+
+
Shares

४ प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन, अन्तिम चरणमा ३ आयोजना

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ढल्केबर–बालगंगा, लालबन्दी–सलिमपुर र कालीगण्डकी–रिडी १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन अन्तिम चरणमा पुगेका छन् ।
  • हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको हेटौँडा–ढल्केबर खण्डमा ३७८ मध्ये अब २ टावर मात्र निर्माण बाँकी छ ।
  • काठमाडौं, तराई, पूर्वी र पश्चिम नेपालमा सबस्टेसन र प्रसारण लाइन विस्तारका लागि ठेक्का सम्झौता र बोलपत्र आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

१ कात्तिक, काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन अन्तिम चरणमा पुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये तीन आयोजना निर्माण सम्पन्न भई चार्ज गर्ने तयारी भइरहेको छ भने एउटा ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

ढल्केबर–बालगंगा, लालबन्दी–सलिमपुर र कालीगण्डकी–रिडी प्रसारण लाइन तथा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । त्यस्तै हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत हेटौँडा–ढल्केबर खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।

ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन आयोजना मार्फत २४ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी गत २० असोजमा चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त आयोजनाबाट बालगंगामा १३२/३३ केभी क्षमताको सबस्टेसन निर्माण भइरहेको छ । यसको काम आगामी केही महिनाभित्र सम्पन्न गरी चार्ज गर्ने तयारी छ ।

त्यस्तै, लालबन्दी–सलिमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत २० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । सलिमपुरमा १३२/३३ केभीको ६० एमभीए तथा ३३/११ केभीको २४ एमभीए क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत २९ वैशाखमा चार्ज गरिएको थियो ।

कालीगण्डकी–रिडी १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत २२.४५ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । रिडीमा १३२/३३ केभीको ६० एमभीए तथा ३३/११ केभीको ८ एमभीए क्षमताको सबस्टेसन पनि निर्माण सम्पन्न भई चार्ज गर्ने तयारी छ ।

तर, वर्षा र सडक विस्तार क्रममा एउटा टावर उच्च जोखिममा परेकाले त्यसलाई स्थानान्तरण गर्नुपर्ने भएको छ । यसले चार्ज गर्ने समयतालिका प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–ढल्केबर खण्ड निर्माणमा लामो समयदेखि देखिएको अवरोध हट्दै गएको मन्त्रालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकामा अवरुद्ध १८ वटा टावर निर्माण सुरु भई काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । यस खण्डमा कुल ३ सय ७८ टावर छन् । तीमध्ये अब दुइटा टावरको निर्माण मात्रै बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रसारण लाइन तथा सबस्टेसन निर्माणले विद्युत् प्रसारण प्रणाली क्षमता विस्तार गर्नुका साथै उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न र विद्युत् आपूर्ति थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा छ ।

त्यस्तै काठमाडौं उपत्यकाको विद्युत् प्रसारण क्षमता विस्तार तथा सुदृढ गर्न बालकोटमा ६६/११ केभी ६० एमभीए तथा दहचोकमा १३२/११ केभी ६० एमभीए सबस्टेसन निर्माणका लागि गत असार  र साउनमा ठेक्का सम्झौता भएको थियो । हाल उक्त सबस्टेसन निर्माण कार्य अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

तराई क्षेत्रको बढ्दो विद्युतीय माग सम्बोधन गर्न रौतहटमा चन्द्रपुर–सुखदेवचोक तथा सिरहामा लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन निर्माण कार्यका लागि असारमा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्वी नेपाल धरान र आसपास क्षेत्र केन्द्रित गरी धरानमा २२०/३३/११ केभी सबस्टेसन निर्माण गर्न, संखुवासभा बानेश्वरस्थित सबस्टेसन क्षमता विस्तार गर्न, पश्चिम नेपाल धनगढी र आसपास केन्द्रित गरी बढ्दो विद्युतीय माग सम्बोधन गर्न अत्तरिया धनगढी १३२ केभी प्रसारण लाइन निर्माणका लागि १९ असोजमा बोलपत्र आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?