Comments Add Comment

‘अन्नपूर्ण क्षेत्रमा उद्धार नपाएरै अब पर्यटकको ज्यान गुम्ने छैन’

अन्नपूर्ण बेसक्याम्पमा खुल्यो नेपालकै पहिलो अत्याधुनिक 'रेस्क्यु सेन्टर'

१५ कात्तिक, पोखरा । मर्दी हिमाल पदयात्रामा गएकी डच नागरिक कोरी भ्यान ०७४ माघ ८ गते बेपत्ता भइन् । उनको परिवार र नेपालका रेस्क्यु टोलीले लाख कोसिस गर्दा पनि कोरी भेटिइनन् ।

मर्दी आधार शिविरबाटै ०७३ असोजमा इजरायली नागरिक अमित रिचम्यान हराए । गएको वर्ष चैत ६ गते जापानी नागरिक ६४ वर्षीय नाजासावा माजासीको अन्नपूर्ण पदयात्रामा भीरबाट लडेर ज्यान गयो ।

हिउँको पहिरोमा पुरिएर केही दिनअघि अन्नपूर्ण पदयात्रा जाँदै गरेका पोखरा पर्स्याङका १८ वर्षीय सञ्जय खनालको ज्यान गयो । अन्य ३ जना घाइते भए । ०७४ माघमा काठमाडौंकी दिपना उप्रेती अन्नपूर्ण पदयात्राकै क्रममा बेपत्ता भइन् ।

अन्नपूर्ण पदयात्रामा जाने पर्यटकको ज्यान जाने, हराउने र दुर्घटनामा पर्नेहरुको सूची बनाउँदै जाने हो भने लामो हुन्छ ।

उद्धारमा ड्रोनको प्रयोग

संसारकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रामा पर्यटकको चापमात्रै बढेको छैन, अंगभंग तथा परिवारका सदस्य गुमाउने दुःखदायी घटना पनि भइरहेका छन् । अब भने अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा जाने पर्यटक दुर्घटनामा परे बेलैमा उद्धार हुने भएको छ । किनकि, अबदेखि पर्वतारोहण तथा पदयात्रामा आइपर्ने विपत र त्यसको जोखिम न्यूनीकरण गर्न अन्नपूर्ण क्षेत्रमा ‘रेस्क्यु सेन्टर’ स्थापना भएको छ । कोरियन टेलिकमको सहयोगमा गण्डकी प्रदेश, नेपाल पर्वतारोहण संघ र हुम हुङ्गील हुमिन फाउण्डेनले अन्नपूर्ण रेस्क्यु सेन्टर निर्माण गरेका हुन् ।

रेस्क्यु सेन्टरको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कोरियन टेलिकमको टोलीले उदघाटन गरेका छन् । यो रेस्क्यु सेन्टरलाई नेपालकै अत्याधुनिक भनिएको छ । रेस्क्यु सेन्टरबाट विपतमा परेका पर्यटक तत्काल पत्ता लगाएर उद्धार गर्न सकिने नेपाल पर्वतारोहण संघले जनाएको छ ।

रेस्क्यु सेन्टरले विशिष्ट किसिमको ड्रोनको प्रयोग गर्ने छ । इन्फारेड क्यामराले ड्रोनबाट जिवित मानिस पत्ता लगाउने प्रविधि प्रयोग हुने छ । ड्रोनमा सेन्सरसहित क्यामरा जडान गर्ने र त्यसले मानिस जिवित रहेको संकेत दिने र तत्काल उद्धार गर्न सकिने छ ।

पर्यटकले पदयात्रामा जानुअघि ड्रोनको सन्सेरसँग सम्बन्धित डिभाइस पनि लिएर जान सक्ने छन् । डिभाइसमार्फत ट्र्याकिङ सिस्टमबाट पर्यटक रहेको स्थान र अवस्था पत्ता लाग्ने छ । आपतकालीन अवस्थामा ट्र्याकिङ सिस्टमले दिने संकेतमार्फत उद्धार गर्न सकिने छ ।

रेस्क्यु सेन्टरबाट आपतकालीन अवस्थामा रहेका पर्यटकलाई औषधिदेखि १० केसीसम्म ड्रोनमार्फत उपलब्ध गराउन सकिने छ । अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा विद्यालयसमेत निर्माण गरिरहेको कोरियन टेलिकमको पहलमा रेस्क्यु सेन्टर स्थापना भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्त लामाले बताए ।

‘अन्नपूर्ण क्षेत्रमा थुप्रै कारियाली नागरिक पनि हराइरहेका छन् । त्योमात्र नभएर कोरियाको यो संस्थाले हिमालय क्षेत्रमा विभिन्न काम गर्दै आएको छ,’ संघका अध्यक्ष लामाले भने, ‘अन्नपूर्ण आधार शिविरमा स्थापना भएको यस्तो रेस्क्यु सेन्टर नेपालमै पहिलो हो ।’

सेन्टर सञ्चालनका लागि स्थानीयलाई आधारभूत तालिम दिने, गाइड, होटलका कर्मचारीको सहकार्यमा आपतकालीन अवस्थाका पर्यटकलाई तत्काल उद्धार गरिने अध्यक्ष लामाले जानकारी दिए । रेस्क्यु खर्चका लागि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा बास्केट फन्ट सञ्चालन गरिने छ ।

कोरियाली टेलिकम र नेपाल पर्वतारोहण संघले रेस्क्यु सेन्टरको सञ्चालन गर्ने छन् । टेलिकमले दुई वर्षसम्म सञ्चालन र जनशक्ति उत्पादन गर्ने काम गर्नेछ । त्यसपछि भने नेपाल पर्वतारोहण संघले सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता हुने छ ।

रेस्क्यु सेन्टरमा जडित अत्याधुनिक प्रविधिको प्रयोगले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने र नेपालका पदयात्रा सुरक्षित छ भन्ने सन्देश दिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ छ ।

‘हामीले सन् २०२२ सम्म २० लाख पर्यटक भित्राउने भनेका छौं । अहिले आन्तरिक भ्रमण वर्ष मनाइरहेका छौं भने आगामी वर्ष छिमेकी भ्रमण वर्ष मनाउँछौं,’ मुख्यमन्त्री पृथ्वीसुब्बाले भने, ‘विश्वकै चर्चितमात्रै होइन सबैभन्दा आकर्षण ठाउँ अन्नपूर्ण पदयात्रा हो । अब अझै बढी पर्यटक ढुक्क भएर अन्नपूर्ण पदयात्रामा आउने छन् ।’

अन्नपूर्ण हिमाल सगरमाथाभन्दा पनि पहिले आरोहण गरिएको हिमाल हो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण साउथ हिमालको आरोहण गरेका थिए ।

अन्नपूर्ण पदयात्रामा अहिले पर्यटकको आकर्षण बढे पनि आरोहण भने नगन्य छ । त्यही हिमालको आधार शिविरमा स्थापना भएको रेस्क्यु सेन्टरले अन्नपूर्ण आरोहण पनि सुरक्षित छ भन्ने सन्देश जाने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment