+
+

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीको राय

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ९ गते ६:४९

९ कात्तिक, काठमाडौं । शनिबारीय अंकसहित राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक विषय प्रमुख हेडलाइन बनेका छन् ।

कान्तिपुर दैनिकले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको समाचार छापेको छ । पहिलो, बलात्कार प्रयास र दोस्रो, एउटै कार्यालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको फरक-फरक अभियोगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई प्रहरीले राय दिएको कान्तिपुरले लेखेको छ ।

महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ ।

गरिमा धानको बीउ नक्कली 

कान्तिपुरमा धेरै फल्ने उन्नत जानको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको समाचार पनि छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद (नार्क)ले उक्त धानको डीएनए परीक्षण गरेको थियो । परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको र गरिमा भनेर किसानलाई बिक्री गरिएको बीउ नक्कली भएको समाचारमा उल्लेख छ ।

भारतको रेनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादन गरेको सो बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालिले ल्याएर नेपालमा बेचेको थियो । धान भित्राउने समयसम्म पनि बाला नलागेपछि किसानहरुको लगानी खेर गएको छ ।

नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल

अन्नपूर्ण पोष्ट दैनिकले नेकपाभित्रको गुटको समाचार लेखेको छ । ‘नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल’ शीर्षकको समाचारमा अन्नपूर्ण लेख्छ, ‘सत्तासिन नेकपामा कसैलाई अवसरको खातैखात लाग्छ, त कोही चिल्लै हुन्छन् । सत्तासिन नेकपाभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एक जनाबाहेक सबै मन्त्री बनिसके । तर, पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुई पटक चुनाव जितेर पनि मन्त्री बन्न बञ्चित छन् ।’

नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले भनेकी छन्, ‘पार्टीमा दुःख गर्नेले गरेको गर्‍यै छन्, अवसर भने नेतानिकटले मात्रै पाइरहेका छन् । यही विकृतिका कारण पार्टी लथालिंग छ । गुट, चाकरी र परिवारवाद हाबी छ ।’

प्रधानमन्त्री कार्यालयले ‘सरकार हाजिर छ’ कार्यक्रम ल्याउने

राजधानी दैनिकमा सरकारले जनताका समस्या, गुनासा र कामहरु समयमै सम्बोधन गर्ने उद्देश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको समाचार छ । जनगुनासो बुझेर तत्काल समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘सरकार हाजिर छ’ नामक कार्यक्रम सञ्चालनमा ल्याउन लागेको समाचारमा उल्लेख छ ।

राजधानीमा तिहारको सुरक्षाका लागि राजधानी काठमाडौंका नाकामा कडाइ र कुकुरबाट चेकजाँचको व्यवस्था मिलाइएको समाचार पनि छ ।

राजा कागको संख्या विश्वमै कम

गोरखापत्र दैनिकले अजरबैजानको राजधानी बाकुमा सुरु भएको असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनसम्बन्धी विषयलाई मुख्य समाचारको रुपमा छापेको छ ।

आज काग तिहारको सन्दर्भ पारेर राजा कागको संख्या विश्वमै कम भएको समाचार पनि गोरखापत्रमा छ । चराविद हेमसागर बरालका अनुसार विश्वभर झण्डै पाँच दर्जन प्रजातिका काग पाइन्छ । तीमध्ये नेपालमा ६ प्रजातिका काग पाइन्छ । नेपालमा धेरै संख्यामा रहेको घर काग हो । घर कागको घाँटी र छातिमा खरानी रंगको फुस्रो र अन्यत्र कालो रंग हुन्छ ।

चौथो प्रजातिमा राजा काग पर्छ । चराविद बरालका अनुसार यो अन्य कागभन्दा आकारमा चीलजस्तै ठूलो हुन्छ । राज कागको स्वर भने अन्यजस्तो तिखो हुन्न । कराउन त खोज्छ तर यसको आवाज घाँटीबाटै सुकेको जस्तो खर्रर, खर्रर आउँछ । राजा काग सामान्य कागजस्तो ठूलो हुलमा रहन्न । तीनदेखि ६ वटासम्मको समूहमा देखिन्छ । राजा काग एसिया, युरो र अमेरिका महादेशका देशहरुमा पाइन्छ । नेपालमा राजा कागको संख्या करिब एक हजार आसपास रहेको अनुमान गरिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?