Comments Add Comment

सित्खा–गोगनपानी सडक : गुणस्तरहीन काम भएको स्थानीयको गुनासो

३ मंसिर, रामेछाप । प्रदेश ३ सरकारको लगानीमा निर्माण व्यवसायी मार्फत काम भइरहेको सित्खा–गोगनपानी–धुलेवेसी सडकको निर्माण कार्य गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका छन् । सो सडकको सित्खा गोगनपानी खण्डमा निर्माण गरिएको नाला गुणस्तरहीन भएको स्थानीयको आरोप छ ।

आत्रेय लुम्बिनी निर्माण कम्पनीले करिब २२ करोड रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएको सो सडकमा बनाइएको नालाको पर्खाल गुणस्तरहीन भएको स्थानीयको भनाइ छ । स्थानीय टेकबहादुर श्रेष्ठका अनुसार सो सडकको सित्खादेखि माथि चहारी भन्नै स्थानमा लगाएको पर्खाल लात्ताले हान्दा पनि भक्तिने अवस्थामा छ । हातले उक्काउँदा सिमेन्टको पर्खाल पूरै भत्किएको उनले बताए ।

सिमेन्टको मात्रा कम र बालुवाको मात्रा बढी राखेर नालाको पर्खाल लगाएको कारण सो पर्खाल हातले नै उप्काउँदा पनि भत्किने स्थानीय नमराज बेसीघरेले आरोप लगाए ।

सो सडकका निर्माण व्यवसायीले भने गुणस्तरहीन सामान प्रयोग गरेको भन्ने स्थानीयको कुरा स्वीकार गर्न तयार छैनन्कु । निर्माण कम्पनीका राजेश कुँवरले सो पर्खाल ढुँगाले हानेर भत्काएकाे बताउँछन् । पर्खाल लगाउँदा हल्का पानी परेकोले पनि राम्रोसँग नसमातेको उनले बताए ।

स्थानीयले गुणस्तरहीन काम गरेको भनी उजुरी गरेपछि त्यसको गुणस्तरको अवस्था अध्ययनको लागि खाँडादेवी गाउँपालिकाले प्राविधिक खटाएको छ । खाँडादेवी गाउँपालिका वडा नं ३ मा पर्ने सो सडकमा गुणस्तरीय काम नभएको भन्ने गुनासो आएपछि वडा कार्यालयले पनि निर्माण व्यवसायीलाई स्पष्टिकरण मागेको खाँडादेवी गाउँपालिका–३ का वडाअध्यक्ष पुष्कर कार्कीले जानकारी दिए ।

स्थानीयको उजुरीको आधारमा ठेकदारलाई स्पष्टिकरण लिने काम भएको वडाअध्यक्ष कार्कीले बताए । निर्माण कम्पनीले ५ मिटर दुरीको नालाको पर्खाल भत्काएर बनाउ लगाएको वडाध्यक्ष कार्कीले बताए ।

गुणस्तरीयताबारे गाउँपालिकाका प्राविधिकहरुले अध्ययन गर्ने काम गरिरहेको र त्यस्तो काम भएको पाइएमा भत्काएर पुन: बनाउन लगाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment