News Summary
Generated by OK AI. Editorially reviewed.- ‘आ बाट आमा २’ हेरेपछि लेखकले आमाबुबाको माया, उपस्थिति र जिम्मेवारीबारे प्रश्न उठाउँदै परिवारिक संवेदनाको महत्व सम्झाइन् ।
- चलचित्रमा देवकी, बासुदेव, बलराम र कृष्णका कथामार्फत विदेश, उपचार, अलगाव र कर्तव्यबीचको द्वन्द्व देखाइएको छ ।
- लेखकले जीवित छँदै आमाबुबालाई समय, साथ र माया दिन आग्रह गर्दै अन्तिम संस्कारपछि मात्र होइन, अघि नै सहारा दिनुपर्ने भनिन् ।
आज ‘आ बाट आमा २’ हेरेर फर्किएँ । तर मन चलचित्र हलमै छोडेर आउन सकिनँ । मनभरि पीडा, आँखाभरि आँसु र हृदयभरि अनगिन्ती प्रश्न बोकेर फर्किएँ । पर्दामा पात्रहरू रोइरहेका थिए, तर कताकता आफ्नै जीवन रोइरहेको अनुभूति भयो । कथा उनीहरूको थियो, पीडा आफ्नै जस्तो लाग्यो ।
झन् आमाको माया देख्न, महसुस गर्न र उनको न्यानो काखमा सुरक्षित हुन नपाएकाहरूका लागि यो चलचित्र केवल एउटा कथा होइन । मनको कुनै कुनामा चुपचाप दुखिरहने पुरानो घाउ फेरि बल्झिएजस्तै हो । अरूले आमाको माया देखेर आँसु झार्दा आफूले कहिल्यै अनुभूत गर्न नपाएको त्यही मायाको रिक्तताले भित्रभित्रै रुवाउँछ ।
चलचित्रमा आमा देवकीको भूमिकामा बिपना थापा र बुबा बासुदेवको भूमिकामा देखिएका कलाकारको अभिनयले मन गहिरोसँग छोयो । देवकी र बासुदेवबीचको संवाद, “एकअर्काबाट टाढा हुँदा जून हेरेर बस्नू”, अझै मनमा गुञ्जिरहेको छ । कति सरल शब्द, कति गहिरो प्रेम ! एउटै जून हेरेर एकअर्कालाई सम्झने वाचा गरेका ती दुई मनलाई के थाहा, परिस्थितिले एक दिन सदाका लागि छुट्याउनेछ भनेर !
जून आकाशमै रहिरह्यो, तर एकअर्कालाई हेरेर सम्झनुपर्ने ती आँखाहरू बन्द भए । देवकी केवल आफ्ना छोराहरूकी आमा थिइनन् । उनी त अरूको दुःखलाई समेत आफ्नै ठान्ने विशाल हृदयकी प्रतीक थिइन् । आफ्नो कोखको सन्तान नभए पनि अपाङ्गता भएको बालकलाई छातीमा टाँसेर माया दिइन्, हुर्काइन् । अरूका सन्तानलाई आफ्नै ठान्ने ती आमाले बुढेसकालमा आफ्नै सन्तानबाट एक्लोपन भोग्नुपर्ला भन्ने के थाहा !
आमाबुबाले छोराहरूको भविष्य बनाउन कति सपना त्यागे, कति पीडा लुकाए । जेठो छोरो बलरामले आमाबुबासँग सल्लाहसमेत नगरी अदालतमा विवाह गर्यो । विदेश जाने तयारी पूरा भएपछि अघिल्लो दिन मात्रै खबर पाउँदा पनि आमाबुबाले छोराको भविष्यकै लागि मनमा ढुङ्गा राखेर सहमति जनाए । सन्तानका निर्णयले मन दुखे पनि उनीहरूले माया घटाएनन् ।
एक दिन देवकीले कान्छो छोरा कृष्णलाई भनेको संवादले मन चुँडिन्छ, ‘तिमीलाई थाहा छ नि, धेरै माया गर्यो भने टाढा भइदोरहेछ । कतै तिमी पनि टाढा भयौ भने…।’ यो केवल संवाद होइन, माया गरेर पनि एक्लिएकी आमाको मनमा पलाएको असुरक्षा हो । एउटा छोरो टाढा भइसकेपछि अर्को छोरो पनि गुमाउनुपर्ने हो कि भन्ने भय हो । आमाले छोरासँग ठूलो अपेक्षा गरेकी थिइनन्, केवल आफूलाई छोडेर नजाओस् भन्ने आश्वासन खोजिरहेकी थिइन् ।
बलराम पढाइमा अब्बल थियो । विदेशमा जीवन स्थापित गर्यो, घर बन्यो, गाडी आयो र आर्थिक अवस्था सुध्रियो । बाहिरबाट हेर्दा उसका सपना पूरा भएका थिए । तर सफलताको यही यात्रामा आफ्नै बुबासँग बसेर दुई शब्द बोल्ने समय हरायो । बासुदेव आर्यघाटमा जीवनको अन्तिम क्षणसँग लडिरहेका बेला पनि अस्ट्रेलियाको व्यस्तताले उसलाई भाइ कृष्णका सयौँ फोन उठाउन दिएन । बुबाको मृत्युको खबर पाएपछि पनि ऊ नेपाल फर्किएन । आफ्ना छोराछोरीको हेरचाह गर्नुपर्ने कारण देखाउँदै आमालाई समेत नेपाल आउन दिएन ।
आमालाई अस्ट्रेलिया लैजाँदा उसले एक महिनापछि बुबाको भिसा आउने आश्वासन दिएको थियो । यही आशामा देवकी श्रीमान्सँग फेरि भेट हुने प्रतीक्षामा बसिन् । तर भिसा आएन । नेपालमा बासुदेव श्रीमतीको सम्झनामा छटपटाइरहे, अस्ट्रेलियामा देवकी श्रीमान्को वियोगमा तड्पिइरहिन् । जीवनभर सँगै दुःखसुख बाँडेका दुई आत्माले बुढेसकालमा एउटै छानामुनि बस्नसमेत पाएनन् ।
श्रीमतीलाई भेट्ने आशा बोकेर मितज्यूको घरबाट फर्किएका बासुदेवलाई बाटोमै ट्रकले ठक्कर दियो र उनको मृत्यु भयो । चलचित्रले दर्शकसामु असह्य प्रश्न छोड्छ—बलरामले समयमै बुबाको भिसाको प्रक्रिया अघि बढाएको भए के यो वियोग टार्न सकिन्थ्यो ? यसको उत्तर कसैसँग छैन । तर समयमै गर्न सकिने एउटा निर्णय नगर्दा जीवनभरको मिलन कसरी सदाका लागि बिछोडमा बदलिन सक्छ भन्ने पीडादायी सम्भावनाले मन हल्लाउँछ ।
चलचित्रको अन्त्यतिर बलराम आमाबुबाबाट टाढिँदै जानुमा श्रीमतीको आग्रह र पारिवारिक दबाबको भूमिका पनि देखिन्छ । उसलाई आमाको माया थिएन भन्ने होइन, तर आफ्ना निर्णयमा दृढ हुन नसक्दा आमाबुबाको पीडा बुझ्ने ठाउँ साँघुरिँदै गयो । पछि आमाको मिर्गौलाले काम गर्न छाडेपछि र नियमित डायलाइसिस आवश्यक भएपछि उपचारको खर्चको कारण देखाउँदै उनलाई नेपाल फर्काउनुपर्ने अवस्था आयो । बच्चाको हेरचाह गर्न आमा चाहिने, तर आमालाई नै स्याहार र उपचार चाहिँदा उनी बोझजस्तै हुने यो अवस्थाले मनमा प्रश्न उठाउँछ-हामी आमाबुबालाई माया गर्छौँ कि उनीहरूले हाम्रो जीवनमा पुर्याउने सुविधालाई ?
आफ्नो परिवारको जिम्मेवारी पूरा गर्नु आवश्यक छ । श्रीमतीलाई माया गर्नु र आमाबुबालाई सम्मान गर्नु परस्पर विरोधी कुरा होइनन् । पारिवारिक समस्या आउनु अस्वाभाविक होइन, तर समाधान खोज्दा कसैको माया, सम्मान र अस्तित्वलाई ओझेलमा पार्नु दुःखद हो । आमाबुबाको त्यागमा उभिएको मानिसले आफ्ना निर्णयको जिम्मेवारी लिन नसक्नु पनि विचार गर्नुपर्ने विषय हो ।
अर्कोतिर छ कान्छो छोरा कृष्ण । पढाइमा दाइ जति अब्बल नभए पनि आमाबुबाको साथ नछोड्ने प्रण गर्ने सन्तान । बुबाको मृत्यु हुँदा नेपालमै रहेर दाजुलाई बारम्बार फोन गर्ने कृष्णले आफ्नै आँखाअगाडि बुबाको अन्तिम समयको पीडा सहनुपर्यो । पछि आमालाई भेट्न कठिन बाटो रोजेर अस्ट्रेलियासम्म पुग्यो । संघर्ष, जोखिम र जेलसम्मको अवस्था सामना गरेर पनि आमासम्म पुग्ने उसको प्रयत्नले देखाउँछ-सन्तानको मूल्याङ्कन शैक्षिक प्रमाणपत्र वा आर्थिक हैसियतले मात्रै हुँदैन, दुःखको समयमा उसले निभाएको कर्तव्यले हुन्छ ।
एकातिर आर्थिक सफलता, अर्कोतिर सम्बन्धप्रतिको निष्ठा । चलचित्रले यी दुई पात्रमार्फत असहज सत्य देखाउँछ-धेरै कमाउँदैमा धेरै माया पाइँदैन, सफल हुँदैमा असल सन्तान भइँदैन ।
हामी छोराछोरीलाई डाक्टर, इन्जिनियर वा विदेशमा स्थापित व्यक्ति बनाउन चाहन्छौँ । तर असल सन्तान बन्न पनि सिकाउँछौँ कि सिकाउँदैनौँ ? पैसा कमाउने सीप सिकाउँछौँ, तर अरूको आँसु पुछ्ने संवेदना सिकाउँछौँ ? आफ्नो भविष्य बनाउने हिम्मत दिन्छौँ, तर निर्णयको जिम्मेवारी लिने साहस दिन्छौँ ? सन्तानको हातमा उज्ज्वल भविष्य सुम्पिने चाहनामा उनीहरूको मनमा मानवीय संवेदना रोप्न बिर्सिरहेका त छैनौँ ?
विदेश जानु गलत होइन । आफ्ना छोराछोरीको हेरचाह गर्नु र आर्थिक जिम्मेवारी पूरा गर्नु पनि गलत होइन । तर यी जिम्मेवारीबीच आमाबुबाको एक्लोपन, अन्तिम समय र उनीहरूलाई चाहिएको आत्मीयता बिर्सनु गम्भीर विषय हो । दूरी सधैँ किलोमिटरमा हुँदैन । कहिलेकाहीँ एउटै घरभित्र बसेर पनि मनहरू हजारौँ माइल टाढा हुन्छन् ।
‘आ बाट आमा २’ ले मलाई रुवायो, तर आँसु मात्रै दिएन । आफ्नै सम्बन्धहरूलाई फर्केर हेर्ने ऐना पनि दियो । हामी आमाबुबालाई माया गर्छौँ भन्छौँ, तर उहाँहरूले त्यो माया महसुस गर्न पाउनुभएको छ कि छैन भनेर सोचेका छौँ ? उहाँहरूलाई औषधि र उपचार मात्रै होइन, हाम्रो समय, उपस्थिति र अपनत्व पनि चाहिन्छ । कहिलेकाहीँ पैसाभन्दा हाम्रो उपस्थिति प्यारो हुन्छ, उपहारभन्दा दुई शब्द बोल्ने समय अमूल्य हुन्छ । अन्तिम संस्कारमा काँध दिनुभन्दा जीवित छँदै सहारा दिन सक्नु ठूलो कुरा हो ।
चलचित्रको अन्त्यपछि पनि मनमा एउटा प्रश्न बाँकी रह्यो-मैले कहिल्यै अनुभूत गर्न नपाएको आमाको न्यानो काख कस्तो हुन्थ्यो होला ? आमाले सन्तानलाई छातीमा टाँसेर दिने मायाको अनुभूति कस्तो हुँदो हो ? सायद यसको उत्तर शब्दले दिन सक्दैन । कतिपय आँसु आँखाबाट झर्छन्, कतिपय मनभित्रै जमेर बस्छन् । कतिपय घाउ समयसँगै पुराना हुन्छन्, तर निको हुँदैनन् । आज यो चलचित्रले मेरो मनमा त्यस्तै एउटा घाउ फेरि बल्झाइदिएको छ ।
‘आ बाट आमा २’ टिमलाई यस्तो गहिरो पारिवारिक संवेदना पर्दामा उतारेकोमा धन्यवाद । यो चलचित्र हेरेर बिर्सिने कथा होइन, आफ्ना प्राथमिकतामाथि प्रश्न गर्न र माया गर्ने मानिसहरूलाई समयमै माया व्यक्त गर्न सम्झाउने कथा हो ।
आमा भनेको केवल एउटा शब्द होइन, जीवनभरि तिर्न नसकिने ऋण हो । बुबा भनेको केवल एउटा सम्बन्ध होइन, हामी ढल्दा अड्याउने आधार हो । उहाँहरूलाई माया गर्न ढिलो नगरौँ । आजै फोन गरौँ, आवाज सुनौँ, हालखबर सोधौँ र मनमा भएको माया व्यक्त गरौँ । किनकि बितेको समय र सदाका लागि बन्द भएको आमाबुबाको आवाज कहिल्यै फर्केर आउँदैन ।
आज पनि मनमा त्यही संवाद गुञ्जिरहेको छ, ‘एकअर्काबाट टाढा हुँदा जून हेरेर बस्नू ।’ कुनै दिन हामी पनि कसैका लागि जून हेरेर बस्नेछौँ । तर जून त देखिएला, ‘आमा !’ भनेर बोलाउँदा जवाफ दिने आवाज नहुन सक्छ । त्यसैले उहाँहरू छँदै उहाँहरूको माया बुझौँ, प्रतीक्षा छोट्याऔँ र साथ दिऔँ ।
प्रतिक्रिया 4