Comments Add Comment

कांग्रेसका शीर्ष नेता कास्कीमा, एकताको सन्देश दिन अपील

६ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवार खेमराज पौडेलका पक्षमा जनमत सिर्जना गर्न नेपाली कांग्रेसका शीर्ष नेता कास्कीमा छन् ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्मका नेताहरु कास्की आएका छन् । शुक्रबार दिनभर चुनावी कार्यक्रम, सभा र र्‍यालीसमेत गरेर खेमराजका पक्षमा माहोल सिर्जना गरेका छन् । कांग्रेसको भ्रातृ संगठन दरुण दल, नेपाल विद्यार्थी संघ र शुभेच्छुक संस्थाहरुका प्रतिनिधिसमेत कास्कीको चुनावी अभियानमा सामेल भएका छन् ।

कांग्रेस शीर्ष नेताहरुले कास्कीबाट सरकारको अराजकतालाई सन्देश दिन आग्रह गरेका छन् । सभापति देउवाले निकै दुःख गरेका र पार्टीमा योगदान दिएका पौडेललाई जिताएर कांग्रेसमा एकताको सन्देश दिन कार्यकर्तालाई आग्रह गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा सरकार जनताका अधिकार कुष्ठिन गर्न तत्पर रहेको र न्यायलयसम्म हस्तक्षेत्र गरेकाले कास्की क्षेत्र नम्बर २ को निर्वाचनले सन्देश दिनुपर्ने बताए । आफूहरुले निर्विवाद नेता चुनावमा उभ्याएको भन्दै उनले सरकारलाई सच्याउन यो निर्वाचनले दबाब दिनुपर्ने धारणा राखे ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पौडेललाई जसरी पनि जिताउन लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । कास्की २ को चुनाव कांग्रेसका लागि पनि परीक्षा भएको उनले बताए । ‘यो निर्वाचनले यो पनि देखाउँछ कि जनता कांग्रेसतिर आकर्षित छैन कि छैनन्,’ कोइरालले भने, ‘कांग्रेस एक भएको ठाउँमा कसैले हराउन सक्दैन । कास्कीमा एकता देखिएको छ । यो कायम रहोस् ।’

प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर भएको टिप्पणी गरे ।

उनले यो चुनाव जितेर कांग्रेसले सन्देश दिन चाहेको बताए । ‘यो चुनावमा पनि सूर्यमा मतदान गर्नु भनेको सरकारले गरेका गलत कामलाई जनताद्वारा अनुमोदन गर्नु हो’, उनले भने, यो निर्वाचन सबै तवरबाट निष्पक्ष हुन पनि आवश्यक छ ।’

नेता शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताए ।

केपी ओली नेतृत्वको सरकार संघीयता विरोध भएको आरोप लगाउँदै उनले त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले चुनाव जित्न आवश्यक रहेको बताए । नेता कोइरालाले सरकारले चालेका सबै कदम अलोकतान्त्रिक भएको भन्दै सरकार संविधान, प्रेस स्वतन्त्रता, समावेशिता, गणतन्त्र, संघीयता मास्न उद्धत रहेको बताए । संसदमा रहेको मिडिया काउन्सिल विधेयक पास हुने क्रममा रहेकाले त्यो पास भएमा लोकतन्त्र भन्ने चिज नेपलाबाट हराउने बताए ।

अर्का नेता मिनेन्द्र रिजालले संविधानको मूल प्रस्तावनामा रहेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतमाथि हस्तक्षेप गर्दै सरकार अधिनायकवादतिर गइरहेको आरोप लगाए ।

नेता गगन थापाले रवीन्द्र अधिकारीसँग लामो समय सहयात्रा तथा दाजुभाइको सम्बन्ध रहेको स्मरण गरे ।

गणतन्त्र स्थापनाका लागि रवीन्द्रको ठूलो योगदान परेको भन्दै उनले भने, ‘रवीन्द्रको आदर र सम्मान गर्छु भनेर कसैले रवीन्द्र अधिकरीको परिवारलाई भोट हाल्छु भन्नुहुन्छ भने त्यो त गणतन्त्रकै अपमान हुन्छ । किनकी गणतन्त्रमा नातागोता हेरिँदैन ।’

जुद्धशमशेरदेखि यता कसैले नपाएको दुई तिहाई बहुमतको अवसर प्रधानमन्त्री केपी शर्मा ओलीले पाएको उनले बताए । तर २१ महिनाको सरकारले संघीयता, गणतन्त्र, समावेशीता र संविधानमाथि प्रहार गर्ने काम गरेको थापाले बताए । ‘सरकारले यो अवधिमा जे गर्नुपर्ने हो, त्यो गरेन । जे नगर्नुपर्ने हो, त्यो गर्‍यो,’ थापाले भने, ‘केही थान मान्छेलाई मुख्यमन्त्री र मन्त्री बनाउन संघीयता ल्याएका होइनौं । हेर्नुहोस् त, प्रदेशलाई कति कमजोर बनाइएको छ ।’

देशकै अभिभावक राष्ट्रपति एउटा पार्टीको नेताका रुपमा प्रस्तुत भइरहेको थापाले आरोप लगाए । देशका हरेक क्षेत्रमाथि हस्तक्षेप भइरहेको बताउँदै थापाले भने, ‘अब श्री ६ केपी शर्माको जय भन्नेबाहेक सबै जेल जाने अवस्था आउँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment