Comments Add Comment

भीभीआईपी टूरिष्ट मोहम्मद अब्दुल हमिद !

पोखरा फेवा तालमा ढुंगा सयर गर्दै राष्ट्रपति हमिद ।

२९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा आउने उच्च तहका विदेशी अतिथि सामान्यतया एक वा दुई दिनको व्यस्त सेड्यूल लिएर आएका हुन्छन् । केही ‘महत्वपूर्ण’ भेटवार्ताहरु गर्छन्, द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्छन् र भ्रमण फलदायी भयो भन्दै स्वदेश फर्किन्छन् ।

तर, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण नितान्त फरक देखिएको छ । चार दिनको छुट्टी लिएर आएका उनी फुर्सदिलो घुमघाम गरिरहेका छन् । राजनीतिक भेटवार्ताभन्दा नेपालका पर्यटकीय क्षेत्रको अवलोकनमा उनको बढि चाख देखिएको छ । उनीसँग ४९ जनाको जम्बो टिम पनि छ ।

‘बंगलादेशमा नेपाल भन्नासाथ पर्यटकीय गन्तव्यको छाप छ,’ भ्रमण दलमा रहेका यूनाइटेड न्यूज अफ बंगलादेश (यूएनबी)का पत्रकार सफीकूल इस्लाम अनुभव साट्छन्, ‘फेरि हाम्रा राष्ट्रपति भ्रमणका सौखिन पनि हुनुहुन्छ ।’

उनी थप्छन्, ‘हामीले नेपालको प्राकृतिक सुन्दरताबारे त धेरै सुनेका थियौं, तर मानिसहरु भेटेपछि झन् धेरै प्रभावित भयौं । ढाकाको सडकमा थोरै छोइयो भने पनि आँखा तरेर हिँड्ने मानिसहरुसित बानी परेका हामीलाई यहाँका जनताका विनम्रताले छोयो ।’

भ्रमण टोलीमा आएका तीन पत्रकारमध्ये एक हुन्, इस्लाम । यसअघि राष्ट्रपतिका पछिल्ला आधा दर्जन विदेश भ्रमणमा पनि उनी साथ थिए । रसिक व्यक्तित्वका आफ्ना ७५ वर्षीय राष्ट्रपति बंगलादेशमा निकै लोकप्रिय रहेको उनी बताउँछन् ।

राष्ट्रपतिको रुपमा हमिदको यो दोस्रो कार्यकाल हो । सन् २०१३ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका उनी २०१८ मा पुन निर्वाचित भएका थिए । व्यक्तिगत लोकप्रियताकै बलमा हमिद दोस्रोपटक राष्ट्रपति बनेको इस्लामको कथन छ । हमिद जहाँ पुग्छन्, सो गन्तव्यको बंगलादेशी नागरिकलाई सकारात्मक छाप पर्ने इस्लाम बताउँछन् ।

राष्ट्रपतिले आफ्नी श्रीमती र एक छोरालाई पनि भ्रमण दलमा समावेश गरेका छन् । हमिद चार सन्तानका बाबु हुन् ।

बेलायत, भारत र बंगलादेश, तीन वटा देशको शासन व्यवस्थाका साक्षी हुन् हमिद । भारत बेलायती उपनिवेश छँदा उनको जन्म भारतीय नागरिककारुपमा भएको थियो । भारतबाट छुट्टिएर पाकिस्तान बन्दा उनी पाकिस्तानी बने । पाकिस्तानबाट बंगलादेश बनेपछि उनी पनि बंगाली भए ।

अवामी लिगबाट राजनीतिक गरेका हमिद राष्ट्रपति हुनुअघि सभामुख थिए । सन् २००९ मा सभामुख बनेका उनलाई सन् २०१३ मार्चमा तत्कालिन राष्ट्रपति जिल्लुर रहमान बिरामी भएर थला परेपछि कार्यवाहक राष्ट्रपति बनाइएको थियो । अपि्रलमा भएको राष्ट्रपति चुनावमा उनी निर्विरोध निर्वाचित भए । चार वर्षे कार्यकाल पुरा गरेका उनलाई २०१८ को राष्ट्रपति चुनावमा पनि कसैले बलियो चुनौति दिन सकेन । यद्यपि, वंगलादेशमा राष्ट्रपति पद नेपालमा झैैं सेरेमोनियल मात्र हुन्छ ।

धुमधामको घुमघाम

चार दिने नेपाल भ्रमणका क्रममा हमिद भक्तपुर दरबार स्क्वायर पुगे भने पोखराको फेवातालमा जलसयरमा रमाए । साथै रुपाकोट रिसोर्ट पुगी हिमश्रृंखलाको अवलोकन गरे ।

उनको भ्रमणमा एक दिन (बुधबार) मात्र राजनीतिक भेटघाट भएको थियो । बाँकी समय उनी पूर्णतया पर्यटकको रुपमा रहे । एक अतिविशिष्ट पर्यटकका रुपमा । उनी शुक्रबार चन्द्रागिरि जाने कार्यक्रम थियो । तर, स्वास्थ्यका कारण जान सकेनन् ।

पोखराबाट फर्किएपछि राष्ट्रपतिले केही अस्वस्थता महसुश गरेका छन् । तर, उनको भ्रमण दलका सदस्य भने चन्द्रागिरी पुगेका थिए । भ्रमण दलमा सहभागी राष्ट्रपतिका सल्लाहकार, सांसद, नेता तथा बंगलादेशी विदेश मन्त्रालयका उच्च अधिकारी चन्द्रागिरी डाँडामा पुगेका हुन् । राष्ट्रपति हमिदको टोली शुक्रबार साँझ बंगलादेश फर्किने कार्यक्रम छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी राष्ट्रपतिलाई आतिथ्य दिन कुनै कसुर बाँकी नराखिएको बताउँछन् । ‘उहाँ पोखरा र यसआसपासको भ्रमणबाट निकै प्रभावित हुनु भएको छ,’ उनले भने, ‘हामीले सत्कारमा कमी हुन दिएनौं ।’ राष्ट्रपतिको भ्रमणले बंगलादेशमा नेपाल र अझ पोखराबारे खास सन्देश प्रवाह हुने विश्वास उनले लिए ।

पर्यटन व्यवसायी राजेन्द्र सापकोटा यस प्रकारका भ्रमणले नेपालको छवि उजिल्याउन मद्दत गर्ने बताउँछन् । अझ भ्रमण वर्षको मुखमै भएको भ्रमणले बंगलादेशी बजारमा नेपालबारे चासो बढ्ने उनको विश्वास छ ।

‘भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ र जनकपुर भ्रमणले ती भेगमा भारतीय पर्यटक बढेका छन्’, उनले भने, ‘अब पोखरामा बंगलादेशी पर्यटकको भ्रमण बढ्न सक्ने सम्भावना प्रवल छ ।’

बंगलादेश मूख्य स्रोत बजार

नेपाल पर्यटन बोर्डका अनुसार बंगलादेश दक्षिण एसियाको मूख्य स्रोत बजार पनि हो । यहाँ धनाढ्य व्यापारीहरु छन् । उनीहरु बिदा मनाउन नयाँ नयाँ गन्तब्य खोजिरहेका हुन्छन् ।

अर्कोतर्फ नेपाल आउन भारतीय पर्यटकलाई भिषा चाहिँदैन भने अन्य दक्षिण एसियाली मुलुकका पर्यटकले अनअराइभल भिसा सुविधा प्राप्त गर्छन् । त्यसकारण पनि नेपालले आगामी दिनमा अझ बढी पर्यटक भित्राउन सक्ने सम्भावना रहेको नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशी बताउँछन् ।

‘विगतमा हवाई संजालको कमीका कारण अपेक्षित पर्यटक आउन नसकेका हुन्,’ उनले भने, ‘तर, बंगलादेश हाम्रो मूख्य स्रोत बजारमध्ये एक हो ।’ नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार पछिल्लो १० महिनामा बंगलादेशबाट १९ हजार २ सय ७९ जना पर्यटक नेपाल भ्रमणमा आइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment