Comments Add Comment

रामेछापमा फौजी किराको प्रकोप, किसानले मागे राहत

१८ कात्तिक, रामेछाप । छ महिना यतादेखि फैलिएको फौजी किराको प्रकोपले रामेछापका कृषकहरुको बालिनालीमा ठूलो क्षति पुगेको छ । किराले खेती नष्ट गरेपछि खाद्यान्न संकट पर्ने भन्दै किसानहरुले सरकारसँग राहत माग गरेका छन् ।

गत जेठदेखि फौजी किराको प्कोप देखिएको किसानहरुको भनाइ छ । सुरुमा खाँडादेवी गाउँपालिकाको मझुवा र भिरपानीमा देखिएको फौजी किरा अहिले जिल्लाका प्रायः सबै क्षेत्रमा फैलिएको छ ।

खाँडादेवीको राकाथुम, गागल, पिङ्खुरी, पकरबास लगायतका स्थानमा फौजी किराले किसानहरुको बालिमा ठूलो क्षति पुर्‍याएको छ ।

रामेछाप नगरपालिकाको रामपुर, ओख्रेनी, रामेछाप, हिमगङ्गा, देउराली, साँघुटार, मन्थली नगरपालिकाको भलुवाजोर, मन्थली, कठजोर, भटौली सुनारपानी, लिखु तामाकोसीको खिम्ती, तिल्पुङलगायतका क्षेत्रको बाली पनि फौजी किराले नष्ट बनाएको छ ।

सुरुमा वर्षे मकैमा देखिएको फौजी किरा अहिले धान, तरकारीलगायतका बालीमा समेत देखा परेको छ । फौजी किराले क्षति पुर्‍याएपछि भदौमा मकै बालीनै भित्र्याउन नपाएको खाँडादेवी गाउँपालिका-२ का वडाअध्यक्ष इन्द्रकुमार लामा बताउँछन् ।

खाँडादेवी गाउँपालिका-३ का वडाअध्यक्ष पुष्कर काकीले पनि फौजी किराको आक्रमणबाट मकै लगायतको वर्षे बाली पूर्णरूपमा क्षति भएको बताए ।

किराले मकैका बोट नष्ट गरेपछि कृषकहरूले मकै मासेर फेरि मकै लगाएको भए पनि पुनः किराको आक्रमणबाट नष्ट भएको उनको भनाइ छ । मुख्य बालीको रूपमा रहेको मकैमा क्षति पुग्दा यस वर्ष खाद्य सङ्कट पर्ने उनले बताए ।

किराले बाली नष्ट बनाएपछि खाद्यान्नको व्यवस्था गर कृषकहरूलाई राहात दिन वडानम्बर ३ का २५० भन्दा बढी कृषकले सामुहिकरूपमा गाउँपालिका कार्यालयमा गइ गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएको भए पनि कृषकहरूले हालसम्म राहात पाउन नसकेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ पनि फौजी किराको कारण यस वर्ष आˆनो गाउँपालिकाका कृषकहरूको अन्न बालीमा ठूलो क्षति भएको बताए ।

किराले बालीमा आक्रमण गर्ने बित्तिकै कृषि शाखा तथा कृषि ज्ञान केन्द्रमा त्यसको नियन्त्रणको लागि आग्रह गरिएको तर किरा नियन्त्रण गर्न हेलिकप्टबाट विषादी नछरी सम्भव नहुने भएकोले उक्त कार्य स्थानीय तहबाट सम्भव नभएको उनले बताए ।

रामेछाप नगरपालिकामा पनि किराले बालीमा ठूलो क्षति पुर्‍याएको छ । वर्षे मकैमा अलिअलि देखिएको किरा अहिले भने छपक्कै भएको रामेछाप नगरपालिका-८ का किसान दिनेशकुमार घिमिरेले बताए । ‘वर्षामा पानी नपरेर मकै त्यति फलेन । दुई हलको मेलोमा छरेको हिउँदे मकैको अहिले ठुटा मात्र बाँकी छ । सबै किराले खायो,’ उनले भने ।

पहिलो पटक अमेरिकामा देखिएको फौजी किरा गतसाल भारतामा देखा परेको थियो । यस वर्ष नेपालमा देखा परेको किराले देशभरिनै खेतीबालीमा क्षति पुर्‍याएको छ ।

फौजी किरा एक खालको पुतलीले पार्ने फुलबाट निस्कने लार्भा हो । जसले बिरुवाको कलिलो गुभा खाएर विरुव्ाा नष्ट गरिदिन्छ । यो फूल पार्ने पूतली एक रातमा एक सय किलो मिटरसम्म उड्ने कृषि वैज्ञानिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment