Comments Add Comment

विरगञ्ज महोत्सवबाट नेपाली फिल्मले के पायो ?

करिब १ करोड भन्दा बढी खर्च, ३ सय भन्दा बढी चलचित्रकर्मीहरुको जमघट गराउँदै विरगञ्जमा ३ दिने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ सम्पन्न भयो । विरगञ्जमा नेपाली चलचित्रको बजार नै नभएको अवस्थामा यो महोत्सवले त्यो बजार खोज्न सहयोग गर्ने अपेक्षा चलचित्र निर्माता संघको छ । तर, के ३ दिनसम्म तामझामका साथमा भएको महोत्सवले चलचित्र क्षेत्रलाई साच्चै फाइदा पुर्यायो त ?

महोत्सवको उद्देश्यमा कती सफल संघ ?

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले महोत्सवको फाइदा विस्तारै चलचित्र क्षेत्रले पाउने अपेक्षा गरे । महोत्सवको प्रभाव विस्तारै पर्दै जाने र यसबाट सिंगो चलचित्र क्षेत्रले नै फाइदा लिनेमा उनी विश्वस्त देखिन्छन् । तर, महोत्सव जुन उद्देश्यले आयोजना भएको थियो त्यसमा संघ पूर्ण रुपमा सफल भने भएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको महोत्सवमा स्थानीय व्यापारी, नेता, विद्यार्थीहरुको बाक्लो उपस्थिती उद्घाटन र समापन कार्यक्रममा देखियो । तर, महोत्सवको उद्घाटनदेखि समापनसम्म दर्शकलाई चलचित्रबारे वुझाउन आयोजक पक्ष चुकेको छ । नेपाली चलचित्र हेर्नका लागि विरगञ्जका दर्शकलाई अपिल गर्न आयोजक चुकेको छ ।

चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले समापन कार्यक्रममा नेपाली चलचित्र हेर्न स्थानिय व्यापारी, नेता, दर्शकलाई आग्रह गर्नुबाहेक अरु कोही पनि सहभागीले दर्शकसँग यो कुराको अपिल गर्न सकेनन् । आयोजकले न नेपाली चलचित्रको बिषयमा बहस गर्न सक्यो, न नेपाली चलचित्र विरगञ्जमा किन चलेनन् र चलाउन के गर्नुपर्छ भनेर छलफल नै चलाउन सक्यो ।

महोत्सव उद्घाटनको भोलीपल्टदेखि भएको नेपाली चलचित्रको प्रदर्शन निकै नै फितलो देखियो । बिहान १० बजेको घाममा ‘बुलबुल, शत्रु गते’जस्ता चलचित्रको प्रदर्शन ठुलो चौरमा गरियो । यसले, दर्शकलाई आकर्षण नै गराउन सकेन । यी चलचित्रहरु कुनै एउटा हलमा गरेर, यस बिषयमा छलफल चलाउन सकेको भए केही मात्रामा फाइदा पुग्थ्यो ।

गोविन्दमय बनेको महोत्सव
विरगञ्जमा नेपाली चलचित्रका नायक विराज भट्टको क्रेज गज्जब देखियो । तर, आयोजकले विराजलाई स्टेजमा लैजान पनि चाहेन वा सकेन । विरगञ्जमा पुगेर पनि विराज भट्टको कुरा सुन्न दर्शकले पाएनन् । जसलेगर्दा, महोत्सव बलिउड नायक गोविन्दामय भएको सन्देश नेपालभर भयो ।

काठमाण्डौमा बसेर महोत्सवलाई नियालिरहेकाहरुलाई गोविन्दामय महोत्सव भन्ने सन्देश जानुको कारण पनि यही नै हो । गोविन्दाले आफ्नो चलचित्र र बलिउडको घुमाउरो तरिकाले प्रचार गरे । गोविन्दालाई ‘भिजिट नेपाल २०२०’को प्रवद्र्धनका लागि नेपाल ल्याएको आयोजकले नेपालकै स्टार विराज भट्टलाई केही समय दर्शकसँग साक्षात्कार गर्न दिएको भए माहोल केही फरक हुने थियो ।

सांकृतिक कार्यक्रम आकर्षक
महोत्सवमा प्रस्तुत गरिएका सांकृतिक प्रस्तुतिको भने प्रशंसा खुलेरै गर्न सकिन्छ । किनकी, जुन तरिकाको कोरियोग्राफी र प्रस्तुति कलाकारले स्टेजमा प्रस्तुत गरे, यो आफैमा प्रशंसा गर्न लायक नै छ । नेपाली चलचित्रका कलाकारहरु निरुता सिंह, नीता ढुंगाना, वर्षा राउत, संजोग कोइराला, वर्षा सिवाकोटी, सलोन बस्नेत, आमेष भण्डारी, पुष्प खड्का, छुल्ठिम गुरुङ, प्रविशा अधिकारी, सुरेश लामा, नीशान भट्टराई, अस्मिता अधिकारी, पवित्रा आचार्य लगायतको प्रस्तुति आकर्षक थियो ।

यो पनि पढ्नुहोस गोविन्दासँगै नाँचे नेपाली नायिका (फोटो फिचरसहित)

तर, पनि स्थानिय दर्शकमा भोजपुरी गीतका गायक–गायिका र ती गीतमा कलाकारले प्रस्तुत गरेको नृत्यमा नै बढी आकर्षण देखियो । हाँस्य कलाकार सन्दिप क्षेत्रीको क्रेज भने स्थानीय जनतामा लोभलाग्दो थियो ।

व्यवस्थापनमा चुक्यो आयोजक
करोड बढी खर्च गरेर सय बढी कलाकारलाई विरगञ्जमा लगेर महोत्सव गर्न सहज भने थिएन । यसका लागि नेपाल चलचित्र निर्माता संघलाई वधान दिनै पर्छ । तर, पनि यति भन्दै गर्दा महोत्सवको व्यवस्थापनमा भने आयोजक चिप्लियो । चलचित्र निर्माता संघका पूर्ण कार्यसमितीको साथ नै महोत्सवमा देखिएन । कार्यक्रमको सेड्यूल बनाउने कुरामा पनि आयोजक चुकेको छ । आयोजकको ध्यान बलिउड नायक गोविन्दा र सांकृतिक प्रस्तुतिमा बढी गयो । जसले गर्दा, आदर्शनगर रंगशालामा आयोजित फिल्म महोत्सव ‘कुनै चलचित्रको नभएर अन्य महोत्सव’ जस्तो देखिएको थियो ।

ब्लकबस्टर चलचित्रका मेकर दीपकराज गिरी, दीपाश्री निरौलादेखि नायिका स्वेता खड्कासम्म गोविन्दासँगै हिन्दी गीतमा नाँचेर फर्किए । झरना थापा, साम्राज्ञी राज्यलक्ष्मी शाह, भूवन केसी जस्ता कलाकार उद्घाटन कार्यक्रममा अनुहार देखाएर फर्किनुपर्ने विडम्बना पनि अर्को हो ।

दर्शकले चलचित्रको बिषयमा कती वुझे, यो अब विरगञ्जमा रिलिज हुने चलचित्रको व्यापारले फरक पार्नेछ । तर, महोत्सवका लागि आयोजकले देखाएको तत्परतालाई भने प्रशंसा गर्नैपर्छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment