्छु, तर त्योभन्दाअघि पहिले टिममा स्थान बनाउनु पर्‍यो ।’

राष्ट्रिय टिमको ढोका खुल्यो !

काठमाडौंमा हुर्के बढेकी सुमनले क्रिकेटलाई पछ्याउन थालेको एक दशक भइसक्यो । उमेर समूह र राष्ट्रिय प्रतियोगिताहरु पनि खेलिसकेकी छन् तर नेपालको जर्सी लगाएर अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाएकी छैनन् ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्ने र अन्तिम समयमा बाहिरिने क्रम चलिरहेको छ । अहिले उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा छिन् । बिहीबार सम्पन्न वुमन च्याम्पियन्स लिगमा गरेको प्रदर्शनका कारण उनको राष्ट्रिय टिमको ढोका खुलेको मानिएको छ ।

यसमा उनी पनि आशावादी छिन् । यो लिगले आफूलाई एक्पोजर दिको उनले बताइन् । ‘अन्य प्रतियोगितामा खुलेर खेल्न नपाएको जस्तो हुन्थ्यो तर, फ्रेन्चाइज लिगमा निकै खुलेर खेल्ने अवसर पाएँ । विना दबाब खेलेँ’ उनी थप्छिन्, ‘जब खेल जित्दै गयौं, मेरो आत्मविश्वास पनि बढ्दै गयो ।

झ्यालबाट क्रिकेट हेर्दा

सुमनले सानैदेखि सामाखुसीस्थित ग्रिनल्याण्ड स्कुलको होस्टेल बसेर पढ्ने । स्कुलको मैदानमा सिनियर दाइ र दिदीहरुले क्रिकेट खेलेको झ्यालबाट खुब हेर्थिन् ।

उनलाई पनि क्रिकेट मन पर्थ्यो तर, प्रतियोगिताहरु खेल्ने अबसर पाएकी थिइनन् । ‘एकदिन प्रिन्सिपल (सुनील प्रधान)ले बोलाएर ‘जहिल्यै हेरेर मात्रै बस्छेस्, लु आइज खेल्न’ भन्नुभयो । त्यहीँबाट हो म क्रिकेटमा लागेको ।’

त्यो बेला स्कुलस्तरीय महिला प्रतियोगिताको तयारी भइरहेको रहेछ, उनको स्कुलले पनि भाग लियो । प्रतियोगितामा उनले राम्रो प्रदर्शन गरिन् । त्यसपछि क्रिकेटको लत बस्न थाल्यो । भन्छिन्, ‘जब काठमाडौंको टिममा परे, त्यसपछि क्रिकेटमा केही गर्नसक्छु जस्तो लाग्न थाल्यो ।’

फेरि त्यो दिन सम्झन चाहन्न….

हरेक खेलाडीसँग संघर्ष, सफलताका कथाहरु हुन्छ, सुमनसँग पनि त्यस्ता क्षणहरु छन् । भर्खरै सुखका पानाहरु पल्टाउन थालेकी सुमन त्यो दिन कहिल्यै सम्झन चाहदैनन्, जुन दिन उनको कम्बरको हड्डी भाँचियो ।

यूू–१६ महिला क्रिकेट प्रतियोगिता खेल्न उनको टिम जनकपुर जाँदै थिइन् । मकवानपुरको सिस्नेरीमा टिम चढेको सुमो पल्टिँदा उनी गम्भीर घाइते हुन पुगिन् । उनी भन्छिन्, ‘सिस्नेरी भन्ने ठाउँमा गाडी करिव १०० मिटर तल खस्यो । मेरो कम्बरको जोर्नीको हड्डी भाँच्चिएर बाहिर निकिस्एछ ।’

एउटा सपना बोकेर जनकपुर टिमसँग लागेकी सुमनलाई त्यो दुर्घटनाले एक वर्षसम्म बैसाखी टेकायो । तर उनले हिम्मत हारिनन् । उनलाई राइजिङ क्रिकेट फर वुमन्स क्लबले साथ थियो । राष्ट्रिय क्रिकेट टिमकी सदस्य आरती विडारीको यो क्लबले उनको उपचारदेखि फिट्नेससम्म सबै खर्च ब्यहोर्‍यो । सुमन फेरि खेलमा फर्किइन् र आफ्नो सपना पुरा गर्ने दौडका छिन् ।

आमा छोरीको रेकर्ड राख्ने धोका

कम्प्युटर साइन्समा स्नातक पहिलो वर्षमा अध्ययनरत सुमनलाई घरबाट पनि राम्रै साथ र सहयोग छ । आमा शारदा खतिवडा आफैं एथ्लेटिक्स खेलाडी भएको कारण अन्य खेलाडीलाई जस्तो घरबाट क्रिकेट खेल्न रोकथोक भएन ।

आमाले सधैं राम्रो गर्नू भनेर हौस्याइरहिन् । अब शारा र सुमनले आमा छोरीले एकसाथ सगारमाथाको चुचुरोमा पाइला टेकेर रेकर्ड बनाउने लक्ष्य कोरेका छन् । उनकी आमाले सन् २०११ मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । सुमन भन्छिन् ‘आमा र मैले सँगै सगरमाथा चढ्ने लक्ष्य छ । सगरमाथा चढ्ने आमा–छोरीको रेकर्ड राख्ने योजनामा छौं ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment