Comments Add Comment

विवाह पञ्चमीको रौनक : खचाखच भरियो जनकपुरधाम

१५ मंसीर, जनकपुरधाम । विवाहपञ्चमी महोत्सवका कारण जनकपुरधाममा ठूलो भिड लागेको छ । पछिल्लो एक सातादेखि रहँदै आएको भिड आइतबार अत्यधिक बढेको हो ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन् श्रद्धालु भक्तजनहरु भारत र नेपालको विभिन्न ठाउँबाट जनकपुरधाम आइपुगेका छन् । विवाहपञ्चमी आइतबार भव्यतापूर्वक मनाइँदैछ । भगवान राम र सीताको विवाहको स्मरण गर्दै विवाहपञ्चमी मनाइँदैछ ।

महोत्सवमा आएका भक्तजनहरुले गर्दा जनकपुरधाम भरिभराऊ बनेको छ । प्रत्येक चोक र सडकहरुमा बढेको भिडले सवारी आवागमन कठिन बनेको छ ।

जानकी मन्दिर छिर्ने सडकहरुमा साइकल चलाउन समेत बन्देज गरिएको छ । पैदल भक्तजनलाई मात्रै प्रवेश गर्न दिइएको छ । नेपालको बिभिन्न जिल्लाबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन् भने भारतको अयोध्याबाट हजारौं संख्यामा जन्ति, साधुसन्त जनकपुरधाम महोत्सवमा सहभागी भएका छन् ।

भारतको अयोध्याबाट चार दिन अघि नै पाँच सयभन्दा बढीको संख्यामा जन्ती आइसकेका छन् । जन्ति आएपछि पनि भारतबाट श्रद्धालुहरु आउने क्रम जारी रहेको छ । भारतबाट सयौं बस, सयौं जिप र अन्य सवारीसाधनमा भारतीय श्रद्धालुहरु जनकपुरधाम आएका छन् ।

भारतको अयोध्यामा राम मन्दिर निर्माण गर्न अदालतले आदेश दिएपछि भारतबाट यस पटक ठूलो संख्यामा हिन्दुहरु जनकपुरधाम आएका छन् । भगवान रामको ससुराली जनकपुरधाम रहेकाले जनकपुरधाममा समेत राम मन्दिर बनाउने उल्लास मनाउने हेतुले भारतीयहरु अत्यधिक रुपमा जनकपुरधाम आएका छन् ।

श्रद्धालुका कारण जनकपुरधाम खचाखच भरिएपछि अधिकांशलाई सडकमै रात बिताउनु परेको छ । सार्वजनिक शौचालयको व्यवस्था नगर्दा जनकपुरधामको यत्रतत्र खुल्ला दिशापिसाव गर्ने गरिएको छ ।

विवाहपञ्चमीका दिन प्रदेश २ सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

दिउँसो स्वयंवर, राति विवाह

विवाहपञ्चमीको अवसरमा आइतबार भगवान राम र सीताको प्रतिकात्मक स्वयंवर र विवाह आयोजना गरिँदैछ ।

राम र जानकीलाई डोलामा बसाएर जानकी मन्दिरबाट बाह्रबिघा (रंगभूमी) मैदानमा ल्याएर यहाँ स्वयंवर गरिनेछ । स्वयंवरको अवसरमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने कार्यक्रम समेत रहेको छ ।

स्वयंवरपछि डोलालाई जनकपुरधामको परिक्रमा गराई पुनः जानकी मन्दिरमा लगिनेछ । जहाँ वैवाहिक कार्यक्रमको आयोजना गरिनेछ । झाँकी, किर्तन, भजनसहित पञ्चेबाजा र मिथिलाको बाजा ढोल पिपही समेत बजाएर डोला निकालिएको छ ।

विवाहका लागि जानकी मन्दिरमा भव्य मडवा (मण्डप) तयार पारिएको छ । शनिबार गंगा सागर पोखरीमा मटकोर गरी ल्याएको माटो हालेर मण्डप तयार पारिएको छ । मण्डपलाई भव्य तरिकाले सजाइएको छ ।

राम र सीताको विवाह गरिँदा भारतको अयोध्यास्थित राम मन्दिरका महन्थ राम गिरीले भगवान रामका बुबा राजा दशरथको र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सीताको पिता राजा जनकको भूमिका निभाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment