Comments Add Comment

पूर्वमन्त्रीको प्रश्न– कुन हैसियतले गोविन्दा विमानस्थलको अति विशिष्ट कक्षमा ?

२१ कात्तिक, काठमाडौं । बलिउड अभिनेता गोविन्दा आहुजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्न दिएकोप्रति एक पूर्वमन्त्रीले प्रश्न उठाएका छन् । भूतपूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले सामाजिक सञ्जालमा प्रश्न उठाएका हुन् ।

गत मंगलबार नेपाल आएका गोविन्दा र उनकी पत्नी सुनितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राखिएको थियो । यो कक्ष अहिलेसम्म कुनै पनि नेपाली कलाकारलाई भने प्रयोग गर्न दिइएको छैन ।

मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘हामीले नबुझेको कुराचाहिँ कुन हैसियतले बलिउड अभिनेता गोविन्दा अहुजाले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष उपयोग गर्न पाए ? जवाफ पाइएला कि ? भारतमा हाम्रा कलाकारले त्यो सुविधा पाउँछन् ?’

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्न पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ । यो वर्गीकरणमा कलाकारहरूलाई समावेश गरिएको छैन । तर, भारतबाट चर्चित कलाकारहरू आउँदा विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्ने गरेका छन् ।

यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीलाई प्रश्न गर्दा गोविन्दा आएको आफूलाई जानकारी नभएको बताए । उनका अनुसार, विदेशी पाहुना आउँदा यदि परराष्ट्रले पत्र लेख्यो भने उनीहरूलाई अति विशिष्ट कक्ष प्रयोग गर्न दिइन्छ ।

‘परराष्ट्रले पत्र लेखेको अवस्थामा बाहेक जोकोही विदेशीलाई यो कक्ष प्रयोग गर्न दिइँदैन । गोविन्दा आएको विषयमा चाहिँ मलाई जानकारी नै भएन,’ उनले भने ।

गोविन्दा नेपाल चलचित्र निर्माता संघको निमन्त्रणामा नेपाल आएका हुन् । संघले उद्योग वाणिज्य महासंघमार्फत परराष्ट्रमा पत्र लेखेर अति विशिष्ट कक्ष प्रयोग गर्न अनुमति मागेको संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

‘विदेशी पाहुनालाई सम्मान गर्ने हिसाबले हामीले परराष्ट्रबाट पत्र लगेका हौं, त्यही पत्रका आधारमा अति विशिष्ट कक्ष प्रयोग गर्न दिइएको हो,’ अधिकारीले भने ।

संघले वीरगञ्जमा आयोजना गर्ने ‘स्वर्णिम चलचित्र महोत्सव’मा गोविन्दा सहभागी हुने कार्यक्रम छ । अधिकारीका अनुसार, गोविन्दा दम्पत्तिको आतेजाते र होटलमा बस्ने खर्च संघले व्यहोरेको छ । तर, अतिरिक्त पारिश्रमिक दिइएको छैन ।

‘हामीले उहाँलाई कार्यक्रममा एउटा प्रस्तुति दिन पनि अनुरोध गरेका छौं, हेरौं के गर्नुहुन्छ,’ अधिकारीले भने ।

गोविन्दा भारतका पूर्व सांसद् पनि हुन् । उनकी पत्नी सुनिता नेपाली आमाकी छोरी हुन् । उनका बाबु भने पञ्जाबी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment