Comments Add Comment

उपनिर्वाचनमा धरान : प्रकाशलाई आफ्नैको डर, तिलकलाई असन्तुष्टको आश

२ मंसिर, धरान । मसिंर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा माहोल तातेको छ । उपमहानगर प्रमुख र वडा नम्बर ७ को वडाअध्यक्षको उपनिर्वाचनका लागि दलहरुले चुनावी प्रचार तीव्र बनाएका छन् ।

धरान प्रमुखका लागि चुनावी मैदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाश राई र नेपाली कांग्रेसका तिलक राईसहित २३ जना उम्मेदवार छन् । मुख्य दाबेदार भने तिलक र प्रकाश राई हुन् । त्यसपछि समाजवादी पार्टीका गजेन्द्र इस्बो छन् ।

तिलक राई २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तारा सुब्बासँग पराजित भएका थिए । सुब्बाले २० हजार ९७५ र निटकटतम प्रतिद्वन्द्वी कांग्रेसका राईले १६ हजार १०२ मत ल्याएका थिए । नगर प्रमुखमा निर्वाचित भएको एक वर्षपछि मेयर सुब्बाको मृत्यू भएको थियो ।

त्यो बेला धरानमा ७९ हजार २८२ मतदाता थिए । दुई वर्षपछि अहिले १३ हजार ५७१ मतदाता थपिएका छन् । तारा सुब्बाको मृत्युपछि हुन लागेको नगरप्रमुखको निर्वाचन अघिल्लो पटक जस्तै सहज रुपमा जित्नेमा नेकपा ढुक्क छैन । थपिएको १३ हजार मतदाता कता ढल्केला भनेर आँकलन गर्न मुश्किल परिरहेको बेला अन्तरघातको समेत चिन्ता छ, धरान नेकपाभित्र ।

आशसँगै अन्तरघातको त्रास

अघिल्लो निर्वाचनमा धरानमा तत्कालीन एमाले र माओवादी केन्द्रका उम्मेदवारले ल्याएको मत जोड्दा ३२ हजार १५५ हुन्छ । यो जोडफल त्यसबेला कांग्रेसका उम्मेदवार तिलक राईले पाएकोभन्दा दुई गुणा बढी हो ।

कम्युनिष्टहरुले आफ्नो गढ मान्दै आएको धरान उप–महानगरपालिका सुनसरी १, प्रदेश (ख) मा पर्छ । यो क्षेत्रबाट संघीय संसदमा एमालेका जयकुमार राई र प्रदेश सभामा भीमप्रसाद आचार्य विजयी भएका थिए । दुवै वाम गठबन्धन (तत्कालीन एमालेका एमाले–माओवादी केन्द) का हुन् । एकीकरण भएर नेकपा बनेपछिको निर्वाचनमा भने आफ्नैबाट पनि डर बढेको छ ।

अझ नेकपाले बनाएको तीनवटै तहका सरकारको कार्यकुशलताप्रति जनअसन्तुष्टिका कारण पनि नेकपा उम्मेदवारलाई चिन्ता छ । धरानमा त पार्टी एकीकरणमा समेत असन्तुष्ट एमालेको एउटा समूह नै क्रियाशील छ । प्रकाश राईको चुनावी घरदैलोमा त्यो समूहले सहयोग नगरेको नेकपा धरानका एक नेता बताउँछन् । नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, ‘यो समूहलाई परिचालन गर्न नसके प्रकाशलाई गाह्रो छ ।’

महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. राजेन्द्र शर्मा धरानमा बहुदलपछिका सबै निर्वाचनमा कम्युनिष्टहरु बिजयी भए पनि अहिले परिस्थिति अलि अप्ठ्यारो बनेको बताउँछन् । दुईतिहाई बहुमतको शक्तिशाली सरकार बनाउन पाउँदा पनि आमजनताले महसुस गर्नेगरी काम नदेखाउँदा नेकपाको लागि चुनावी माहोल सजिलो नबनेको उनले बताए ।

कांग्रेसको भोट मात्र जित्दिन : तिलक राई

दुईतिहाई बहुमतको सरकारको प्रतिष्ठासँग जोडिएको उप–निर्वाचनको प्रचारप्रसारमा व्यस्त कांग्रेसका उम्मेद्वार तिलक राई नेकपासँग असन्तुष्ट कम्युनिष्ट मतदाताको भोट पाउनेमा आशावादी छन् । उनी भन्छन्, ‘यस पटक मैले जित्दैछु, तर कांग्रेस मतदाताको मतले मात्र होइन ।’

२०७४ सालको निर्वाचनमा दोस्रो धेरै मत पाएका तिलक राई यो उप–निर्वाचनमा अझ परिपक्व भएर उठेको बताउँछन् । धरानको विकासको गति २० वर्षअघि जहाँ थियो, अहिले पनि त्यही रहेको दाबी गर्दै उनले भने, ‘यसबाट निराश नगरबासीले यसपटक कांग्रेस र मलाई जिताउने पक्का छ, घरदैलो अभियानको माहोल यस्तै छ ।’

ताराका योजनाहरु पुरा गर्छु : प्रकाश राई

घरदैलो कार्यक्रमलाई तीव्र बनाएका नेकपाका उम्मेदवार प्रकाश राईले धरानको समग्र विकासलाई मुख्य एजेण्डा बनाएका छन् ।

संघदेखि प्रदेशसम्मको नेकपाको बहुमतको सरकारसंग समन्वय गरेर विकासको काम गर्न जनताले आफूलाई मत दिने उनी बताउँछन् ।

स्व. तारा सुब्बाले अघि सारेका योजनाहरु पूरा गर्न आफू मैदानमा उत्रिएको उनले बताए । ‘अढाई वर्ष अघि धरानका मतदाताले हाम्रो बिकास प्रतिवद्धतालाई पाँच वर्षका लागि सदर गरिदिनुभएको थियो’, उनले भने, ‘तर, हाम्रा नगरप्रमुखको निधनका कारण उहाँका विकास योजनाहरु अवरुद्व जस्तो हुन पुगे, जसलाई पुरा गर्न मलाई पार्टीले चुनावी मैदानमा उतारेको छ ।’

विकासका ताजा प्रतिवद्वताहरु लिएर घरदैलोमा पुग्दा मतदाताबाट निकै सकारात्मक प्रतिक्रिया पाएको राईले बताए । ‘डेढवर्ष मेयरविहीन हुँदा धरानमा रोकिएका विकास योजनाहरुले अब गति लिने आशा मतदातामा पलाएको छ’, उनले भने, ‘नेकपाको बहुमत भएको नगरको नेतृत्व गर्न जनताले मलाई नै पठाउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

वडा नम्बर ७ ओझेलमा

धरान उप–महानगरका प्रमुखको प्रतिस्पर्धाले वडा नम्बर ७ को निर्वाचनलाई ओझेलमा पारेको छ । वडा अध्यक्षको निधन भएका कारण निर्वाचन हुन लागेको यो वार्डमा नेकपाबाट जीवनराज सुवेदी, कांग्रेसबाट सुवर्णमोहन पालिखे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेश शाक्य र संघीय लिम्बुवान मञ्चबाट निता राई प्रतिस्पर्धामा छन् ।

उता जिल्ला निर्वाचन कार्यालय, सुनसरीले धरानमा निर्वाचन शिक्षा अभियान सञ्चालनका लागि ४० जना स्वयंसेविका परिचालन गर्न लागेको छ । धरान उप–महानगरपालिकामा २० वडा छ । निर्वाचन शिक्षाका लागि प्रत्येक वडामा दुईजना स्वयंसेविका परिचालित हुने कार्यालयका निमित्त प्रमुख अजय मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment