Comments Add Comment

आगोले पोलेमा वा जलेमा के गर्ने ?

तिहारमा सेलरोटी पकाउँदा कतिको हात तातो तेलले पोलेका होलान् । दियो बत्ती बाल्दा पनि आगोले पोलेको हुनसक्छ । केटाकेटीले पटका पड्काउँदा पनि उनीहरुको हात पोलेको वा डढेको हुनसक्छ । यसरी तेलले, आगोले वा विद्युतिय झड्काले पनि हाम्रो हात, खुट्टा वा शरीरको कुनैपनि भाग जल्न पुग्छ ।

तिहारको बेला मात्र होइन, अरु बेला पनि खानेकुरा पकाउँदा, आगो सल्काउँदा, विद्युतिय उपकरणहरु चलाउँदा हात वा अन्य भाग जल्न सक्छ । डढ्न सक्छ । यस किसिमको जलन वा पोलाई निकै पीडादायक हुन्छ । साथसाथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहिरहन्छ ।

घरमा साना बालबालिका छन् भने यस्तो भय अरु बढी हुन्छ । बालबच्चाहरु खेल्ने क्रममा उम्लिरहेको पानीमा हात डुबाउन पुग्छन्, आगोमा हात हाल्न पुग्छन्, विद्युतिय उपकरण चलाउन पुग्छन् । यस्तो अवस्थामा उनीहरुको हात लगायत शरीरका अंग पोल्न, जल्न सक्छ ।

जलन वा पोलाई अप्रत्यासित हुने दुर्घटना हुन् । खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । यस्तो अवस्थामा घाइतेलाई तत्काल के गर्ने ? पूर्व तयारी र जानकारी हुनुपर्छ ।

हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ । आगोले पोल्ने, तातो तेल वा पानीले पोल्ने कुरामा सावधानीपूर्वक काम गर्नुपर्छ । विद्युतिय उपकरणको प्रयोग अघि पनि सावधानी अपनाउनुपर्छ । साथसाथै आगोले चाडै टिप्ने खालको पहिरन लगाउनु हुँदैन ।

श्रृजना जि.सी. खरेल

बालबच्चाको हकमा अरु बढी सावधानी अपनाउनुपर्छ । घरमा जथाभावी विद्युतिय उपकरणहरु राख्नु हुँदैन । बालबच्चाले चलाउने स्थानमा त्यस्ता उपकरण राख्नु हुँदैन । तातो पानी वा आगोको छेउछाउ खेल्न दिन हुँदैन ।

प्राथमिक उपचार

कुनैपनि आकस्मिक दुर्घटना हुँदा पीडितलाई तत्काल प्राथमिक उपचार गर्नुपर्छ । त्यसैले घरका सदस्यहरुलाई प्राथमिक उपचारको आधारभूत ज्ञान हुनु राम्रो हो । यदि प्राथमिक उपचारको ज्ञान छ भने कतिपय संभावित अप्ठ्याराबाट बच्न सकिन्छ ।

–     आगोले पोलेमा, तातो पानीले पोलेमा यदि छाला छेडिएको वा नष्ट भएको छैन भने सफा चिसो पानीमा डुबाउनुपर्छ ।

–     फोका उठेमा त्यसलाई नफुटाउने ।

–     घाउलाई सफा कपडाले छोप्ने ।

–     पीडितलाई प्रशस्त झोलिलो पदार्थ दिने ।

–     एसिडढले पोलेको भए सफा पानीले घाउ सफा गर्ने । उपलब्ध छ भने सामान्उ सलाइन वा नुनपानीले सफा गर्नुपर्छ ।

–     क्षारको पोलाइमा अमिलो र पानी बराबरी मिलाएर सफा गर्ने ।

–     घिउकुमारी अर्थात एलोभेराको जेल लगाउँदा पनि राम्रो गर्छ ।

यदि गम्भीर अवस्थाका घाइते भएमा तत्काल नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्‍याउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment