Comments Add Comment

थप भिटामिन र क्याल्सियमसहितको नयाँ दूध बजारमा ल्याउँदै डीडीसी

१३ मंसिर, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मानव शरीरका लागि अतिआवश्यक तीन प्रकारका पोषक तत्वहरु थपेर नयाँ ब्रान्डको दूध बजारमा ल्याउने भएको छ । भिटामिन ए, भिटामिन डी र क्याल्सियमको अतिरिक्त मात्रासहित नयाँ ब्राण्डमा दूध उत्पादन सुरु भइसकेको संस्थानले जनाएको छ ।

उक्त दूध उत्पादनको पाइलट परियोजना सुरु भएको संस्थानका प्राविधिक राजेन्द्र अधिकारीले बताए । अधिकारीका अनुसार छिट्टै थपिएको भिटामिनसहित डीडीसीको नयाँ दूध बजारमा आउनेछ । यो दूध साविकको भन्दा केही महंगो हुने संस्थानले जनाएको छ । अहिलेको गुणस्तरको दूध पनि बजारमा यथावत रहनेछ । यसबाट पोषिलो दूध खान चाहने उपभोक्ताले छनोटको विकल्प पाउनेछन् ।

दूधमा भिटामिन ए, भिटामिन डी र क्याल्सियमको मात्रा थप्न संस्थानले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मागेको अनुज्ञ पत्रको निवेदन स्वीकृत भएपछि परीक्षण उत्पादन थालिएको हो ।

पाँच सय एमएलको आधी लिटरको पोका दूध बजारमा ल्याउने तयारी गरिएको संस्थानका बजार व्यवस्थापन तथा मूल्याङ्कन विभागका बजार विकास अधिकृत संजिव कुमार झाले जानकारी दिए ।

किन अतिरिक्त भिटामिन ?

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर खत्रीका अनुसार भारत, उत्तर अमेरिका र यूरोपीयन मुलुकमा खाद्य आहारमा अतिरिक्त अर्थात मानव शरीरलाई थप आवश्यक पर्ने तत्व मिसाउने गरिएको छ । बदलिदो खानपान, कोठा वा घरभित्र मात्रै बसेर काम गर्ने परम्परा तथा आहार शैलीले शरीरमा अति आवश्यक तत्व कम भयो भने खाद्य पदार्थमार्फत भिटामिनजन्य तत्व थप गरिने प्रचलन रहेको उनी बताउँछन् ।

नेपालीमा यसअघि अनिवार्य गरिएको नुनमा आयोडिन र ठूला मिलमा पिसिएको पिठोमा आइरन जस्तै दूधमा भिटामिन ए, भिटामिन डी र क्याल्सीयम थप हुने खत्रीले बताए ।

‘शरिरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन तथा हड्डीहरु बलियो बनाउन यस्तो आवश्यक हुन्छ,’ उनले भने ।

घामबाट जोगिन अत्यधिक मात्रामा क्रिम पाउडर प्रयोग गर्ने, बाक्ला र पूरा ढाकिने लुगा लगाउने, घाम नलाग्ने ठाउँमा लामो समय काम गर्ने जस्ता मानिसको ब्यवहारले स्वास्थ्य समस्या बढेको अनुसन्धानपछि दूधमा प्रयोग थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

कुन तत्व कति थपिन्छ ?

दुग्ध विकास संस्थानले वितरण गरेको अथवा बजारमा पाईने सबै खाले दूधमा भिटामिन, पोटासियम, क्याल्सियम, कार्बोहाइड्रेड पाईन्छ । किसानहरुबाट संकलन भएर बजारसम्म आउने दूधमा गाई र भैंसीको दूध मिसावट हुने लगायतका विविध कारणले यी तत्वको मात्रामा ह्रास आउन सक्ने संस्थानको बुझाइ छ ।

खासगरी स्कुल तहका बालबालिकामा भिटामिन ए, भिटामिन डी र क्याल्सियमको मात्रा कम रहेको विभिन्न अनुसन्धानले देखाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय थालेको संस्थानले जनाएको छ ।

खाद्य संस्थानले पाइलट परियोजनाको रुपमा बढाएको नयाँ उत्पादन अन्तर्गत आधी लिटरको ५०० एमएल दूधमा ६ सय माइक्रोग्राम भिटामिन ए, पाँच माइक्रोग्राम भिटामिन डी र १,०६५ माइक्रोग्राम क्याल्सियम थप हुनेछ ।

नेपालको समस्या र अन्तर्राष्ट्रिय मापदण्ड तथा प्रचलन अनुसार संस्थानले विभागसँगको समन्वयमा दूध उत्पादन गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment