Comments Add Comment

वीरको भीआईपी कक्षमा स्वास्थ्य राज्यमन्त्री यादव !

२ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादव गत शुक्रबारदेखि वीर अस्पतालमा उपचाररत छन् ।

मेरुदण्डको दुखाई लिएर अस्पताल पुगेका उनी भीआईपी कक्षमा उपचार गराइरहेका छन् । सोमबार बिहान अस्पताल पुग्दा डा. राजिव झा उनको साथमा थिए । डाक्टर झा राज्यमन्त्री यादवलाई भन्दै थिए, ‘केही दिन कुर्सीमा बस्दै नबस्नुस्, ओछ्यानमै सुत्नुस् । अलिअलि हिँड्ने कोशिस गर्नुस् ।’

राज्यमन्त्री यादवको उपचारको नेतृत्व गरिरहेका डा. राजीव झाकाअनुसार मन्त्री यादवको मेरुदण्डको नशा च्यापिएको छ, जसलाई चिकित्सकीय भाषामा ‘एल–४ एल–५ डिस्प्रोग्यास’ भनिन्छ । यस्तो अवस्थामा हिँडडुल गर्न तथा सिधा बस्न गाह्रो हुन्छ । खुट्टा उचल्दा मात्रै पनि ढाडमा असर पर्छ ।

नसा थोरै मात्रामा दबिए पनि दुखाई भने धेरै हुने गर्छ । च्यापिएको नशा सुकाउन औषधि चलाइरहेको डाक्टर झा बताउँछन् । अस्पताल ल्याएको दिनभन्दा आज धेरै सुधार आएको बताउँदै भन्छन्, ’अब २ दिनमा उहाँलाई डिस्चार्ज गरिनेछ ।’

राज्यमन्त्री यादवलाई दैनिक फिजियोथेरापी गराइएको छ । सोमबार पनि उनी फिजियोथेरापी कक्षमा पुगे । अल्ट्रासाउण्ड गरियो । म्यानुअल र इलेक्ट्रोथेरापी गरियो । केही समय ‘बडी स्ट्रेचिङ’ गराएपछि पुनः भीआईपी कक्षमा फर्किए ।

राज्यमन्त्री यादवका अनुसार यसअघि उनलाई मेरुदण्डको कुनै समस्या थिएन । केही दिनअघि एउटा कार्यक्रममा जादाँ ढाड चस्किएर सहन नसक्ने गरी दुखेपछि अस्पताल आएको उनले बताए । भने, ‘अहिले ठीक हुँदै गएको छ ।’

वीरको भिआइपी कक्ष अधिकांश समय खाली हुन्छ । तर राज्यमन्त्री यादव भीआईपी कक्षमा उपचार गराउने पहिलो भीआईपी भने होइनन् । यसअघि माधव नेपाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत यहाँ गएर उपचार गराएका थिए ।

भीआईपी वार्डका लागि ६ वटा कोठा छुट्याइएको त्यहाँ बिरामीको हृदयगति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रम लगायत अवस्थाबारे जानकारी दिने ‘बेडसाइट मनिटर’ छ । भेन्टिलेटर, अक्सिजन र ईसीजी मेसिन उपलब्ध छ । आपत्कालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्री छन् । त्यस्तै बिरामी भेट्न आउने भीआईपीका लागि विशिष्ट आगन्तुक कक्ष, बिरामीको आफन्त बस्ने कक्षसहित सुरक्षाकर्मीको समेत कक्ष छन् ।

हेर्नुहोस् थप तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment