१० मंसिर, गोरखा । गोरखामा चेपाङ विद्यार्थीका लागि आवासीय सुविधासहितको छात्रावास सञ्चालनमा आएको छ ।
गण्डकी गाउँपालिका–६ भुम्लिचोकको तोमनडाँडा आधारभूत विद्यालयले गरिब तथा असहाय चेपाङ बालबालिकाको लागि आवासीय सुविधासहितको छात्रावास सञ्चालनमा ल्याएको हो ।
छात्रावास निर्माणका लागि चिनियाँ दूतावासबाट ८० लाख, सांसद बिकास कोषबाट १५ लाख र गाउँपालिकाबाट पनि आर्थिक सहयोग भएको विद्यालयका प्रधानाध्यापक कुल बहादुर चेपाङले जानकारी दिए ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइको पहलमा चिनियाँ राजदूतावासबाट छात्रावास निर्माणको लागि उक्त रकम सहयोग भएको उनले बताए । सांसद हरिराज अधिकारीको गत वर्षको सांसद बिकास कोषबाट प्राप्त भएको १५ लाखबाट भवनमा झ्याल ढोका हालेर प्लाष्टर गर्ने काम भएको उनले बताए ।
छात्रावास व्यवस्थापनका लागि गाउँपालिकाले गत आर्थिक वर्ष पाँच लाख रकम विनियोजन गरेको बताउँदै उनले भने, ‘त्यो रकमले छात्रावासमा बस्ने विद्यार्थीका लागि ओड्ने ओछ्याउने, फर्निचर लगायतका सामानहरु जोड्यौं ।’
जिल्लाभर छरिएर रहेका कक्षा १२ सम्म अध्ययन गर्ने चेपाङ बालबालिका छात्रावासमा बस्न मिल्ने उनले बताए । छात्रावासमा विशेष गरेर अभिभावक विहीन अतिविपन्न बालबालिकालाई प्राथमिकतामा राखेर बस्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक चेपाङले बताए ।
‘अहिले गण्डकी गाउँपालिकाको वडा नम्वर १, २, ६, ७ र शहिद लखन गाउँपालिकाको वडा नम्वर ४ का गरी कुल २१ जना चेपाङ विद्यार्थी छात्रावासमा छन्,’ उनले भने, ‘वर्षमा पाँच जनाको दरले थपेर ४१ जना सम्म पुर्याउने योजना छ ।’ जेहेन्दार, गरिब र अभिभावक विहीन बालवालिकाका लागि कोटा छुट्याउने उनले बताए । छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीको पठनपाठनमा पनि सुधार भएको उनको भनाइ छ ।
‘आर्थिक समस्या अनि घरदेखि विद्यालय टाढा हुँदा धेरै चेपाङ बालिबालिकाहरुले बीचमै विद्यालय छाड्ने क्रम बढ्यो,’ विद्यालयका प्रधानाध्यापक चेपाङले भने, ‘त्यसैले आवासीय सुविधासहितको छात्रावास सञ्चालन गरेका हौं ।’ चालु शैक्षिक सत्रबाट छात्रावास सञ्चालन गरिएको उनले बताए ।
गाउँपालिकाले यस वर्ष पनि छात्रावास सञ्चालनका लागि रकम उपलब्ध गराएको उनले बताए । चेपाङ बिकास कार्यक्रम अन्तर्गत छात्रावास व्यवस्थापनका लागि रकम विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले बताए । गाउँपालिकाले दिएको रकम पर्याप्त नभएको विद्यालयको गुनासो छ । ‘अहिले एक वर्षमा करिब सात लाख रुपैयाँ खर्च हुन्छ, पैसा थपिदिन गाउँपालिकासँग माग पनि गरेका छौ,’ चेपाङले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4