Comments Add Comment

प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो, भन्छन्- मलाई के भएको छ सबै बताइदिनुस्

१३ मंसिर, काठमाडौं । आजका पत्रिकामा प्रधानमन्त्रीको स्वास्थ्य, मन्त्रालयको कार्यप्रगति र सवारी दुर्घटनासँग सम्बन्धित समाचार प्राथमिकताका साथ छापिएका छन् ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्लेटलेट्स चढाइएको समाचार छापेको छ । एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई बिहीबार प्लेटलेट्स चढाइएको हो ।

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ ।

प्लेटलेट्स चढाइएकोबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु परेको हो । प्रधानमन्त्रीलाई डायलासिसको आवश्यकता पहिलेभन्दा झन् बढेको पनि चिकित्सकहरुले बताएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले पनि प्रधानमन्त्रीकै स्वास्थ्यबारे समाचार छापेको छ । चिकित्सकसँग प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे सबै कुरा बोलिदिन चिकित्सकहरुलाई आग्रह गरेको समाचारमा उल्लेख छ । अन्नपूर्ण लेख्छ- आफ्नो स्वास्थ्यमा सुधारलगत्तै प्रधानमन्त्री केपी ओली जिज्ञासु हुन थालेका छन् । उपचार टोलीका संयोजक डा. अरुण सायमीसँग उनी सोध्छन्, ‘के छ खबर ? मिडियामा केके आइराछन् ?’ डा. सायमीले सामान्य ब्रिफिङ गर्छन् । प्रधानमन्त्री ओलीसँग उनको ठट्टा चल्छ ।

अन्नपूर्ण थप लेख्छ- प्रधानमन्त्रीसँग सामान्य कुराकानी भइरहेका बेला बुधबार एक सञ्चारकर्मीको फोन आयो । ती सञ्चारकर्मीले आरोप लगाए, ‘तपाईंहरुले प्रधानमन्त्रीको स्वास्थ्यबारे कुरा लुकाउनुभयो ।’ डा. सायमीले सबै कुरा सार्वजनिक भएको स्पष्ट पार्दै प्रतिवाद गरे । दुई जनाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरा बोल्दिनुस् । जे भइरहेको छ, जवाफ दिनुस् ।’

अन्नपूर्णमा भारतीय पक्षको आनाकानीले नेपाली ग्यास व्यवसायीको झण्डै दुई अर्ब डुबेको समाचार पनि छ ।

प्रदेश १ का सबै मन्त्री ऋणमा !

कान्तिपुर दैनिकले कार्यसम्पादन मूल्यांकनको चार महिने समीक्षाको रिपोर्ट सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कामलाई तीव्रता दिन भन्दै यो आर्थिक वर्षको सुरुमै मन्त्री र सचिवहरुसँग कार्यसम्पादन मूल्यांकन गरे पनि पहिलो चार महिनाको प्रगति निराशाजनक देखिएको छ । आर्थिक वर्षको पहिलो चार महिनामा कुनै पनि मन्त्रालय र निकायले आफैंले निर्धारण गरेको लक्ष्यसमेत प्राप्त गर्न सकेनन् । कान्तिपुरले लेखेको छ, ‘अन्य मन्त्रालय र निकाय त परै जाओस्, स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नै आधाभन्दा बढी काम पूरा गर्न सकेन ।’

कान्तिपुरमै प्रदेश १ का सबै मन्त्रीहरुले आफू ऋणमा रहेको विवरणसहित सम्पत्ति विवरण पेस गरेको समाचार पनि छ ।

नागरिक दैनिकमा ‘जेब्राक्रस कि मृत्युरेखा ?’ शीर्षकको मुख्य समाचार छ । समाचारको सारमा लेखिएको छ, ‘कतिपय मुलुकमा जेब्राक्रसमा सवारीसाधनले ठक्कर दिएर पैदलयात्रुको मृत्यु भएमा हत्या मानी चालकलाई सोहीअनुसारको कारबाही हुन्छ । नेपालमा भने जेब्राक्रस वा अन्यत्र ठक्कर दिए पनि एकै किसिमको सजाय हुने भएकाले चालकको लापरबाही कम भएको छैन ।’

राजधानी दैनिकले जारको पानी पिउन अयोग्य रहेको, कारोबार दैनिकले ब्रोडब्याण्ड नीतिले तोकेभन्दा चार गुणासम्म इन्टरनेट महँगो भएको र नेपाल समाचारपत्र दैनिकले सांघाई कोअपरेसन संगठनको सदस्यताका लागि नेपालले लबिङ गरेको समाचार छापेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment