+
+
Shares

जितको दाबी गर्ने धनराजले किन टिकट चाहिँदैन भने ?

'कुमार प्रवृत्तिको परें, अब मेरा नाममा थप छलफल नगर्नुस्'

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २० गते १८:११

२० कात्तिक, काठमाडौं । उपचुनावका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक दुई दिनदेखि बूढानीलकण्ठमा चलिरहेको थियो । तर, कास्की २ मा कसलाई टिकट दिने निर्णय हुन सकिरहेको थिएन ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन मध्यान्ह भइसक्दा पनि उम्मेदवारीको टुंगो नलागेपछि नेता धनराज गुरुङ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमै पुगे ।

आफ्नो कुरा राख्छु भन्दै बैठकस्थलमा पुगेका गुरुङले शीर्षनेताहरु सामू भने, ‘दुई दिनसम्म छलफल गर्दा पनि कुनै निर्णय भएन, अब मेरा नाममा थप छलफल नगर्नुस्, स्थानीय साथीहरुलाई नै टिकट दिँदा हुन्छ ।’

लगत्तै उनले त्यहीँबाट यो सन्देश पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई ट्वीट गर्न लगाए र देउवानिवासबाट हिँडे ।

यससँगै कास्की २ मा गुरुङकोे सम्भावना सकिएको मानिएको छ ।

कास्की २ मा उपचुनाव लड्ने तयारी गरिरहेका धनराज किन एकाएक यस्तो निर्णयमा पुगे त ? यो जान्नुअगाडि मंगलबार केन्द्रीय सदस्य गुरुङ र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको सम्वाद जान्न जरुरी छ ।

शेरबहादुर-धनराज सम्वाद

उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बस्नुअगाडि सभापति देउवाले धनराजलाई बोलाएर छलफल गरेका थिए ।

त्यसक्रममा देउवाले ‘तपाई पपुलर हुन्नुहुन्छ’ भन्दै कास्की २ मा टिकट दिने संकेत गरेका थिए ।

तर, शर्त राखे, उठेपछि हार्न पाइन्न नि ।’

धनराजले जवाफ फर्काए, कहाँ हारिन्छ दाइ !

कास्की २ मा आफ्नो पनि उम्मेदवार भएको, तर लोकपि्रय भएकाले जित्ने शर्तमा गुरुङलाई टिकट दिने देउवाले वचन दिए । ‘पदाधिकारी बैठकमा म तपाईलाई टिकट दिने प्रस्ताव राख्छु तर, हार्न पाइन्न नि’, छुटि्टने बेलामा पनि देउवाले गुरुङलाई भनेका थिए ।

जवाफमा धनराजले पार्टीले टिकट दिएमा चुनाव जितेर कांग्रेसको पक्षमा माहौल बनाएर देखाउने बताए । त्यसपछि पदाधिकारी बैठक सुरु हुनुअगाडि नै धनराज त्यहाँबाट निस्किए ।

गुरुङलाई आश थियो, कास्की २ मा आफूलाई टिकट दिने निर्णय सहजै हुनेछ ।

तर, किन टिकट चाहिन्न भने ?

मंगलबारको बैठकमा दिनभर छलफल भयो, नाम टुंगिएन । बुधबार पनि विहानबाटै छलफलमा जुटेका नेताहरुले आफ्नो नाममा सहमति गर्न नसकेपछि धनराज बैठकस्थलमा पुगे । र, आफूलाई नभई कास्कीका स्थानीय नेताहरुलाई टिकट दिन आग्रह गरे ।

कांग्रेस नेता गुरुङले अनलाइनखबरसँग भने, ‘यदि मेरो नाममा सर्वसम्मत निर्णय भएको भए म खुसीसाथ चुनाव लड्थेँ । मैले नेताहरुलाई भनेको पनि थिएँ, यो विशेष चुनाव हो । यदि पार्टीले जिम्मा दियो भने चुनाव जितेर देखाउँछु । र, पार्टीको पक्षमा वेभ ल्याउँछु ।’

‘तर दुई दिनसम्म छलफल गर्दा पनि निर्णय भएन । भोलि उम्मेदवारी दर्ता गर्नुपर्नेछ, आजसम्म निर्णय भएको छैन । अब पार्टीलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन भनेर म आफैंले अब मेरो नामको छलफल बन्द गर्नुस् भनेको हुँ’, उनले अघि भने ।

०७४ मा टिकट नपाउँदा पनि आफ्नो कद नघटेको र अब पनि नघट्ने उनले सुनाए । पार्टीमा गणेश र कुमार दुबै प्रवृत्ति रहेको भन्दै उनले भने, ‘म कुमार प्रवृत्तिको परेँ । आफूलाई लागेको कुरा बोल्छु । त्यसैले गाह्रो भयो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?