Comments Add Comment

होटल व्यवसायमा बहार, सागमा आएका खेलाडीले कोठा भरिभराउ

१२ मंसिर, काठमाडौं । एसियाली विकास बैंकले चौमासिक रुपमा गर्दै आएको पोर्टफोलियो रिभ्यू अघिल्लो साता अर्थ मन्त्रालयको हलमा आयोजना गर्‍यो । सामान्यतया यो कार्यक्रम पाँचतारे होटेलमा आयोजना हुने गरेको थियो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार जुन दिन बैंक र अर्थ मन्त्रालयको सहमतिमा कार्यक्रम तय भएको थियो, त्यो दिन कार्यक्रमका लागि होटेलमा हल नै उपलब्ध हुन सकेन । मंसिर लागेसँगै तारे होेटेलदेखि पार्टी प्यालेसका हलसमेत ‘प्याक’ छन् ।

होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार साना–ठूला सबै होटेल अहिले भरिभराउ छन् । ‘मान्छेको क्रयशक्ति बढेको छ, घरमा पार्टी आयोजना गर्दा सबै जुटाउन झन्झट हुन्छ,’ उनी भन्छन्, ‘त्यसकारण स–सानो इभेन्ट पनि होटेलमै आयोजना हुनाले हल पाउन मुस्किल छ ।’

आर्मी अफिसर्स क्लव बन्दको प्रभाव

अहिले आर्मी अफिसर्स क्लवको हलमा सर्वसाधारणले पार्टी–भोज तथा कार्यक्रम आयोजना गर्न पाउँदैनन् । काठमाडौंमा निजी क्षेत्र र धनाढ्य परिवारबाट हुने धेरै कार्यक्रम यहाँ आयोजना हुन्थे ।

ठूलो हल, पर्याप्त पार्किङ र सुरक्षाका कारण पनि यो स्थान उपयुक्त थियो । यो हल सर्वसाधारणका लागि बन्द भएपछि तारे होटेललाई फाइदा भएको छ । त्यसमा पनि निरन्तर भइरहेका दुइपक्षीय बैठक, छलफलले पनि पाँचतारे होटेलका हलहरु व्यस्त रहेको शाहले बताए ।

सागले भरिए तारे होटेलका कोठा

नोभेम्बर अन्त्य र डिसेम्बरको शुरुवाती साताबाट क्रमशः होटेलका कोठा खाली हुन थाल्छन् । किनकी पदयात्रा र पर्वतारोहणमा आएका धेरै पर्यटक क्रमशः घर फर्कन्छन् । त्यसपछि उनीहरुको नयाँ वर्षको तयारी सुरु हुन्छ । यही बेला आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग)ले भने होटेल व्यवसायलाई गुलजार बनाएको छ ।

होटेल संघ नेपाल (हान)का सदस्य तथा साग आवा कमिटिका संयोजक युवराज श्रेष्ठका अनुसार सागमा सहभागी हुने अतिविशिष्ठ, विशिष्ठ अतिथि, अफिसियल, खेलाडीलगायतका लागि २ हजार २ सय वटा कोठा बुक गरिएको छ । २६ नोभेम्बरबाट १० डिसेम्बरसम्म नै यी कोठामा पाहुना भरिभराउ हुनेछन् ।

‘एकसाथ यति ठूलो संख्यामा विजनेश पाउँदा होटेल व्यवसायमा उत्साह थपिएको छ,’ श्रेष्ठले भने, ‘भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजित खेल मेलालाई हामी पनि भरपूर उपयोगी बनाउन चाहन्छौं ।’

भीभीआइपी–भीआइपी पाँचतारेमा

सागमा सहभागी हुन आउने भीभीआइपी–भीआइपीहरुलाई पाँचतारेमा बस्ने व्यवस्था मिलाइएको छ । त्यसमा पनि सोल्टी होटेलमा धेरै पाहुना बस्ने भएका छन् । यसबाहेक अन्नपूर्ण, याक एण्ड यति, एभरेष्ट होटेल, हिमालय होटेललगायतमा विशिष्ट पाहुनाहरु बस्नेछन् । खेलाडीहरुका लागि धेरैजसो तीन तारे होटेलमा व्यवस्था गरिएको छ ।

‘खेल जहाँ हुँदैछ, त्यहीँको पायक पर्ने होटेलमा खेलाडीलाई राख्ने व्यवस्था मिलाइएको छ,’ श्रेष्ठले भने ।

उनका अनुसार सातादोबाटोमा आयोजना हुने खेलका खेलाडीलाई भ्यू भृकुटी, गोदावरी रिसोर्टलगायतमा राख्ने व्यवस्था मिलाइएको छ । दशरथ रंगशालामा हुने खेलका खेलाडीलाई रोयल सिङगी, होटेल उड्ल्याण्ड, होटेल मनाङ, वैशाली होटेललगायतमा रहने गरी व्यवस्थापन मिलाइएको छ । गल्फ खेलाडीहरुलाई बौद्धमै बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पोखरामा समेत स्तरीय होटेलहरुमा खेलाडी बस्नेछन् ।

भ्रमण वर्षलाई अपेक्षा

खेलाडीहरु हरेक मुलुकका लागि सेलिब्रेटी हुन्छन् । यसपटक नेपालमा भेला हुने करीव ३ हजार २ सय ९ जना खेलाडीले एकपटक कम्तिमा नेपाल आएको जनाउ दिनेछन् । नेपालको होटेल, खेल मैदान र यहाँको प्राकृतिक सुन्दरतामा रमाएका तस्वीरले नेपाल भ्रमण वर्षलाई ठूलो सहयोग पुग्ने अपेक्षा व्यवसायीले लिएका छन् ।

यस पटकको सागका केही खेल पोखरा र जनकपुरमा समेत आयोजना हुँदैछन् । यसबाट मोफसलले समेत आफ्नो पहिचान स्थापित गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment