+
+

सडक पिच गर्दागर्दै जब एक पुरुषले खाल्डो खन्न थाले…

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १:३०

१९ मंसिर, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रे भइरहेको थियो । कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले ।

कालोपत्रे भइरहेको स्थानमा स्थानीय बासिन्दा लामबद्ध भएर हेरिरहेका थिए । प्रहरी पनि तैनाथ थिए त्यहाँ । तर, ती व्यक्तिले पिक ल्याएर भर्खरै हालिएको आले पिच खन्दै गर्दा उनलाई कसैले रोक्न सकेन । उनले सडकको आधाभागसम्म खनेर खाल्डो बनाइदिए ।

सडकमा आफ्नो जग्गा परेको झोकमा एक घरधनी महिला पनि कालोपत्रे गरिएको भन्दै विरोधमा बोलिरहेकी थिइन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत सडक विस्तार नगर्न भन्दाभन्दै पिच गरिएको भनेर उनी आक्रोशित थिइन् ।

‘मध्यपुरथिमीका मेयर सा’बले मेरै मात्रै घर पर्ने गरी नाप लिनुभयो, मेरो र मेरो जेठाजुको जग्गामा मात्रै सडक विस्तार गर्नुको कारण के हो ?’ उनी भन्दै थिइन्, ‘सर्वोच्चको अन्तरिम आदेश पनि नमानेर मेयरसा’बले ज्यादति गरे ।’

उनले आफूसँग सबै कागजात हुँदाहुँदै रातारात डोजर लगाएर सडक बनाएको आरोप लगाइन् ।

के भन्छ नगरपालिका ?

मध्यपुर थिमी नगरपालिकाले भने एक व्यक्तिका कारण सडक विस्तार गरेर कालोपत्रे गर्न नसकिएपछि सामान्य बल प्रयोग गरिएको बतााएको छ । नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले लामो समयसम्म सडक अलपत्र छोड्दा स्थानीय बासिन्दालाई सास्ती भएपछि विरोधकै बाबजुद पनि सडक कालोपत्रे गरिएको बताइन् ।

‘स्थानीयले विरोध गरेपछि योजनाभन्दा घटाएर सडक पिच थालिएको हो, त्यसमा एक घरको मात्रै विरोध रह्यो,’ उनले भनिन्, ‘हामी जनप्रतिनिधिले काम नै गर्न नपाउने अनि जनताले सास्ती खेपिरहनुपर्ने कहिलेसम्म?’

‘नगरपालिका छेउछाउकै सडमा पनि केही स्थानीयको विरोधका कारण काम गर्न पाएका छैनौ,’ उनले भनिन्, ‘हामी गाडी चढेर हिँड्छौं भनेर जनताले धुलो र हिलोमा कष्ट सहेर बाँचिरहेको बेवास्ता गर्न मिल्दैन । त्यसैले सामान्य बल प्रयोग गरेर भए पनि रोकिएका विकासे काम पुरा गर्छौं ।’ उनले हाल कालोपत्रे भइरहेको सडक धेरै ठाउँमा जानका लागि महत्वपूर्ण भएको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?