२१ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका पेस बलर मर्चेन्ट डे लाङले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगरले शुक्रबार विज्ञप्ति जारी गरेर डे लाङलाई अनुबन्ध गरेको जनाएको हो । उनको आगमनले पेस बलिङ र डेथ बलिङ सुदृढ हुने क्लबले अपेक्षा राखेको जानकारी दिएको छ ।
३५ वर्षीय अग्ला कदका डे लाङले दक्षिण अफ्रिकाको टोलीबाट पनि खेलिसकेका छन् । उनले समग्र टी-२० मा १५५ खेलमा १७४ विकेट लिएका छन् ।
गत सिजन चितवन राइनोजका लागि अनुबन्धित डे लाङले चोटका कारण प्रतियोगिता गुमाएका थिए ।
डे लाङले भारतको आईपीएल, क्यारेबियन सीपीएल, द हन्ड्रेड, आईएल टी-२०, भाइटालिटी ब्लास्टलगायतका फ्रेन्चाइज लिगहरू खेलेका छन् ।
विराटनगरले यसअघि दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेको छ भने त्यसबाहेक स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट र न्युजिल्यान्डका मार्टिन गप्टिललाई अनुबन्ध गरेको छ ।
विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।
अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।
प्रतिक्रिया 4