Comments Add Comment

७५ वर्षमा टिकट पाएका देउवाका साथी भन्छन् : लालकिल्ला तोड्छु

खेमराजको उम्मेदवारीसँगै कास्की–२ को चुनाव अझ रोचक

२० पोखरा, कात्तिक । नारायण सिंह काण्ड नेपाली इतिहासमा चर्चित छ । २०२४ सालमा नाचघरमा नाटक प्रदर्शन भइरहेका बेला डीआइजी नारायण सिंहले छात्राहरुमाथि अभद्र व्यवहार गरेको विरोधमा विद्यार्थीहरुले आन्दोलन चर्काए । आन्दोलन चर्काउने विद्यार्थीमध्ये एक थिए, खेमराज पौडेल ।

कास्की पुम्दीभुम्दीबाट बुथ कमिटी सदस्य बनेर पौडेलले नेपाली कांग्रेसको राजनीति थालेको अर्को वर्षमा देशमा पञ्चायत सुरु भयो । पञ्चायत सुरु भएपछि संस्कृत साहित्य पढ्नका लागि बनारस पुगे । यता नेपालमा सुवर्णशमशेरको नेतृत्वको पञ्चायतविरुद्ध भण्डाफोर सुरु भयो । वनारस पढ्न पुगेका पौडेल २०१८ सालमा प्रजातान्त्रिक विद्यार्थी समितिको संस्थापक बने ।

वनारसबाटै पञ्चायतविरोधी आन्दोलनमा सहभागी बने । डीआइजी नारायण सिंहविरुद्ध आन्दोलन गर्न पौडेल नेपाल आए । बुटवलदेखि गोरखासम्म आन्दोलनकै मोर्चा लिएर पौडेल हिँडे । त्यसयता कांग्रेसमा निरन्तर सक्रिय पौडेल ‘अभागी नेता’ मानिन्छन् । किनकि उनले जीवनको ६० वर्ष कांग्रेस राजनीतिमा लगाए, तर न कुनै ठूलो पद पाए न सांसदका लागि हुने चुनावको टिकट  ।

तर प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना पुराना राजनीतिक सहयात्री समेत रहेका पौडेललाई नै टिकट थमाएका छन् । धनराज गुरुङ, देवराज चालिसेलाई पछार्दै टिकट पाएपछि उनी भन्छन्, ‘पार्टीले ढिलै भए पनि मूल्यांकन गर्‍यो ।’

शेरबहादुरसँग विद्यार्थी आन्दोलनमा लागेका पौडेलले कठिन अवस्थामा पनि उनलाई साथ दिए । शेरबहादुरले कांग्रेस फुटाएर प्राजातान्त्रिक कांग्रेस बनाउँदा पौडेलले नै कास्कीको नेतृत्व गरेका थिए । कांग्रेस कास्कीमा उनी अधिकांश नेताका ‘खेमराज दाइ’ हुन् भने पछिल्लो पुस्ताका नेताका ‘खेम बा’ ।

निरन्तर राजनीतिमा लागेका उनी कांग्रेस केन्द्रीय कमिटीको आमन्त्रित सदस्यभन्दा माथि पुगेनन् । कास्की कांग्रेसको राजनीतिमा भने सधैं केन्द्रमै रहे । वनारसबाट संस्कृत र साहित्यमा डिग्री गरेर फर्किएका पौडेलले शिक्षणसँगै राजनीति गरेका उनी कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा सहभागी बनेका थिए।

लालकिल्ला तोड्छु : पौडेल

खेमराजले कांग्रेसबाट टिकट त पाए, तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लाल किल्ला भन्ने गरिएको ठाउँमा । यो क्षेत्रबाट रवीन्द्र अधिकारीले ह्याट्रिक मारे । पर्यटन मन्त्री हुँदा दुर्घटनामा उनको मृत्यु भएपछि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । र, नेकपाले उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

एक त विद्या अहिलेको बलियो पार्टीकी उम्मेदवार मात्र होइन, राजनीतिक लिगेसी र उनीप्रति सहनुभूति पनि छ । त्यसैले उमेर ७५ टेकेपछि मात्र पार्टीबाट पत्याइएका पौडेललाई चुनाव जितेर इतिहार रच्ने अवसर त छ तर सजिलो छैन ।

तर मनोनयन दर्ताको अघिल्लो दिनमात्र टिकट पाएका पौडेल भने नेकपाले भन्ने गरेको ‘लाल किल्ला’ तोड्न चाहन्छन् । खेमराज भन्छन्, ‘पार्टीले मूल्यांकन गरेर टिकट दिएको छ । म जितेर देखाइदिन्छु । म नेकपाको लाल किल्ला तोड्छु ।’

खेमराजप्रति कांग्रेसभित्र सबैको सहानुभूति

नेपाली कांग्रेसभित्र हरेक चुनावमा यस्तो अन्तरविरोध भइदिन्छ, जसका कारण जीत अर्काकै भइदिन्छ । धेरै जनाको आकांक्षा र उम्मेदवारी हने अनि एउटाले टिकट पाएपछि गुटअनुसार घात प्रतिघात हुने कांग्रेसको पुरानै रोग हो ।

तर, यसपटक भने खेमराजले टिकट पाएसँगै कांग्रेसभित्र अन्तरघातमा ब्रेक लाग्ने नेताहरुको विश्वास छ । किनकि लामो समय पार्टीलाई योगदान गरेका, कुनै पनि लाभ नलिएका र निष्ठावानको छवि बनाएका पाका नेता खेमराजप्रति पार्टीभित्र सबैको सहानुभूती छ । पूर्व सांसद तथा कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा भन्छन्, ‘खेमराज दाइले पहिले नै टिकट पाउनु पर्ने हो । उहाँजस्तो निष्ठावान मान्छे कमै छन् । तर पार्टीले ढिलै भए पनि टिकट दियो ।’

कास्की कांग्रेस सभापति कृष्ण केसीले खेमराजको उम्मेदवारीसँगै खटपट अन्त्य भएको बताए । उनले अघि भने, भने, ‘कांग्रेसकोमात्रै होइन, उहाँप्रति अन्य पार्टीमा आवद्ध र कुनै पनि पार्टीमा नलाएका व्यक्तिको पनि सहानुभूति रहन्छ ।’

रोचक भीडन्त

कास्की २ यस्तो क्षेत्र हो, जहाँ प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुने एउटा मात्र क्षेत्र हो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ह्याट्रिक मारेको क्षेत्रमात्रै नभएर रवीन्द्रकै पत्नी चुनावी मैदानमा भएकाले पनि यो क्षेत्रले देशकै ध्यान खिचिरहेको छ । यो क्षेत्रमा १३ हजार ५ सय ४२ मतान्तरले सजिलो गरी जित्ने नेकपाले घोषणा गरेको छ ।

नेकपाको लाल किल्ला, विद्यार्थी आन्दोलन र प्राज्ञिक क्षेत्रको अनुभव पनि भएको र विद्याप्रति सहानुभूति मत पनि मिल्ने भएकाले नेकपाले जित्ने विश्वास गरेको छ । जीत कसको हुन्छ, त्यो त निर्वाचन परिणामले नै देखाउँला ।

तर चुनाव भने रोचन हुने भएको छ । खेमराज पौडेललाई कांग्रेसले टिकट दिएसँगै अझ रोचक भीडन्त हुने भएको हो । विद्याप्रतिजस्तो सहानुभूति नभएपनि राजनीतिमा लामो समय खर्चिएका खेमराजप्रति छुट्टै सहानुभूति देखिन्छ ।

सरकार सञ्चालन गरिरहेको पार्टी र कमजोर प्रतिपक्षको भूमिका रहेको भनिएको कांग्रेस दुबैप्रति जनतामा निराशा छ र साझा पार्टी, विवेकशील नेपाली दल लगायतले यसलाई नै क्यास गर्न खोजेको छन् । कांग्रेसबाट हालै साझा भित्रिएकी रजनी केसीलाई उम्मेदवार बनाएर साझाले घरदैलो थालिसकेको थियो । समाजवादी पार्टीले धर्मराज गुरुङ, विवेकशील नेपाली दलले जमुना पौडेल, राप्रपाबाट रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

कास्की २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा छन् । यसअघिको निर्वाचनमा ७० हजार ६ सय ५१  मतदाता थिए । जसमध्ये जम्मा ४९ हजार ९ सय १३ मत खसेको थियो । अहिले मतदाताको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

गएको निर्वाचनमा कांग्रेसका उम्मेदावार देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतान्तरले रवीन्द्रले जितेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment