Comments Add Comment

भारतले रोक लगाए पनि रोकिएन नेपालमा प्याज आयात

२१ कात्तिक, काठमाडौं । भारतले आफ्नो मुलुकबाट प्याज निर्यात गर्न लगाएको प्रतिवन्धले नेपाललाई नछोएको पायएको छ । प्रतिवन्धका बाबजुद भातरबाट नेपालमा पर्याप्त मात्रामा प्याज आयात भइरहेको तथ्यांकले देखाएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक लाख ५९ हजार १३१ किलो सुकेको प्याज भारतबाट नेपाल भित्रिएको थियो । यस्तै भदौको मसान्तसम्म यो परिमाण ७ लाख २२ हजार २३३ किलो पुगेको थियो ।

भारतको केन्द्र सरकारले असोज १२ गते प्याज निर्यातमा रोक लगाउने निर्णय गर्‍यो । त्यसयता पनि नेपालमा भारतबाट १७ हजार किलोभन्दा धेरै प्याज भित्रिएको भन्सार विभागले जनाएको छ । विभागको असोज मसान्तसम्मको विवरण अनुसार नेपालमा भारतबाट ७ लाख ३९ हजार २५३ किलो सुकेको प्याज भित्रिएको छ ।

भारतको प्रतिबन्ध घोषणालगत्तै ४१ हजार किलो प्याज चीनबाट आयात भएको थियो । तर अहिले भारतबाट ल्याउन खुकुलो भएपछि चिनियाँ प्याज ल्याउन छोडिएको एक व्यवसायीले बताए । प्रतिबन्ध घोषणाअघि जस्तो ठूलो परिमाणमा आयात नभए पनि सबै प्रकारको प्याज निरन्तर आइरहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

‘प्याज कानुनी ढंगबाट भित्रिरहेको र यसको जाँच पास भइरहेको छ,’ भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले भने । भैरहवा, रानी र मेची भन्सारबाट पनि प्याज आयात भइरहेको त्यहाँका भन्सार कार्यालयहरुले जनाएका छन् । भारतले औपचारिक रुपमा प्याजको निर्यात खुलाएको भने छैन ।

देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध घोषणासँगै उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको थियो । नेपालमा खपत हुने प्याजको ९८ प्रतिशत हिस्सा भारतबाट आयात हुने गरेको भन्सार विभागको विवरणले देखाउँछ ।

भारतले प्रतिबन्ध घोषणा गरेलगत्तै नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुगेको थियो । नेपालमा व्यवसायीहरुले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमला लगायतबाट प्याज आयात गर्छन् ।

आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार सुकेको प्याजको मूल्य अहिले थोक प्रतिकिलो १२० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment