Comments Add Comment

नक्साबारे भारतीय सरकारसँग स्पष्टीकरण सोध्न साझा पार्टीको माग

२० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय कानुनविपरीत भारत सरकारले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेकाले स्पष्टीकरण सोध्न साझा पार्टीले सरकारसँग माग गरेको छ ।

भारतद्वारा जारी नयाँ नक्साले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेकाले भारतसँग स्पष्टीकरण माग्न साझाले विज्ञप्तिमार्फत माग गरेको हो ।

‘हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टीकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं,’ साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल–भारतबीचको सदियौं लामो सम्बन्ध नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकतामा यसले प्रहार गरेको भन्दै साझाले चिन्ता जनाएको छ ।

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा सीमामा पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण भइरहेका छन् । साझाले यस कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हालसम्मको कार्यप्रगतिबारे आमनागरिकलाई जानकारी गराउन पनि सरकारसमक्ष माग गरेकाे छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिन पनि उसले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment