Comments Add Comment

कुवेतविरुद्ध हुने खेलमा नेपालले गुमायो ‘१२ औं खेलाडी’

दोष क–कसको ?

२१ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपालले १९ भदौमा घरेलु मैदानमा कुवेतसँग विश्वकप छनोट खेल्नुपर्ने थियो । त्यसपछि चाइनिज ताइपेई र जोर्डनसँग पनि खेल्ने सेड्यूल थियो ।

तर दशरथ रंगशाला निर्माणको क्रममा रहेको भन्दै नेपालले होमलाई अवे बनाइदिन फिफालाई आग्रह गर्‍यो । फिफाले पनि त्यसलाई स्वीकार गरेपछि नेपालले लगातार चारवटै खेल अवे खेल्यो ।

अब होम गेमको पालो आयो । पहिलो खेल ३ मंसिरमा कुवेतसँग खेल्ने तय छ । टिकट बुकिङ खुला गर्ने तयारी भइरहँदा घटनाक्रम यति छिटो विकसित भयो कि कुवेत नेपाल नआउने भयो । दशरथ रंगशाला पूर्ण रुपमा तयार नभएको भन्दै कुवेतले नेपालमा जान आनाकानी गर्‍यो। एसियाली फुटबल महासंघ (एएफसी) ले अनुगमन टोली पठायो ।

र, अनुगमन रिपोर्टका आधारमा एएफसीले भन्यो, नेपाल र कुवेतको खेल दशरथ रंगशालामा हुन सक्दैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार भुटानको चाङ्लीमिथाङ रंगशालामा खेल खेलाउने प्रस्ताव राखेको छ ।

दशरथ रंगशालामा किन हुन सकेन त ?

‘अन्तर्राष्ट्रिय मापदन्ड अनुसार रंगशाला तयार हुन नसकेकाले एएफसीको निर्देशन अनुसार उक्त खेल नेपालमा सञ्चालन हुन नसक्ने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराउँछौं,’ एन्फाको विज्ञप्तिमा भनिएको छ ।

नेपालको असक्षमताको लाभ कुवेतलाई

६ वर्षपछि दशरथ रंगशालामा फुटबल फर्किने कुराले नेपालका समर्थक उत्साहित थिए । तर, उनीहरुले अब कुवेत विरुद्धको म्याच प्रत्यक्ष हेर्न नपाउने भएका छन् ।

फुटबलमा घरेलु दर्शकहरुलाई १२ औं खेलाडीका रुपमा लिइन्छ । त्यसैले दशरथ रंगशालामा खेल हुनु फुटबल फ्यानहरुका लागि मात्र होइन, मैदानमा उत्रने खेलाडीहरुका लागि पनि महत्वपूर्ण थियो ।

तर नेपालकै असक्षमताका कारण त्यो अवसर गुमेको छ । रंगशाला समयमै निर्माण गर्न नसक्दा कुवेतले प्रश्न उठाउने मौका पायो । एन्फाका प्रवक्ता किरण राई भन्छन्, ‘पूरै रंगशाला निर्माण सम्पन्न नभएसम्म एएफसीले खेलाउन असहमति जनाएपछि दशरथ रंगशालामा खेल नहुने भएको हो ।’

रंगशालामा अहिले स्कोर बोर्ड, फ्रन्ट लाइट र मैदान तयार भएको छ । अहिले प्याराफिटमा कुर्सी हाल्ने काम चलिरहेको छ । तर भीआईपी प्याराफिटको छाना, चेन्जिङ रुम लगायतका अन्य संरचना बनेका छैनन् ।

कुवेत पनि अनिच्छुक

नेपालकै प्रस्तावमा कुवेतले १९ भदौमा आफ्नै घरेलु मैदानमा खेल्यो र ७–० गोलको फराकिलो जित निकाल्यो । होम एण्ड अवेको आधारमा हुने प्रतियोगिता भएकाले कुवेतले अब नेपाल आउनुपर्ने थियो । तर काठमाडौंमा फ्लोर लाइटमा हुने खेलका लागि कुवेत इच्छुक देखिएन ।

लामो यात्रा र काठमाडौंको चिसो पनि उसका लागि टाउको दुःखाई बन्यो । त्यसैले उसले रंगशालाको विषय उठायो । स्रोतको दाबी छ, ‘एएफसीले पनि उनीहरुको पक्षमा निर्णय गरेको हो ।’

अब नेपालले तटस्थ भुमीमा खेल्नु पर्नेछ । त्यसको लागि एन्फाले भुटानको चाङ्लीमिथाङ रंगशालामा खेल खेलाउने प्रस्ताव राखेको छ । प्रवक्ता राई भन्छन्, ‘हामीले भुटानको रंगशालामा खेल खेलाउने प्रस्ताव राखेका छौं । यो मैदानमा खेल्यौं भने हामीलाई फाइदा हुनेछ ।’

विश्वकप छनोटको दोस्रो चरणको समूह ‘बी’ मा रहेको नेपालले चार खेलमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ ।

तीन अंक बनाएको नेपालले कुुवेतपछि चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग होम खेल खेल्नेछ ।

दोषी को–को ?

७२ सालको भुकम्पले नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाका रुपमा रहेको दशरथ रंगशाला क्षतिग्रस्त भएको थियो ।

साढे चार वर्ष बित्दा पनि यसको पुनर्निर्माण नसकिएर महत्वपूर्ण खेल आयोजना गर्न नसकिर्ने दुर्भाग्य सिर्जना भएको छ । रंगशालाको पुननिर्माण समयमा नहुनुको सिधा अपजस नेपाली खेलकुदको सबैभन्दा जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषदलाई दिन सकिन्छ । उसले दुई वर्षसम्म त रंगशाला पुनर्निमाण सुरु गर्नै सकेन । सुरु गरेपछि पनि तदारुकतापूर्वक काम हुन सकेन ।

साथै नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा पनि पानीमाथि ओभानो बन्न सक्दैन । नेपालको महत्वपूर्ण म्याचलाई लक्ष्यित गर्दै रंगशाला समयमा तयार गर्न उसले राखेपलाई घच्घच्याउन सकेन । अहिले भुटानको मैदान नेपाललाई अनुकुल हुने भन्दै एन्फा रमाइरहेको छ ।

रंगशाला पुनर्निर्माणमा थप ढिलाई भयो भने आगामी १३ औं साग पनि प्रभावित हुन सक्ने चिन्ता खेलप्रेमीहरुमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment