+
+
Shares

नयाँ प्रदेश प्रमुखप्रति प्रदेश २ सरकार सशंकित

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १४:४२

२१ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी संघीय सरकारमा पनि छ । तर प्रदेश प्रमुखहरु हटाउँदा न उसलाई सोधियो, न नयाँ नियुक्त गर्दा ठाउँ दिइयो ।

समाजवादी (तत्कालीन संघीय समाजवादी फोरम)को कोटामा प्रदेश २ को प्रदेश प्रमुख भएका रत्नेश्वरलाल कायस्थ पदमुक्त भए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वसभासद तिलक परियार नयाँ प्रदेश प्रमुख भए ।

संघीय सरकारको सिफारिसमा १८ कात्तिकमा नियुक्ति पाएका परियारले बुधबार जनकपुरधाम पुगेर पदभार पनि सम्हालेका छन् ।

सत्तारुढ नेकपाका नेता नै प्रदेश प्रमुख भएर आएपछि प्रदेश २ सरकार सशंकित भएको छ । परियासले प्रदेश सरकारभन्दा आफ्नो पार्टी (नेकपा) र संघीय सरकारको मातहतमा रहेर काम गर्न सक्ने प्रदेश सरकारको आशंका छ । यद्यपि पदभार ग्रहण गर्ने बेलामा प्रदेश प्रमुख परियारले अब आफू कुनै पार्टीको नभएको प्रतिक्रिया दिएका छन् ।

पहिलाको प्रदेश प्रमुखलाई बिना कारण हटाउनु र नयाँ प्रदेश प्रमुख ल्याउनुले शंका गर्नु पर्ने अवस्था आएको प्रदेश सरकारको प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव बताउँछन् ।

यद्यपि धेरै कुरा नयाँ प्रदेश प्रमुखका काम गर्ने तौरतरिका र शैलीमा भर पर्ने उनले बताए । भन्छन्, ‘प्रदेश प्रमुखको रुपमा निष्पक्ष तरिकाले काम गरे फरक पार्दैन । तर पार्टी र संघीय सरकारको मातहतमा रहेर काम गर्न थालेमा समस्या आउँछ ।’

प्रदेश सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) को नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल भने नयाँ प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार नै काम गर्ने आश व्यक्त गरे । ‘

‘मन्त्रिपरिषद्को निर्णय र सरकारको निर्णयलाई संविधानत प्रदेश प्रमुखले कार्यान्वयन गर्नुपर्छ । र, सल्लाह सुझाव दिने उहाँको कर्तव्य बन्छ’ राजपा संसदीय दलका नेतासमेत रहेका सोनलले भने, ‘त्यसमा कुनै फरक पर्छ जस्तो लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?