Comments Add Comment

कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट राख्न काठमाडौं महानगरले सहयोग गर्ने

२२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा अक्सिजन प्लाण्ट जडानका लागि सहयोग गर्ने भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आरप विच्छाबीच आर्थिक सहयोग गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सांसद दीपक निरौलाको रोहवरमा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मेयर शाक्यले नगरसभाबाट दुई करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै खरिद प्रक्रिया अघि बढाउन आग्रह गरे ।

‘नगरसभाबाट दुई करोड रुपैयाँ विनियोजन गरेका छौँ । तपाईँहरु शुक्रबारैबाट प्रक्रिया अघि बढाउनुहोस् । हामी योजना अनुसारको पैसा दिन तयार छौं,’ उनले भने, ‘पैसा अनुसारको योजना बनाउनुभयो भने त्यो कमसल हुने र उपयोगी नहुने हुनसक्छ । कमसल सामान खरिद गर्दा पटक–पटक मर्मत गर्नुपर्ने र काम नलाग्ने हुनसक्छ । त्यसमा ख्याल गर्नुहोला ।’

मेयर शाक्यले महानगरपालिकाले मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको बताए । निर्देशक विच्छाले अक्सिजन खरिदमा मात्रै वार्षिक करीब ६३ लाख रुपैयाँ खर्च हुने गरेको जानकारी गराएका थिए ।

‘महानगरपालिकाले गरेको सहयोग फिर्ता लिनका लागि होइन,’ शाक्यले भने, ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईँहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौं ।’

उपप्रधानमन्त्री पोखरेलले आफू यही क्षेत्रको प्रतिनिधि समेत भएको नाताले अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘समस्या के–हो ठ्क्याक्क भन्नुहोस् मेरो पहलबाट हुने सबै खाले सहयोग गर्न तयार छु,’ उनले भने । उनले सम्झौतापत्र अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै ढिलासुस्ती नगर्न पनि आग्रह गरे ।

निर्देशक विच्छाले अहिले पनि रातो स्टीकर टाँसेको भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले प्रक्रिया अघि बढाएर पुरानो भवन भत्काउने र नयाँ भवन निर्माण गर्न पनि सहयोग गर्ने आश्वासन दिए ।

निर्देशक विच्छाले २०५२ सालको दरवन्दीले अहिलेसम्म सेवा दिनुपरेको, बजेट थोरै भएको, कर्मचारीको तवलका लागि आउने बजेट समेत घटाएर पठाएको जस्ता गुनासो गरेका थिए ।

२०४४ सालमा अधिग्रहण भएको करीब ६० रोपनी जग्गा अस्पतालको नाममा ल्याउनका लागि प्रयास भइरहेको भन्दै त्यसमा सहजीकरण गरिदिन पनि निर्देशक विच्छाले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment