Comments Add Comment
टी-१० लिग :

‘जीवनमा एउटा कुरा छोड्दा अर्को पाएजस्तो भयो’

'टी-१० लिगमा छनोट हुनुको औचित्य सावित गर्नेछु'

२१ कात्तिक, काठमाडौं । बुधबार दिउँसो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुग्दा नेपालको राष्ट्रिय टिम र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच तीनदिवसीय म्याच जारी थियो । नेपालका पूर्व कप्तान पारस खड्का भने मैदानबाहिरै बसेर खेल नियालिरहेका थिए ।

मेरिलेबोनविरुद्ध तीन दिवसीय म्याच खेल्ने टोलीमा पारस छैनन् । हालै मात्र राष्ट्रिय टिमको कप्तानी त्याग्दा उनले केही समय रेस्ट लिने बताएका थिए । यद्यपि, उनले धेरै दिन आराम पाउने छैनन् ।

एमसीसी टुर सकिएलगतै पारस दुबई टी-१० लिग खेल्न जाने छन्, जसलाई उनको फ्रेन्चाइज लिग करियरको सुरुवात समेत मानिएको छ । त्यसमा आफूले राम्रो प्रदर्शन गर्न सके अरु लिगहरुमा पनि ढोका खुल्ने उनको आशा छ । अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अरु लिगका लागि ड्राफ्टमा नाम पठाएको खुलाए ।

प्रस्तुत छ, पारससँग गरिएको कुराकानीको सम्पादित अंशः

आफूले एक दशकसम्म कप्तानी गरेको टिम मैदानमा भिडिरहेको छ, तपाईं दर्शकका रुपमा खेल हेरिरहनु भएको छ । दर्शक भएर नेपालको खेल हेर्दा कस्तो महसुस हुँदोरहेछ ?

मैले कप्तानबाट राजीनामा दिएपछि भनेको थिएँ कि अन्तर्राष्ट्रिय क्रिकेटबाट केही समयका लागि ब्रेक लिन चाहन्छु । त्यही भएर अहिले खेलिरहेको छैन । तर क्रिकेटको वास्तविक रोमाञ्च फिल्डभित्र नै हुन्छ । मलाई लाग्दैन बाहिर बस्दा त्यति आनन्द आउँछ ।

जुनसुकै क्रिकेटरसँग कुरा गर्नुस्, बाहिर यो गर्दा ठीक, त्यो गर्दा ठीक भन्ने हुन्छ । मैदानभित्र गइसकेपछि अर्कै हुन्छ । त्यसैले म पनि सबै खेलेको आनन्द लिइरहेको छु । धेरै वर्षपछि थ्री-डे क्रिकेट भइरहेको छ । एमसीसी टुरमा आएको छ । यो आफैंमा राम्रो संकेत हो हाम्रो क्रिकेटका लागि । मैले चाहेको पनि यही हो, चाहे म मैदानभित्र हुँ वा बाहिर ।

तर तपाईंले कप्तान पद छाडेपछि नेपालले पहिलोपटक खेलिरहँदा फिल्डमा तपाईंको आवश्यकता बढी थियो होला । किन खेल्नु भएन ?

मैले म्यानेजमेन्टसँग कुरा गरेर नै टी-२० र थ्री-डेबाट आफ्नो नाम फिर्ता लिएको थिएँ । ५० ओभरमा छानिएँ भने खेल्छु भन्ने थियो, तर दुर्भाग्यबस स्वास्थ्यले साथ दिएन । र, खेल्न पाइनँ ।

एमसीसीको टिमसँग खेल्न नपाउँदा खिन्न भयो ?

क्रिकेट सानैदेखि मन पराएको खेल । मैले सबथोक क्रिकेटको माध्यमबाटै पाएको छु । त्यसैले यसलाई मिसभन्दा पनि क्रिकेटको अर्को चरणका रुपमा लिएको छु । क्रिकेट टीभीमा हेरिन्छ, अहिले ग्राउण्डमा आएर हेरिरहेको छु, भोलि गएर खेलिन्छ । त्यसैले यो खेल निकै ठूलो र सुन्दर छ, यो कसैका लागि रोकिने छैन । व्यक्ति आउने-जाने भइरहन्छ । तर हामी यो खेललाई माया गर्छौं र त्यसैले हरेक परिस्थितिमा आनन्द लिन सक्नुपर्छ ।

यो टुर लगत्तै तपाईं दुबई जाँदै हुनुहुन्छ, टी-१० लिगका लागि । कप्तानी त्यागेलगत्तै टी-१० लिगमा छनोट हुनु संयोग मात्रै हो ?

अँ, निकै अनौठो ! (हाँस्दै) कप्तानी छाडेँ । त्यसको चार-पाँच दिनमै अफर आयो । एउटा सन्देश आयो कि टी-१० खेल्न इच्छुक हुनुहुन्छ भने हाम्रो टिममा तपाईंलाई अनुबन्ध गर्छौं । सुरुमा म अन्यौलमा थिएँ । परिवार, प्रशिक्षक र आफ्नो साथीभाइसँग सल्लाह गरेँ । उहाँहरुले राम्रो अवसर हो, तिमी जानुपर्छ भन्नुभयो ।

मैले त पूर्णरुपमा नै ब्रेक लिन्छु भन्ने सोचेको थिएँ । तर कोचसँग कुरा गरेपछि प्रष्टता पनि आयो र परिवारसँग सल्लाह गरेर जाने निर्णय गरेँ । जीवनमा एउटा कुरा छोड्दा अर्को पाएको जस्तो भयो, तर यो संयोग मात्र हो ।

छनोट मात्र भएर भएन, यदि मैले खेल्ने मौका पाएँ भने आफूलाई प्रमाणित पनि गर्नुछ । किनकी मैले प्रतिनिधित्व गर्ने भनेको नेपाली क्रिकेट नै हो । यदि एउटा खेलाडीले राम्रो गर्‍यो भने अरु खेलाडीहरुलाई पनि ढोका खुल्नेछ । आशावादी छु कि म आफ्नो छनोटको औचित्यसिद्ध गर्न सक्छु ।

व्यक्तिगत रुपमा चाहिँ तपाईंका लागि टी-१० लिगले कति अर्थ राख्छ ?

मेरालागि पनि यो नयाँ कुरा हो । किनकी हरेक खेलाडीको चाहना हो, फ्रेन्चाइज लिगहरु खेल्ने । धेरै लिगहरु पनि भइरहेका छन्, तर धेरै खेलाडी भएकाले छनोट हुन सजिलो छैन । मैले पनि एउटा अवसर पाएको छु । उहाँहरुले केही सोचका साथ छान्नु भएको होला । र, आशा गरौं कि अघि भनेको जस्तै मैले आफ्नो छनोटको औचित्यसिद्ध गर्न सक्छु ।

मेरोलागि सबैभन्दा आनन्ददायी क्षण भनेकै बलले ब्याटको विचमा लाग्दा आउने आवाज हो तर कप्तान छोड्दा केही राहत भने भएको छ

सबैभन्दा महत्वपूर्ण कुरा के भने तपाईं क्रिकेट खेल्दै हुनुहुन्छ भने सबै आजको भोलि परिवर्तन हुन सम्भव छैन । लिग भएकाले जिउज्यान दिएर खेल्नुपर्छ भन्ने पनि होइन । जसरी क्रिकेट खेल्दै आएको छु, त्यसैगरी खेल्ने हो । मैदानमा प्रवेश गरेपछि आफ्नो शतप्रतिशत दिने हो ।

अवसरका रुपमा यो राम्रो हो । तर म विश्वास गर्छु कि अरु क्रिकेटरहरु पनि यस्तो अवसरका लागि योग्य छन् । नेपाली क्रिकेटरमा क्षमताको कमी छैन । आश गरौं आगामी दिनमा अरुका लागि पनि अवसर आउनेछ ।

टी-१० लिगलाई तपाईंको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग यात्राको सुरुवात मान्न सकिन्छ ?

पहिलोपटक हो भनेपछि सुरुवात नै भन्नुपर्ला ।

भन्नाले, नेपालमा धेरै फलो गरिने आईपीएल, बिग ब्यास लिग, क्यारेबियन लिगहरु छन् । यो टी-१० लिगले तपाईंलाई त्यसतर्फ डोहोर्‍याउला ?

यो मेरो प्रदर्शनमा भर पर्छ । फ्यान तथा दर्शकहरुको माया, शुभेक्षा रहनु स्वाभाविक हो । मलाई लाग्छ, नेपाल क्रिकेटको सबैभन्दा बलियो पक्ष नै फ्यानहरु हुन् । जहिले पनि माया गर्नुहुन्छ । व्यक्तिगत रुपमा पनि धेरै सन्देशहरु पाएको छु । उहाँहरुको ममाथि विश्वास छ र मलाई पनि विश्वास छ कि म त्यसलाई सही सावित गर्न सक्छु ।

तर मुख्य कुरा प्रदर्शन नै हो । तपाईंले एउटा अवसर पाएको हो कि १० वटा । यदि आफ्नो क्षमतालाई विश्व क्रिकेटको मञ्चमा देखाउन सक्नुभयो भने यसले अवसर सृजना गर्छ । मेरालागि पनि, अरुका लागि पनि ।

कतिपयले कप्तान रहिरहँदा यस्ता फ्रेन्चाइज लिगहरु तपाईंको प्राथमिकतामा नपरेका हुन् कि पनि भन्छन् नि ?

मलाई लाग्छ, आईपीएल खेल्ने भनेको हरेक खेलाडीको सपना नै हो । तर कप्तान हुँदा र नहुँदा धेरै फरक पर्छ जस्तो लाग्दैन ।

केचाहिँ हो भने कप्तान हुँदा धेरै कुरा सोच्नुपर्ने हुन्थ्यो । मैले सकेसम्म आफ्नो तर्फबाट राम्रो गर्न प्रयास पनि गरेँ । कति निर्णय सही भए होलान्, कति गलत भए होलान् ।

अहिलेचाहिँ आनन्द के छ भने आफ्नो क्रिकेटमा मात्र ध्यान दिए पुग्छ । र, म आफ्नो क्रिकेटमा रमाउन चाहन्छु । चाहे त्यो देशका लागि होस् कि बाहिरको फ्रेन्चाइज लिग होस् ।

घरेलु क्रिकेट त म जहिलेसम्म सक्छु, खेल्न चाहन्छु । यो खेल नै यस्तो हो कि यसबाट टाढा जान सकिन्न । मेरोलागि सबैभन्दा आनन्ददायी क्षण भनेकै बलले ब्याटको विचमा लाग्दा आउने आवाज हो । त्यसैले अब फ्रेन्चाइज लिग मात्र खेल्नेछु, वा यसो मात्र गर्छु भन्ने कुनै एजेण्डा छैन । तर कप्तान छोड्दा केही राहत भने भएको छ ।

यति लामो क्रिकेट करिअरमा आईपीएल वा कुनै लिगचाहिँ खेल्न पाए …भने जस्तो थियो ?

मलाई लाग्छ, यसको सहज जवाफ ‘एस’ हो । आईपीएल मात्र नभनौं, कुनै पनि लिगका लागि कसैले नाइ भन्छ जस्तो लाग्दैन ।

तर दुःख लाग्छ हामीले एउटा मात्र विश्वकप खेल्न सक्यौं । ५० ओभरको विश्वकप खेल्ने अवसर गुमायौं । टी-२० को पनि २/३ वटा विश्वकप मिस गरिसक्यौं । यदि हामीले विश्वकप खेल्न पाएको भए ठूलो उपलब्धी हुन्थ्यो । किनकी विश्वकप जस्तो मञ्चमा संसारभरको आँखा परेको हुन्छ र, तपाईंले राम्रो गर्नुभयो भने आईपीएल वा अरु ठूलो लिगको बाटो खुल्छ । त्यसैले विश्वकप गुमाउँदा ठूलो क्षति भयो ।

तर यो होइन कि अब हामी फेरि खेल्न सक्दैनौं । मलाई लाग्छ, हामीसँग त्यो क्षमता छ । सबै मिलेर नेपाललाई टी-२० विश्वकप, एसिया कप र ५० ओभरको विश्वकपमा सबैभन्दा माथि पुग्ने प्रयास गर्नुपर्छ । यसले फ्रेन्चाइज लिगका लागि अवसर पनि सृजना हुनेछ ।

टी-१० लिगमा तपाईंको छनोट एउटा कारण सिंगापुरमा गरेको लोभलाग्दो प्रदर्शन पनि होला ?

यो हुनसक्छ । किनभने क्रिकेटमा एउटा क्याचले म्याच चेन्ज हुन्छ भनेको जस्तै एउटा इनिङले करियर नै परिवर्तन गर्न सक्छ । सिंगापुरमा १०० हानेपछि फ्रेन्चाइज क्लबहरुले नोटिस गरेर नै छान्नु भएको होला । त्योभन्दा बढी त मलाई थाहा छैन ।

पाकिस्तान सुपर लिग (पीएसएल) वा अरु लिगका लागि पनि कुराकानी भइरहेको छ ?

हो, मैले ड्राफ्टहरुमा नाम हालेको छु । पहिला धेरै प्रतियोगिताहरुमा नाम नै हालेको थिइनँ । अहिले केही फुर्सदिलो पनि भएकाले मैले ड्राफ्टमा नाम राखेको छु । छनोट हुने, नहुने भोलिका दिनमा थाहा होला ।

कतिपयको चासो थियो, इमर्जिङ नेशन खेल्ने कि टी-१० लिग । मलाई लाग्छ, जहिले पनि पहिलो प्राथमिकता देश नै हुनुपर्छ र हुन्छ पनि । तर मैले पहिला नै टी-१० मा खेल्छु भनेर प्रतिबद्धता जनाइसकेको थिएँ । प्रशिक्षकसँग पनि सल्लाह गरेँ, यो इमर्जिङ नेसन्स एसिया कप पनि हो, युवा खेलाडीहरुलाई अवसर पनि हुन्छ भन्ने भएपछि टी-१० छनोट गरेँ ।

तर भविश्यमा देश कि फ्रेन्चाइज लिगमध्ये कुन छनोट गर्ने भन्ने प्रश्न आयो भने देश नै छनोट गर्छु ।

तपाईंले भन्नुभयो, एउटा इनिङले खेलाडीको करियरमा ठूलो परिवर्तन ल्याउन सक्छ । टी-१० लिगमा पारसबाट त्यस्तो इनिङ देख्न पाइएला ?

त्यसको कुनै ग्यारेन्टी हुँदैन । तर म आफ्नो तर्फबाट राम्रो क्रिकेट खेल्ने शतप्रतिशत प्रयास गर्छु ।

खेल्दै जाँदा रेकर्डहरु बन्ने, तोडिने क्रम स्वाभाविक पनि हो । व्यक्तिगत रुपमा मचाहिँ देशका लागि खेल्दा होस् वा क्लबका लागि खेल्दा होस्, टिमको जित चाहन्छु । र, त्यो जितमा योगदान गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment