Comments Add Comment

एक मिलिसेकेन्डको जित : सन्तोषीले यसरी रचिन् इतिहास

सन्तोषी भन्छिन् : यो मेडलका लागि धेरै त्याग गरेकी छु

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्सको दश हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी छन् । उनी सागमा स्वर्ण जित्ने नेपालकै पहिलो महिला धाविका हुन् ।

यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको रजत पदक नै नेपालको उत्कृष्ट प्रदर्शन थियो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सन्तोषीले स्वर्ण जितिन्, त्यो पनि मात्र १ मिलिसेकेन्डले ।

जितपछि अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै सन्तोषीले भनिन्, ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अरु धेरै अनुभवीहरु आउनु भएको होला । त्यसैले म आफ्नो वेष्ट दिन्छु भन्ने मात्र थियो । स्वर्णबारे सोचेको थिइनँ । दौड पूरा गरिसकेपछि एकछिन त के भएँ भन्ने पत्तै भएन ।’

दशरथ रंगशालामा मंगलबार दौड सुरु गर्दादेखि नै उनले लिड गरेकी थिइन् । सुरुमा २०० मिटरजति अरुको दौड जाँचेकी सन्तोषीले गति लिन थालिन् । दौडको हरेक चरणमा उनी अगाडि थिइन् । तर अन्तिम चरणको पनि करिव ५० मिटर जति बाँकी हुँदा भारतकी कविता यादवले उछिन्न खोजिन् ।

कविताले सन्तोषीलाई देब्रे च्याम्प्दै अगाडि जान खोजिन् ।

निकै गलेकी सन्तोषीले चलाखी गरिन् । उनले कवितालाई अगाडि जान दिइन् र आफू तत्काल दायाँतिर गएर दौड अन्त्य गर्ने बेला उछिनेर अगाडि पुगिन् । ०.०१ सेकेण्डले उनी स्वर्ण जित्न सफल भइन् ।

सन्तोषीले ३० मिनेट ७ सेकेन्ड र ९४ मिलिसेकेन्डमा दौड पूरा गरेकी थिइन् भने भारतकी कविताले ३0 मिनेट ७ सेकेन्ड र ९५ मिलिसेकेन्डमा ।

सन्तोषीले छिटो निर्णय गर्दै ‘ब्रस्ट पावर’का साथ दौड अन्त्य गरेकै कारण स्वर्ण सम्भव भएको उनका प्रशिक्षक रघु वन्तले बताए । ‘सन्तोषी झण्डै सेकेण्ड भइसकेकी थिइन् तर उनले ब्रास्ट पावरका साथ दौड पूरा गरिन् ।’

सागमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण जित्दा सन्तोषी निकै खुसी छिन् ।

आफ्नो जितको खुशी उनले गुरु वन्त, दाइ केदार श्रेष्ठलगायतसँग बाँडिन् । ‘मेरा लागि यो मेडलको ठूलो अर्थ छ । यहाँसम्म आउन मैले धेरै त्याग गरेकी छु,’ सन्तोषीले अनलाइनखबरसँग भनिन् ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment