+

एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजकमा रेड बुल

२०८३ कात्तिक  १ गते १६:५३ २०८३ कात्तिक १ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट वुमन्स भलिबल लिगको आगामी तीन संस्करणका लागि रेड बुल मुख्य प्रायोजक बनेको छ।
  • लिग आयोजकले बुधबार रेड बुलसँगको बहुवर्षीय साझेदारी घोषणा गरेको हो।
  • सरस बेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा गौरव लागेको बताए।

१ कात्तिक, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभीएल) को आगामी तीन संस्करणका लागि रेड बुल मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ। लिग आयोजकले बुधबार रेड बुलसँगको बहुवर्षीय साझेदारी घोषणा गरेको हो। सम्झौता आगामी संस्करणदेखि लागू हुनेछ।

विश्वप्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड रेड बुल र नेपालको महिला भलिबल लिगबीचको सहकार्यले महिला खेलकुदको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साझेदारीमार्फत लिगको प्रतिस्पर्धात्मक र व्यावसायिक स्तर उकास्ने, खेलाडीको विकासमा सहयोग गर्ने तथा प्रतियोगिताको पहुँच र लोकप्रियता विस्तार गर्ने लक्ष्य राखिएको छ।

सरस बेभरेजेज (रेड बुल नेपाल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा गौरव लागेको बताएका छन्। उनले यो एक सिजनको मात्र नभई आगामी तीन संस्करणसम्मको सहकार्य भएको उल्लेख गर्दै नेपाली खेलकुद र प्रतिभाप्रति रेड बुलको विश्वास प्रतिबिम्बित हुने बताए।

सिलवालले महिला खेलाडीलाई राष्ट्रिय मञ्च, अवसर र पहिचान दिने लिगसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए। लिगले देशभरका प्रतिभाशाली महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर दिने उनको भनाइ छ।

एभरेस्ट वुमन्स भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले रेड बुलसँगको साझेदारी लिगको विकास र नेपालमा महिला खेलकुदको प्रवर्द्धनका लागि महत्वपूर्ण कदम भएको बताइन्।

रेड बुलको अन्तर्राष्ट्रिय पहिचान र खेलकुद क्षेत्रको अनुभवले लिगको स्तर उकास्न, खेलाडीका लागि थप अवसर सिर्जना गर्न र किशोरीलाई खेलकुदमा अघि बढ्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरिन्।

आयोजकका अनुसार रेड बुलको सहयोगमा आगामी संस्करणहरूमा खेल अनुभव सुधार गर्ने, खेलाडीलाई उपलब्ध गराइने सहयोग विस्तार गर्ने तथा सञ्चारमाध्यम र दर्शकसँगको सम्बन्ध सुदृढ बनाउने योजना छ।

यस सहकार्यले नेपाली महिला भलिबलको दीर्घकालीन विकास र व्यावसायिक विस्तारका लागि स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय