१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमा विवादबारे आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच कुराकानी हुनसक्ने बताएका छन् । तर, त्योभन्दा पहिले विभिन्न लेभलमा कुराकानी भएर टुंगिन सक्ने बताउँदै प्रधानमन्त्रीले त्यहाँबाट टुंगिएन भने प्रधानमन्त्रीको लेभलमा कुराकानी हुने स्पष्ट पारेका छन् ।
सोमबार एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भने, ‘यसमा मोदीजी र मेरोवीचमा कुरा नहुने कुरा छैन, उहाँ र मेरोवीचमा पनि कुरा हुन सक्छ । यो विभिन्न तहमा कुरा हुन सक्छ । पहिले त यो अरु लेभलबाट कुरा भएर पनि टुंगिन सक्छ । टुंगिएन भने हाम्रो लेभलमा पनि कुरा हुन्छ ।’
प्रधानमन्त्री ओलीले अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईलाई राष्ट्रियताका सवालमा गम्भीरताका बोल्न सुझाव दिए । प्रधानमन्त्रीले भने, ‘शेरबहादुरजी अथवा बाबुराम भट्टराईजी उहाँहरुले जसरी बोल्दै हुनुहुन्छ नि, अलिकति म आग्रह गर्न चाहन्छु, नेताहरुले तौलका साथ बोल्नु वाञ्छनीय हुन्छ ।’
नेपाल र भारतको सीमाविवादबारे प्रधानमन्त्री ओलीको भनाइ उनकै शब्दमा–
‘कालापानीमा सेना रहेको मैले नै पत्ता लगाएको हुँ’
यो विषय नयाँ होइन । अहिले अतिक्रमण भएको हो र ? अहिले कालापानीमा भारतीय फौज बसेको हो र ? अहिले नेपालको सीमा मिचिएको हो र ? यो त तपाईले जबदेखि हेर्नु भो नेपालको नक्शा त्यस्तै थियो होला । लिम्पियाधुरा सहितको नक्शा कहिल्यै पनि पढ्नुभएन, मैले पनि पढिनँ । लिम्बियाधुरासहितको नक्शा हामीले पढेनौं । त्रुटी त उसैबेलादेखिको रहेछ ।
यो कुरा महाकाली सम्बन्धी सन्धीको विवाद हुँदा मैले नै एउटा अध्ययन कार्यदल बनाएँ । र लिम्पियाधुराबाट महाकाली नदीको उदगम हुने रहेछ र लिम्पियाधुराबाट उदगम भएको काली नदी, त्यसको पूर्वको भाग नेपालको हो र महाकाली नदी सीमा नदी हो । यद्यपि कालीपारि, कालीवारि भन्ने विवाद पनि गर्न सकिन्छ । काली वारिको भूभागमा नेपालका राजा र तिनका सन्तानले दाबी गर्नेछैनन् भन्ने कुरालाई लिएर काली नदी सिंगै हाम्रो हो भन्ने पनि भन्न सकिने ठाउँ छ । तर, यथार्थमा त्यस्तो भएन ।
किनभने, पहिले नै १९१० मा जब टनकपुरको सिँचाईसम्बन्धी बाँध भत्किएर भारततर्फ जाने सिँचाइको नहर भत्कियो, त्यसपछि १९१६ मा बृटिश रेजिटेन्टले नेपाल सरकारलाई पत्र लेखे । १९२० मा जब सम्झौता भो, १९२८ मा बाँध तयार भयो । र, फेरि शारदाबाट पानी गयो । टनकपुर बाँध बाँधियो । यो त १९७९/१९८० देखि बाँधिन थालेको रहेछ । १९९० मा पुग्दा बल्ल थाहा भयो ।
जब नेपालतर्फ देब्रे तटबन्ध बाँधिन थालियो, नेपालको भूमिका कसरी काम भइराखेको छ भन्ने कुरा भएपछि त्यहाँबाट विवाद उठ्यो । र, हामीले त्यसबाट छानविन गर्दा कालापानीमा फौज रहेको कुरा तब निस्कियो । त्यो मैले नै छानविन गर्दाखेरि निस्किएको कुरा हो । हामीले त्यसको सेटल गर्न सकेनौं । त्यो सकेका थिएनौं ।
वीचमा विभिन्न सरकारहरु बने । हिजो पनि एउटा विद्वान पण्डितजीको वक्तव्य मैले सुनें । यो अलि तर्कपूर्ण ढंगले, यो राष्ट्रको समस्या हो । राष्ट्रिय समस्या हो यो । अहिले म प्रधानमन्त्री छु, त्यसकारण मलाई ब्लेम गर्ने विषय, अथवा मसँगको भनाभनको, जुहारीको या मलाई होच्याउने विषय मात्रै होइन होला । यो राष्ट्रको समस्या हो । राष्ट्रको भूमिसम्बन्धी प्रश्न हो । यो गम्भीर विषय होला । गम्भीर विषय हो भने त्यही गम्भीरताका साथ नेताहरुले बोल्ने गर्नुपर्छ । शेरबहादुरजी अथवा बाबुराम भट्टराईजी उहाँहरुले जसरी बोल्दै हुनुहुन्छ नि, अलिकति म आग्रह गर्न चाहन्छु, नेताहरुले तौलका साथ बोल्नु वाञ्छनीय हुन्छ ।
म त्यसस्तरका मान्छेहरुसँग त बहस पनि गर्न चाहन्न । जसलाई देशप्रति प्रेम हैन, जसको मनमा देशभक्ति छैन । जसलाई देशभक्ति एउटा देखौवा कुरा भएको छ । मेरा लागि देश देखौवा कुरा होइन । देशभक्ति देखौवा कुरा होइन । मेरा लागि देशभक्ति निष्ठाको कुरा हो । त्यसकारण म त्यस्ता नक्कली कुराहरुसँग वादविवाद गर्न चाहन्न ।
यो लामो समयदेखि क्रमशः जस्तो–पहिले लिम्पियाधुराको पार्ट अकुपाई भयो । त्यसपछि लिपुलेक र कालापानीको पार्ट अकुपाई भयो । क्रमशः भयो । विस्तारै विस्तारै । नेपालका सरकारहरुले त्यस कुरालाई अनदेखी गरे या बोल्न सकेनन् । या हीन ग्रन्थीले काम गर्यो । या हुन्छ नि, इन्फेरियोरिटी कम्प्लेक्स यस्ता कुराले काम गर्यो । जसरी भए पनि उनीहरुले राष्ट्रिय हितको सवालमा बोल्नपथ्र्यो । त्यतिबेरै भन्नपथ्र्यो कि यो त हाम्रो भूभाग हो । महाकाली नदी यो हो, हामी यहाँ तिरो उठाइराख्या छौं, यहाँका जनतासँग यो कुरा छ । हाम्रो जमीन हो भन्नुपथ्र्यो ।
त्यसो भन्दाखेरि सरकार नगिर्न पनि सक्थ्यो । सरकार गिर्छ भने पनि गिर्छ । कतिपय अवस्थामा सरकार गिर्न तयार हुनुपर्छ । अघिल्लोपटक म पनि गिरेको हो नि । सरकारबाट त मलाई पनि ढालिएको हो नि त । कारण थिए होला नि । मैले केही गरें होला । नाकाबन्दीको विरोध गरें होला । नाकाबन्दीको विरोधमा डटें होला । उत्तरतिरबाट पनि ट्रान्सपोर्ट ट्रान्जिट खालें होला । नाकाहरु खोलें होला । नयाँ उचाइमा नेपाललाई लाने काम गरें होला । यस्तै कारणहरु त होलान् सरकार ढल्नाका । ढल्यो होला । ढल्छ सरकार । तर, राष्ट्रिय हितको मूल्यमा सरकार ढल्छ कि ढल्दैन भन्ने कुराले कुनै अर्थ राख्दैन । सीमा जोगाउनुपर्छ कि म सरकारमा रहनुपर्छ ? सीमा जोगाउनका लागि भक्ति थापा तोपको मोहोरीमा गएर उडेका होइनन् ? बलभद्रहरु पानी खान नपाएर लडेका होइनन् त्यही सीमानाका लागि ? अमरसिंह थापा ७४ वर्षको उमेरमा तरबार लिएर मैदानमा उत्रिएका होइनन् ?
त्यसकारण मेरो पद हैन, मेरो ज्यान हैन, राष्ट्र हो । राष्ट्रको भूमि हो । अहिले कुरा उठेको यही भावनाका साथ काम गर्न सक्ने प्रधानमन्त्री छ भनेरै होला । पदको वास्ता नगर्ने, पदभन्दा माथि ठान्ने प्रधानमन्त्री छ भन्ने ठानेरै होला ।
यसमा मोदीजी र मेरोवीचमा कुरा नहुने पनि कुरा छैन । उहाँ र मेरो वीचमा पनि कुरा हुन सक्छ । यो विभिन्न तहमा कुरा हुन सक्छ । पहिले त यो अरु लेभलबाट कुरा भएर पनि टुंगिन सक्छ । टुंगिएन भने हाम्रो लेभलमा पनि कुरा हुन्छ ।
हामीसँग प्रमाण भइसकेपछि हामीलाई कुरा गर्न अप्ठ्यारो त भएन । अनुमान आग्रहमा कुरा गर्न नपरेर तथ्य प्रमाणमा कुरा गर्न परेपछि … हामीसँग पुारना नक्शाहरु छन् । हामीसँग तिरो तिरेका रसिदहरु छन् । हामीसँग व्यक्तिहरु नै छन् खूद । त्यहाँ गएर जनगणना गरेका व्यक्तिहरु छन् । ती जनगणना गरेका टिपोटहरु हामीसँग छन् । तथ्यांकहरु छन् भने यसमा हामीले धेरै अप्ठ्यारो मान्नुपर्ने केही छैन ।
अब अर्को कुरा के हो भने यसलाई एउटा व्यक्तियत हिरोइज्म देखाउनुपर्ने, आफूलाई कुछ देशभक्त देखाउनका लागि हरकत गर्नुपर्ने, उपलब्धिहीन खालका कुराहरु गर्नुपर्ने अथवा उत्ताउला कुरा गरेर वातावरणलाई बिगार्नु, बिथोल्नुपर्ने कुनै आवश्यकता छैन । हामीले गम्भीररुपमा कुरा गर्नुपर्छ । तथ्य प्रमाणका आधारमा कुरा गर्नुपर्छ । आफ्नो जमीन फिर्ता लिनुपर्छ । आफ्नो जमीनबाट बैदेशिक सेना फिर्ता पठाउनुपर्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4