Comments Add Comment

कांग्रेसका स्वास्थ्यकर्मीको अधिवेशन शुक्रबारदेखि

२१ कात्तिक, काठमाडौं । विवादका कारण अनिनिश्च रहेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (होपोन)को सातौं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ ।

संघको वर्तमान नेतृत्व भ्रष्टाचार र अनियमिततामा डुबेको भन्दै अध्यक्ष रामजी घिमिरेको नेतृत्वमा अधिवेशनमा भाग नलिने असन्तुष्ट पक्षको अडानका कारण अधिवेशन अनिश्चित बनेको थियो । तर, पार्टीको समय समन्वयमा अधिवेशन तय भएको हो ।

दोस्रो पटक अध्यक्ष भएका रामजी घिमिरेले संघमा दुवै कार्यकाल मनपरी गरेको र जथाभावी रुपमा सदस्य थप गरेको तथा सगठन झोलामा राखि तानाशाही बनेको भन्दै कार्य समिति सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।

भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका नेता गोविन्दराज जोशी निकट मानिने घिमिरेमाथिको अनियमितताको आरोप छानबिन गर्ने सहमतिपछि असन्तुष्ट पक्ष अधिवेशनमा भाग लिन सहमत भएको बताइएको छ ।

काठमाडौंमा वितरण गरिएको अनियमित सदस्यका विषयमा छानबिन गर्ने सहमति भएको छ । हुँदै नभएका स्वास्थ्य संस्थामा संगठन बनाइ १५० फर्जी प्रतिनिधि बनाएको आरोप अध्यक्ष घिमिरेमाथि छ ।

संघका दुवै पक्ष र ट्रेड युनियन कांग्रेसका महासचिवलगायतको पहलमा विवाद समाधान गरिएको हो । अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि काठमाडौंमा उपस्थित हुनेछन् ।

संघमा अहिले १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६५० प्रतिनिधि राजधानी आउने आयोजकले जनाएको छ ।

संघको अध्यक्षमा तेस्रो पटक रामजी घिमिरे पुनः प्रतिस्पर्धामा छन् भने उनलाई सहअध्यक्ष ओमप्रसाद उपाध्यायले चुनौती दिदैछन् । घिमिरेमाथिको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले उनले उम्मेदवारी नदिनु राम्रो हुने उपाध्यायको भनाइ छ ।

घिमिरेले संघमा रहँदा एक्लौटी ढंगले काम गरेका र पीएसआईको तालिम तथा नेतृत्व विकासका लागि आएको डेढ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनीमाथिको भ्रष्टाचार मुद्दा अदालतमा छ ।

घिमिरेले भने चुनावको बेला पार्टीभित्रको आन्तरिक विवादलाई अर्को पक्षले गलत ढंगले उठाएको प्रतिक्रिया दिएका छन् । उनले अनियमितता र भ्रष्टाचार भए अधिवेशनबाट प्रतिनिधिले आफूलाई दण्डित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment