Comments Add Comment

उपचुनावको अन्तिम परिणाम : नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी (सूची सहित)

नेकपाले ३ गाउँपालिका थप्दा कांग्रेसलाई एक प्रदेश र उपमहानगरपालिकाको राहत

१६ मंसिर,काठमाडौं । देशभरका ३७ जिल्लामा भएको उपनिर्वाचनमा एक उपमहानगरपालिका र एक प्रदेशसभा सदस्य गुमाएर पनि समग्र नतिजामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बर्चश्व कायम राखेको छ ।

५२ स्थानमा भएको उपचुनावको अन्तिम परिणाम आउँदा नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्ष सहित ३० स्थानमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरको मेयर सहित १३ स्थान सुरक्षित गरेको छ ।

नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको छ । त्यस्तै यसअघि कहिल्यै नहारेको धरान उपमहानगरपालिका पनि नेकपाले गुमाएको छ ।

नेकपालाई दुई स्थान फाइदा

नेकपाले प्रतिनिधिसभा सहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान उपमहानगरपापिका वडा नम्बर ७ सहित २४ वडाध्यक्ष नेकपाले जितेको छ ।

बाग्लुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने प्युठानको ऐरावत गाउँपालिका ३ को वडाध्यक्षमा स्थानीय नेकपा नेताहरुको समर्थनमा उम्मेदवार बनेका बागी उम्मेदवारले जितेका छन् ।

नेकपा र नेकपा समर्थित उम्मेदवार सहित ३२ स्थानमा वामपन्थीले जितेका छन् । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पनि नेकपाले जितेको छ ।

उपचुनाव भएका ५२ मध्ये २८ स्थान नेकपाबाट निर्वाचित जनप्रतिनिधिको निधनका कारण खाली भएका थिए । यस हिसाबले समग्र नतिजामा नेकपाले २ स्थान थप गरेको छ । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष थप गर्दा एउटा प्रदेशसभा र उपमहानगरपालिका गुमाएको छ ।

कास्की–२ मा विद्या भट्टराईले नेकपाको जितलाई निरन्तरता दिँदा भक्तपुरको प्रदेशसभा पार्टीले जोगाउन सकेन । त्यस्तै दाङको प्रदेशसभामा फराकिलो मतान्तरले जित निकाल्दा धरान जस्तो गढमा भने नेकपाले जोगाउन सकेन ।

मतगणनाको पछिल्लो परिणाम अनुसार दाङ–३ (ख) मा नेकपाकी विमलाकुमारी खत्री ५ हजार भन्दा बढीको फराकिलो मतान्तर सहित प्रदेशसभा सदस्य निर्वाचित भएकी छन् । यसअघि सो क्षेत्रमा नेकपाकै उत्तरकुमार ओली निर्वाचित भएका थिए ।

त्यस्तै,बागलुङको क्षेत्र नम्बर २ ख मा वाम गठबन्धनका खिमविक्रम शाही करीव २ हजार मतान्तर सहित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । देशका तीनवटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा भक्तपुर १ (क) मा यसअघिनै कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भए छन् ।

उपचुनाव भएका तीन गाउँपालिका अध्यक्षमध्ये पाँचथरको फाल्गुन्द गाउँपालिकामा नेकपाका वीरवहादुर कुरुम्बाङ बिजयी भएका छन् । यसअघि त्यहाँ नेपाली कांग्रेसका अमर नेम्वाङ बिजयी भएका थिए ।

त्यस्तै संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजवहादुर पोखरेल बिजयी भएका छन् । यसअघि पनि सो गाउँपालिकामा नेकपालेनै जितेको थियो । नेकपाले यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि विक्रम चौधरीलाई निर्वाचित गराउन सफल भएको छ ।

हुम्लाका खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रुपा शाही निर्वाचित भएकी छन् । यसअघि सो गाउँपालिकामा कांग्रेसले जितेको थियो । कांग्रेसले दुई गाउँपालिका र राजपाले एक गाउँपालिका गुमाउँदा नेकपाले तीन गाउँपालिका थप गरेको हो ।

एक स्थान गुमाए पनि कांग्रेस फाइदामै

कांग्रेसका लागि यो उपचुनाव धरान र भक्तपुरको बिजयका कारण सुखद रह्यो । तर कांग्रेसको गढ मानिने पाँचथरको फाल्गुनन्द गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाको जित जोगाउन सकेन । यद्यपि चितवनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै निर्वाचन क्षेत्रका वडाध्यक्षमा जितेर कांग्रेसले अन्तको क्षतिपूर्ति गर्न खोजेको छ ।

उपचुनाव ५२ स्थानमध्ये १२ वटा वडाध्यक्ष, एक गाउँपालिका प्रमुख र एक उपप्रमुख कांग्रेसका उम्मेदवारको निधनका कारण खाली भएका थिए । संख्यात्मक हिसाबले कांग्रेसले उपचुनावबाट एक एक स्थान गुमाएको छ । १४ सिट कांग्रेसको खाली भएकोमा उपचुनावमा कांग्रेसले १३ स्थान जितेको छ ।

त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राजपाले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।

वडाध्यक्षतर्फ भने नेकपा र कांग्रेसले आ आफ्नो संख्या कायम राख्न सफल भएका छन् । तर नेकपाले यसअघि कांग्रेसले जितेका ७ वडामा आफ्नो जित निकालेको छ भने नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ ।

नेकपासँग गठबन्धन गरेको जनमोर्चाले यसअघि जितेको बाग्लुङ–२ (ख), प्रदेशसभा सदस्यमा पुनः जित हासिल गर्‍यो भने प्यूठानको ऐरावती–२ मा वडाध्यक्षमा यसपटक जित्न सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment