Comments Add Comment

१६ वर्षदेखिको बिजुली देख्ने सपना अधुरै

४ मंसिर, डोटी । आदर्श गाउँपालिका-५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी भइन् । उनी गाउँमै बस्छिन्, त्यसैले विद्युतको विषयमा खासै जानकारी छैन उनलाई ।

१६ वर्षअघि अर्थात् २०६२ सालमा गाउँमा विद्युतका पोल गाड्न सुरु हुँदा उनलाई घरमा बिजुली बलेको हेर्ने चाँसो बढ्यो ।

एक दुई पटक मात्रै विद्युत भएका सहरसम्म आउजाउ गरेकी उनलाई आफ्नो गाउँ पनि झिलिमिली भएको हेर्ने रहर थियो ।

पोल गाडेको १६ वर्ष पूरा भयो । सीताको सपना अझै पूरा भएको छैन । अब त उनले आश पनि मारिसकेकी छिन् । भन्छिन्, ‘घरमा बत्ति बलेको, गाउँ झिलिमिली भएको अर्को जुनीमा मात्रै देख्न पाइने हो कि !’

आर्थिक वर्ष २०६२/०६३ र को बजेटबाट साविकको लामिखाल गाउँ विकास समितिले विद्युतीकरणका लागि १४ लाख रुपैयाँ विनियोजन गर्‍यो । उक्त रकमबाट पोल खरिद भए र ठाउँ ठाउँमा पोल गाडिए पनि ।

०६४/०६५ बाट लामिखालको विद्युतीकरण केन्द्रीय योजनामा समाबेश भयो । प्रत्येक वर्ष बजेट आयो पनि, तर काम भएन । प्रत्येक वर्ष ठेक्का हुने, ठेकेदारले सडक पहुँच भएका ठाउँहरुमा मात्रै काम गर्ने लामिखालमा वास्तै नगर्ने गरे । लामिखालबासीहरुको बत्ति बाल्ने सपना सधैं अधुरै रह्यो ।

‘गत वर्ष मात्रै ६५ लाख रकम बिनियोजन भएको थियो रे’ स्थानीय वीरबहादुर रोकाया भन्छन्, ‘त्यो रकम कहाँ गयो, कति काम भयो कति फि्रज भयो हामीलाई केही थाह छैन ।’ उनले विद्युत प्राधिकरणमा कामै नगरी बिल मिलाएर खान्छन् कि भन्ने आफूलाई शंका लागेको बताए ।

१६ वर्षको यो अवधिमा आफूहरुले पटक-पटक ठेकेदारहरुसँग आग्रह गरेको, पटक-पटक विद्युत प्राधिकरणको दिपायल कार्यालय धाएको सम्झँदै रोकायाले थपे, ‘हाम्रो आवाज सुन्दैनन् कसैले । उनले पत्रकारहरुले पनि आफ्नो पीडा नबुझेको गुनासो गरे ।

स्थानीय नरबहादुर रोकायाको पनि यस्तै गुनासो छ । आदर्श गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले गाउँपालिकाका अध्यक्षलाई प्रश्न गरे, ‘हामी कहिलेसम्म बत्ति बाल्न पाउँछौं ?’ जवाफमा गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले भने ‘मैले विद्युत कार्यालयसँग पनि समन्वय गरेको छु, यस आर्थिक वर्षभित्रै लामिखालमा बत्ति बल्छ ।’

आफूहरु कात्तिक २४ गते विद्युत प्राधिकरणको दिपायलस्थित कार्यालयमा गएर पुनः स्मरण गराएको बताउँछन् स्थानीय धर्म रोकाया । उनले भने, ‘हामीले छिटो बत्ति बाल्नु पर्‍यो भनेर अनुरोध गरेका छौं, हाकिम साबले पनि आश्वासन दिनु भएको छ ।’ यदि फेरि पनि बिगत जस्तै लम्व्याउने काम भयो भने बाध्य भएर आन्दोलन गर्ने उनले बताए ।

चैत्रभित्रै बत्ति बाल्ने गरी काम भइरहेको बताउँछन विद्युत प्राधिकरण दिपायलमा प्रमुख कपिलदेव जोशी । ‘बिगतमा गोपघाटबाट लाइन तान्ने गरी सर्भे भएको रहेछ,’ जोशीले भने, ‘जंगल विवादका कारण उताबाट लाइन तान्न नसकिएको भन्ने मैले जानकारी पाएको छु ।’

आफू यता आएको करिब ६ महिना मात्रै भएको बताउँदै जोशीले थपे, ‘बिगतमा कहिले ठेकेदारको लापरबाही, कहिले बजेटको कमी, कहिले सामग्रीको कमीले गर्दा समस्या भएको हो भन्ने रिपोटिङ्ग मैले पाएको छु ।’

जोशीले भरसक चैत्रभित्रै नभए नयाँ वर्षमा झिलिमिली गर्ने गरी काम भइरहेको बताए । उनले भने, ‘अब धेरै ढिलो हुँदैन, समयमै बत्ति बल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment