Comments Add Comment

धर्म सत्ताको सेवक बन्नु हुँदैन : उपप्रधानमन्त्री पोखरेल

१७ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले धर्मलाई सत्तासंग जोडेर नहेर्न आग्रह गरेका छन् ।

धापासीस्थित हरिहर मन्दिरमा आइतबार आयोजित कार्यक्रममा रामचरितमानस ग्रन्थको नेपाली अनुवादको लोकार्पण गर्दै उनले धर्म र सत्तालाई जोडेर विश्लेषण गर्न नमिल्ने धारणा राखेका हुन् ।

‘सत्ताको सेवक बनेर धर्म चल्नु हुदैन । धर्म सत्ताको सेवक बन्यो भने जनताको आस्थामा सीमित हुदैन त्यो । त्यसले पाखण्ड प्रदर्शन गर्न थाल्छ’ उनले भने ।

कम्युनिष्टहरु धर्म नमान्ने भनिएकोबारे टिप्पणी गर्दै उनले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने धारणा राखे ।

‘धर्म नागरिकहरुको आस्था र विश्वास हो । कसैले पनि आस्थामा जोर जुलुम गर्नुहुदैन । धर्म मानिसहरुको आस्था र विश्वास भएकाले आस्था र विश्वासलाई परिस्कृत गर्दै मान्दै लैजानुपर्ने हुन्छ । जोरजुलम गर्नुहुदैन । हामी कम्युष्टि पार्टीका मान्छेले धर्मलाई यसरी बुझ्छौं’ उनले भने ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले परापूर्व कालमा पनि देवताहरुले मिलेर श्रृष्टिको शासन चलाएको दृष्टान्त दिदै धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनितिक दलहरुलाई सुझाव दिए ।

उनले रामचरितमानस ग्रन्थ नेपालीमा अनुवाद हुनु नेपालीका लागि खुसीको कुरा भएको बताए । अनुवादक आचार्य तुलसीराम कँडेलले नेपाली भाषामा यसअघि पनि रामचरितमानस अनुवाद भए पनि शुद्ध, छन्दबद्ध र पद्यमा नभएकाले आफुले प्रयास गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment