Comments Add Comment

सावित्राको ह्याटिकसँगै नेपाल फाइनलमा, स्वर्णका लागि भारतसँग खेल्ने

१९ मंसिर, पोखरा । सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकको मद्धतले माल्दिभ्सलाई हराएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।

अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नुअघि उसैसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ ।

बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् ।

त्यसपछि पनि नेपाल माल्दिभ्समाथि हावी भएको थियो । तर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा तेस्रो गोलका लागि अन्तिम समयसम्म पर्खिनुप¥यो । खेलको इन्जुरी टाइम (९१ मिनेट) मा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

खेलपछि नेपाली प्रशिक्षक हरि खड्काले पहिलो हाफ सोचजस्तै भए पनि दोस्रो हाफमा केही कमजोरी देखिएको स्वीकार गरे । यद्यपि फाइनल पुग्न ३ अंक चाहिएकाले त्यही अनुरुप नै खेलेको उनले बताए । ‘अवसर धेरै पायौं । तर, त्यो अवसर हामीले अर्को खेलमा इन्डियाका लागि साँचेर राखेका हौं,’ उनले भने ।

माल्दिभ्सका प्रशिक्षक बहमेद नासिदले आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । राम्रो रक्षात्मक खेल प्रदर्शन गरेको भन्दै उनले भने,
‘नेपाली टिम हामीभन्दा राम्रो छ भन्ने थाहा छ । तर, हामीले उत्कृष्ट खेल देखाउन छाडेनौं ।’

सावित्राको कीर्तिमान

माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेकी सावित्राले नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाएकी छिन् ।

उनले नेपालका लागि ३८ गोल गरेकी हुन् । बिहीबार गोल गर्नेबित्तिकै उनले अनु लामाको ३५ गोलको कीर्तिमान तोडेकी थिइन् । ‘श्रीलंकाविरुद्ध नै रेकर्ड ब्रेक गर्छु भन्ने सोचेको थिएँ, भएन’, उनले भनिन्, ‘आज सफल भएँ, खुसी छु ।’

फाइनल अगाडि जाँचिने मौका

राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगितामा नेपाल र भारतको समान ६÷६ भएको छ । दुवै टिमले श्रीलंका र माल्दिभ्सलाई नै हराएका छन् र समूह चरणको अन्तिम खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेका छन् ।

तर, फाइनल अघि शनिबार समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्ने छन् । श्रीलंका र माल्दिभ्स जितविहीन भएकाले समूह चरणको अन्तिम खेलमा जसले जिते पनि दुवै टिम फाइनलमा पुग्ने पक्का गरेका हुन् ।

दुबै टिमले शनिबारको खेल महत्वपूर्ण हुने बताएका छन् । ‘समूहमा हाम्रो प्रतिस्पर्धी भनेकै नेपाल हो,’ भारतका प्रशिक्षक अहमद् नसिदले भने, ‘फाइनलमा के हुन्छ भन्ने थाहा पाउन पनि शनिबारको खेल महत्वपूर्ण छ ।’

नेपाली प्रशिक्षक हरि खड्काले पनि सागको इतिहास तोड्न पनि यो खेल महत्वपूर्ण हुने बताए । ‘भारत हाम्रो सधैंको बलियो प्रतिद्वन्द्वी हो । यसअघिका साग इतिहासलाई ब्रेक गर्न पनि यो खेल महत्वपूर्ण छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment