Comments Add Comment

नेशनल मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन

८ कात्तिक, वीरगञ्ज । सरकारले तोेकेको भन्दा अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनत नेशनल मेडिकल कलेजका विद्यार्थीले शुक्रबार पनि प्रदर्शन गरेका छन् ।

उनीहरुले विद्यार्थीमाथि दमन बन्द गर, विद्यार्थीहरुलाई कुटपिट गर्ने र गराउनेलाई कारबाही गर, सरकारले निर्धारण गरेको शुल्क लागू गर, असुल गरिएको बढी रकम फिर्ता गरलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा समस्याबारे ध्यानाकर्षण गराउन जाने क्रममा १८ औं ब्याचका पहिलो वर्षका विद्यार्थीले कलेजदेखि प्रशासन कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

फेरि आक्रमण भएको विद्यार्थीको दावी

बिहीबारको प्रदर्शनमा सहभागी विद्यार्थीलाई होस्टलमा कलेज प्रशासन निकटका विद्यार्थी प्रयोग गरेर कुटपिट र धम्की दिएको विद्यार्थीहरुको दावी छ । असुरक्षित भएको महसुस गरेपछि उनीहरुले राति नै सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार सिनियर विद्यार्थीसहित राति झण्डै ३० जना राति आएका थिए । उनीहरुले विद्यार्थी बसेको होस्टलको प्रत्येक कोठा कोठामा पुगेर ‘छतबाट फालिदिन्छु’ भन्दै धम्क्याएका थिए ।

‘एउटा रुममा हामी पाँच जना हुन्छौं, उनीहरु ३० जनाको संख्यामा आएका थिए, शारीरिक र मानसिक यातना दुवै दिएका छन् । उनीहरु भागेपछि प्रहरी आइपुगेको हो’ नाम उल्लेख नगर्ने शर्तमा एक विद्यार्थीले भने ।

विद्यार्थीको सुरक्षा प्राथमिकतामा : प्रजिअ भट्टराई

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने विद्यार्थीको सुरक्षालाई प्रशासनले प्राथमिकतामा राखेको बताएका छन् । आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनसँग सकारात्मक छलफल भएको उनको भनाइ छ ।

‘दुवै पक्षबाट वस्तुस्थिति बुझेका छौं, एकै ठाउँमा कुरा गर्दा विद्यार्थी नखुल्लान् भनेर अलग अलग राखेर कुरा गरेका छौं’ उनले भने ‘पहिलो प्राथमिकता शान्ति सुरक्षा हो, त्यसपछि सरकारको नीति कार्यान्वयनको कुरा आउँछ भनेको छु ।’

व्यवस्थापन पक्षलाई विद्यार्थीको अभिभावकको भूमिका निर्वाह गर्न निर्देशन दिएको प्रजिअ भट्टराईले बताए । तर आन्दोलनरत विद्यार्थीहरुले प्रमाण सहित जाँदा पनि प्रशासनले समस्या समाधानका लागि लामो समय मागेकोले आफूहरु चिन्तित भएको बताएका छन् । ‘यति दिन भनेर मिति दिएको भए हामी ढुक्क हुने थियौं’ उनीहरुले भने ।

शुल्क राष्ट्रिय विवाद हो : कलेज सञ्चालक

आन्दोलनरत विद्यार्थीमाथि कलेज प्रशासनबाट कुनै किसिमको अभद्र व्यवहार नभएको कलेजका निर्देशक बसरुद्धिन अन्सारीले बताए ।

छठपछि परीक्षा भएकोले सिनियर विद्यार्थीले जुनियरलाई सम्झाउन खोज्दा भनाभन मात्रै भएको दावी उनको छ । ‘राति म पनि गएको छु । भनाभन मात्रै भएको हो, उनीहरुको परीक्षा छैन, फुर्सदमा छन् । बाहिरका मानिसहरुले उकासेकोले आन्दोलन गर्दैछन्’ उनले भने ।

मेडिकल एशोसिएसनका राष्ट्रिय अध्यक्षसमेत रहेका उनले सरकारले तोकेको मूल्यमा कुनै पनि हालतमा कलेज चलाउन नसक्ने बताए । ‘सरकारले विना कारण सिट घटायो, विदेशी विद्यार्थी पनि लिन दिएन । अब हाम्रो पर युनिट कष्ट बढी लाग्छ’ उनले भने ‘हामीले सरकारलाई बारम्बार भनेका छौं, सिट थप्नुस् दर त्यही राख्नुस् । होइन कलेज नचला भन्ने हो भने नचलाउ भने भइहाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment