+
+
Shares

रूप ज्योतिविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १२:०८

२८ कात्तिक, काठमाडौं । उद्योगी डा. रूप ज्योतिविरुद्ध दिएको जाहेरी फिर्ता लिन विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन् । पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका रूप ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

मल्लको जाहेरीपछि गत बिहीबार रूप ज्योति र उनको छोरी सुरुचि ज्योति पक्राउ परेका थिए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलोपटक ३ दिन र दोस्रोपटक ५ दिन म्याद थपेको छ ।

थपिएको म्याद आज बिहीबार सकिँदैछ । तर बुधबार नै मल्ल जाहेरी फिर्ता पाऊँ भन्ने भन्दै निवेदन लिएर प्रहरीकहाँ पुगेका छन् । प्रहरीले भने अनुसन्धान सकिएको फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता नुमराज खनालले महानगरीय प्रहरीले अनुसन्धान फाइल बुझाएको जानकारी दिए । मल्लले जाहेरी फिर्ता पाऊँ भन्दै निवेदन दिएको उनले पुष्टि गरे । तर अहिले नै मिलापत्र भएको भन्न नमिल्ने उनको भनाइ छ ।

‘अनुसन्धान फाइल यहाँ प्रहरीले बुझाएको छ, जाहेरीवालाले मैले पैसा पाइसकेँ भनेर जाहेरी फिर्ता लिन निवेदनसमेत दिनुभएको छ’, सहायक न्यायाधिवक्ता खनालले भने, ‘मुद्दा चल्ने÷नचल्ने निर्णय हुन बाँकी छ ।’

रूप ज्योतिले आफूविरुद्ध ठगीको उजुरी पर्नुअघि नै १ करोड २६ लाख रुपैयाँ मल्ललाई बुझाइ पाऊँ भन्दै अदालतमा जम्मा गरेका थिए । तर उक्त रकम लिन नमानी मल्लले गठी भएको भन्दै जाहेरी दिएका थिए । स्रोतका अनुसार, रूप ज्योतिले रकम तिरेपछि छुट्ने सम्भावना भएकाले मल्लले जाहेरी फिर्ता लिन चाहेका हुन् ।

काठमाडौंको बाँसबारीमा रहेको जग्गा खरिदबिक्रीमा रूप ज्योतिसित मल्लको विवाद भएको थियो । बाँसबारीमा ६ रोपनीभन्दा बढी जग्गामा ल्याण्डमार्क डेभलपर्सले हाउजिङ बनाउन लागेको थियो । त्यसका लागि साझेदारको रूपमा सिई कन्स्ट्रक्सन छानियो । साझेदारको रूपमा रहेको सिई कन्ट्रक्सनले त्यहाँ भएको जग्गामध्येबाट १९ नम्बरको एउटा प्लट विगेन्द्रकृष्ण मल्ललाई बेच्न बैना गर्‍यो ।

उक्त जग्गाका लागि भनेर सिई कन्ट्रक्सनका महाप्रबन्धक शम्भुप्रसाद फुँयालले १ करोड २६ लाख रुपैयाँ बैना लिए । पछि उक्त जग्गा ल्याण्डमार्क डेभलपर्स कम्पनीले अर्को कम्पनी खडा गरेर उक्त कम्पनीका नाममा पास गर्‍यो । जग्गा पास गरिएको कम्पनीको सञ्चालकमा उनकी छोरी पनि थिइन् । त्यही आधारमा प्रहरीले छोरीलाई समेत पक्राउ गरेको थियो ।

तर फुँयालले आफूले पैसा लिएको कुरा ल्याण्ड डेभलपर्श कम्पनीलाई जानकारी नगराएको ज्योतिको दाबी छ ।

‘हामीले विगेन्द्र कृष्ण मल्ललाई जग्गा दिने र घर बनाइ दिने कुनै करार गरेको छैन, शम्भु फुँयालले हाम्रो नाममा १ करोड २६ लाख रुपैयाँ लिएका रहेछन्’, रूप ज्योति भन्छन्, ‘यसबारे हामीलाई कुनै जानकारी नै थिएन, पैसा जम्मा नभएपछि हामीले क्वालिटी डेभलपर्सलाई बेचिदिएका हौं ।’

आफूले किन्ने भनेको जग्गा अन्तै बिक्री भएपछि मल्लले ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । उनले यही व्यहोराको उजुरी प्रहरीमा दर्तासमेत गराएका छन् । यही विषय पेचिलो बन्दै प्रहरी हुँदै अदालतसम्म पुग्यो र अहिले रूप ज्योति पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?