Comments Add Comment

‘सेफ्टी अडिट’ को बहानामा नेपाल एयरलाइन्सलाई चीनको अर्घेल्याईं

२१ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले चीनमा गन्तब्य बिस्तारको पहल थालेको दुई वर्ष पुग्न लाग्यो । वाइडबडी जहाज ए ३३० जहाज काठमाडौं ओर्लिएको समयदेखी नै निगम चीन उड्न खोजिरहे पनि सकेको छैन ।

नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान अनुमति मागेको थियो । यसबीचमा चीनले नेपाल एयरलाइन्सलाई सैद्धान्तिक अनुमति दियो, तर शर्तसहित । उसको शर्त थियो, नेपाल एयरलाइन्सको सेफ्टी अडिट गर्ने । नेपाल यूरोपेली यूनियनको ‘सेफ्टी लिस्ट’ मा रहेकाले अडिट आवश्यक रहेको चिनीयाँ तर्क छ ।

चीनको यो ‘अर्घेल्याईं’ केवल नेपाल एयरलाइन्सको हकमा मात्र देखिएको छ । किनकी चीनले आफ्नो बहुमत लगानी रहेको हिमालय एयरलाइन्सलाई भने राजधानी बेइजिङमै उडान अनुमति दिएर उडान थालिसकेको छ ।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले नेपाललाई एयरलाइन्सलाई उडान अनुमति दिनु अगाडि गर्ने भनेको सेफ्टी अडिटका लागि सेप्टेम्बरमै चिनियाँ टोली नेपाल आउने जानकारी गराएको थियो । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार कम्पनी आफ्नो रिपोर्टहरु अडिट गराउन तयारी अवस्थामा बसेको छ । उनीहरुलाई रेस्पोन्स गर्ने टीम पनि नेपाल एयरलाइन्समा तयारी अवस्थामा छ । तर, उनीहरुले समय सारेको सार्‍यै छन् ।

पछिल्लोपटक आगामी डिसेम्बरसम्ममा अडिटका लागि आउने आश्वासन प्राप्त भएको खरेलले बताए । सेप्टेम्बरमा नेपाल एयरलाइन्ससँग चीनले ४९ पानाको चेकलिस्ट नै पठाएको थियो ।

नेपाल सन् २०१३ यता यूरोपेली यूनियनको कालो सूचिमा छ । यूनियनले विविध मापदण्ड पूरा नगरेको भन्दै नेपालको नागरिक उड्डयन र समग्र कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । यसको मार नेपाल एयरलाइन्सले भोगीरहेको छ ।

सेफ्टी लिस्टबाट नेपाललाई निकाल्ने जिम्मेवारी नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । पछिल्लो समय कानूनी परिवर्तनका धेरै प्रयास अगाडि बढेका बताइए पनि इयू सन्तुष्ट देखिदैन ।

कमजोरी सरकारको कि एयरलाइन्सको ?

नेपाल एयरलाइन्सले ठूलो क्षमताको जहाज किनिसकेपछि व्यापार विस्तारका क्रममा तत्काल तीन गन्तब्यमा जान चाहेको छ । त्यसमध्ये जापानको नारिता पहिलो प्राथमिकतामा छ । जापानको ओशाकामा पाएको उडान अनुमतिले त्यहाँ उसलाई सजिलो छ ।

ग्राउण्ड ह्याण्डिलिङ गर्ने एजेन्सीको टुंगो लाग्नासाथ जापानको नारितामा निगमको जहाज उड्नेछ । साउदी अरेविया र चीनले भने सेफ्टी अडिट खोजिरहेका छन् । त्यसका लागि निगम नेतृत्व जति जिम्मेवार छ, त्यति नै जिम्मेवारी परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र सम्बन्धित मुलुकस्थित राजदूतको पनि हुन्छ ।

‘कतिपय विषय हाम्रो अधिनमा हुँदैन,’ खरेल भन्छन्, ‘सम्बन्धित मुलुकले वास्ता नगरेपछि हाम्रो मात्र प्रयासले केही गर्न सकिंदैन ।’

खरेलले नेपाल एयरलाइन्स सम्हालेको १३ महिना पुगेको छ । यस विषयमा आफ्नो सम्पूर्ण ध्यान गन्तब्य बिस्तार र खर्च कटौतीमा भए पनि एकल प्रयासले सफल हुन नसकेको उनले बताए ।

चीनको एकछत्र

नेपाल र चीन जोड्ने हवाई रुटमा अहिले चीनको एकछत्र राज छ । यसै महिनाबाट हिमालय एयरलाइन्सले बेइजिङमा उडान थाल्नुबाहेक नेपाली आकासमा चिनियाँ कम्पनीको एकल वर्चश्व रहेको छ ।

अहिले चीनबाट विभिन्न ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् । उनीहरुले अहिले वार्षिक करीव डेढ लाख चिनियाँ पर्यटक र उत्तिनै संख्यामा नेपाली यात्रु बोकिरहेका छन् । तर, नेपाली कम्पनीलाई भने चीनले उडान अनुमति दिन आनाकानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment