Comments Add Comment

भक्तपुरमा नेकपालाई धक्का : एमालेको अन्तर्घात कि माओवादी अनुहारप्रति एलर्जी ?

१५ मंसिर, काठमाडौं । भक्तपुरको प्रदेशसभामा चुनाव हारेपछि नेकपाका कार्यकर्ता सामाजिक सञ्जालमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जनताले नचिनेका र अघिल्लो चुनावमा ‘बागी’ उठेका पूर्वमाओवादीका डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण नेकपाले सो क्षेत्र गुमाएको पूर्वएमाले पक्षको आरोप छ । तथापि आफू बागी नभएर त्यागी उम्मेदार भएको ढकालको दाबी रहँदै आएको छ ।

पूर्वएमालेहरुले डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण भक्तपुर गुमाउनुपरेको भन्दै गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । उनीहरुले पार्टीमा भागबण्डा खोज्न तर जनतामा मत लिने ठाउँमा लोकप्रिय व्यक्ति छाडेर टिकटमा भागवण्डा नगर्न नेतृत्वलाई खबरदारीसमेत गरेका छन् ।

उम्मेदवारका कारण पराजित भएको टिप्पणीहरु आइरहेपछि राष्ट्रिय युवा संघका अध्यक्ष दीपशिखाले भने डीपी ढकालको पराजयप्रति लक्षित गर्दै लेखेका छन्, नेकपाभित्र एउटा प्रवृति छ, आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने । चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ ।

दीपशीखालाई जवाफ दिँदै अनेरास्ववियुकी कार्यकर्ता अस्मिता थापा लेख्छिन्, टिकट वितरणका बेला पूर्वमाओवादी पक्षले भागबण्डा नखोजेको भए भक्तपुरको प्रदेशसभा र दाङ तथा चितवनका दुई वडा गुमाउने थिएनन् । पार्टीभित्र भागबण्डा खोज्नुस्, तर जनताको मत लिने ठाउँमा जित्ने मान्छे रोज्नुस् कमरेड । डीपी ढकालजस्ता तपाईका प्रिय कमरेडलाई समानुपातिकमा राख्नुस् ।’

तत्कालीन एमाले एक्लैले जितेको चाँगुनारायण नगरपालिकामा माओवादीसमेत मिलेको अवस्थामा नेकपा हारेको छ । सो क्षेत्रमा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछानेले जितेका थिए । डीपी ढकाल माओवादीको उम्मेदवार बनेर ७८४ मत पाएका थिए । यद्यपि उनले अन्तिममा आफ्नो उम्मेद्वारी नरहेको भन्दै एमालेका उम्मेदवारलाई मत मागेका थिए ।

ढकाल यसपटक कांग्रेसका कृष्ण भँडेलसँग दुई हजारभन्दा बढी मतान्तरमा पराजित भएका छन् । उनले यसअघि एमालेका उम्मेदवारले प्राप्त गरेको मतसमेत जोगाउन सकेनन् । भक्तपुरको पराजयले सत्तारुढ नेकपालाई धक्का लागेको छ ।

यो पनि पढ्नुहोस भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

डीपी ढकाललाई उम्मेदवार बनाएपछि भक्तपुरको प्रदेशसभामा नेकपा हार्ने आँकलन पूर्वएमाले पंक्तिले गरिसकेको थियो । जिल्लाका नेताहरुले उम्मेदवारमा विचार गर्न शीर्षनेतालाई आग्रह पनि गरे । तर, अध्यक्ष प्रचण्डले जोडबल गरेपछि डीपीले टिकट पाए ।

डीपीले टिकट पाउनासाथ चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रकी पत्नीसहित जिल्लाका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरे ।

भक्तपुर नगरपालिकाको एउटा वडा बाहेक चाँगुनारायण नगरपालिका सिंगै सो क्षेत्रमा पर्छ । चाँगुनारायण नगरपालिका एमालेले जितेको ठाउँ हो । तर, काँठे र ग्रामीण भेगका जनताले विगतमा एमाले भएर होइन स्थानीय जनताबीच परिचित भएका कारण हरिशरण लामिछानेलाई मत दिएका थिए । काभ्रेका डीपी ढकालले भक्तपुरलाई कार्यक्षेत्र बनाएर माओवादी राजनीति गरे पनि उनी जनता र कार्यकर्ता पंक्तिमा राम्रोसँग परिचित थिएनन् । भलै, उनी नेकपा भक्तपुरका सचिव हुन् ।

उता कांग्रेसका उम्मेदवार भँडेल स्थानीय र लोकप्रिय व्यक्ति थिए । उनीसँग भिड्न नेकपाको स्थानीय कमिटीले रमेश बुढाथोकीलाई उम्मेदवार बनाउन नेतृत्वलाई सुझाव दिएको थियो । तर, डीपीले प्रचण्ड साथ पाएर टिकट प्राप्त गरे । जिल्ला कमिटीले पनि ढकालकै नाम एक नम्बरमा राखेर केन्द्रमा पठायो ।

चुनाव हार्ने निश्चित भए पनि पूर्वएमाले नेताहरु डीपीलाई जिताउन खटिएको बताउँछन् । महेश बस्नेतको क्षेत्र अर्को भए पनि चुनाव अवधिभर डीपीलाई लिएर घरघर डुलेका थिए । माधव नेपाल, वामदेव गौतमलगायतका नेता पनि भक्तपुरमा खटिएका थिए ।

भक्तपुरका एकजना पूर्वएमाले नेताले भने, टिकट डीपीजीले ल्याएपछि प्रचण्डका घरबेटीको फोटो काण्डले भक्तपुरमा नेकपालाई रक्षात्मक बनायो ।

डीपी ढकालले सामाजिक सञ्जालबाट सबैलाई धन्यवाद र बिजेतालाई बधाइ बाहेक अरु कुनै टिप्पणी गरेका छैनन् । तर, उनीनिकट पूर्वमाओवादी कार्यकर्ताले भने मेयर सोम मिश्र पक्षधरको अन्तर्घात र अन्तिम समयमा कांग्रेसले मजदुर किसान पार्टीको मत किनेपछि चुनाव हारिएको दाबी गरेका छन् । मजदुर किसान पार्टीले अघिल्लो चुनावमा ल्याएको भन्दा करिब ३ हजार मत कम पाएको छ ।

यो चुनावले स्थानीय मान्छेलाई नै उम्मेदवार बनाउनुपर्ने रहेछ भन्ने पाठ उपचुनावले सिकाएको नेकपाका एक केन्द्रीय नेता बताउँछन् । भक्तपुरको जनमत नेकपाको उम्मेदवार छनोटका विरुद्ध आएको उनको तर्क छ । माओवादी भनेपछि उपत्यकाबासीमा एलर्जी कायमै रहेको उनी बताउँछन् ।

तर, पूर्वमाओवादी पक्षका नेताहरु भने भक्तपुरको चुनावी परिणामले पार्टी एकता स्वीकार गरे पनि पूर्वएमालेले माओवादीलाई स्वीकार गर्न अझै नसकेको टिप्पणी गर्न थालेका छन् । माओवादीको भोट लिएर जित्ने तर माओवादीलाई भोट दिन नचाहने प्रवृत्ति पूर्वएमाले पंक्तिमा कायमै रहेमा आउने चुनावहरु झनै चुनौतिपूर्ण हुने पूर्वमाओवादी नेताहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment