Comments Add Comment

‘खोसिएको स्वर्ण फिर्ता ल्याउन सफल भएँ’

२० मंसिर, काठमाडौं । दौडकै लागि भनेर २०६७ मा सशस्त्र प्रहरीमा भर्ति भए । ६/६ पटक म्याराथन दौडिसकेका थिए । तर नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भने पाँच हजार मिटरमा झरेर प्रतिस्पर्धा गरे ।

धेरैलाई लागेको थियो, गोपीचन्द्र पार्की किन यसो गर्दैछन् ?

शुक्रबार सागको मध्यम दूरी (५ हजार मिटर) दौडमा स्वर्ण जितेपछि गोपीचन्द्रले त्यसको राज खोले । ‘म्याराथनमा त मेडल छँदैछ, मैले त ५ किलोमिटरमा राष्ट्रको खोसिएको मेडल फिर्ता गर्नुछ भनेर तल झरेँ,’ गोपीचन्द्र भन्छन् ।

नभन्दै उनले स्वर्ण जितेका छन् ।

५ हजार मिटर पुरुषमा यो नेपालको पहिलो स्वर्ण हो । यसअघि २००६ मा राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । तर डोपिङमा परेपछि उनको पदक खोसियो ।

१३ वर्षअघि नेपालबाट खोसिएको स्वर्ण फेरि फिर्ता ल्याउन सफल हुँदा खुसी छन् गोपीचन्द्र ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको एथेलेक्टिस ट्र्याकमा भएको दौडमा नेपालका कृष्णचन्द्रसँगै हरि रिमाल सहभागी थिए ।

यो दौड जित्न सजिलो भने थिएन । ‘एकदमै गाह्रो थियो । जिकज्याक, बक्समा पारिदिने, अगाडि भागिदिने, छेक्ने अनेक गरेँ । इण्डियाले गोल्ड मेडल चुकाउन चाहेको थिएन,’ कृष्णचन्द्र भन्छन्, तर मलाई मेडल खोस्नु भयो । (नेपालबाट) खोसेको मेडल (अरु देशबाट) खोस्नु छ भन्ने दिमागमा थियो ।’

उनी यति खोसिएको मेडल फिर्ता ल्याइछाड्छु भन्नेमा यति दृढ थिए कि अन्तिमको ११० मिटरमा दक्षिण एसियाको जुनसुकै खेलाडीलाई जित्नसक्छु भन्ने विश्वास भयो । भन्छन्, ‘राष्ट्रले गुमाएको मेडल ल्याउनुछ । डोपिङ लागेर नेपाली जनताको चित्त दुखेको छ । यो सबै सम्झिएर यो मेडल जितेँ ।’

हुन पनि दौडका क्रममा अधिकांश समय भारतका सुनिल दवार प्रतिस्पर्धामा थिए । अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एक समय झण्डै २० मिटरको अग्रता बनाएका थिए । तर गोपीचन्द्रले आफ्नो गति बढाउँदै अन्तिम १०० मिटर बाँकी रहँदा अग्रता लिए र स्वर्ण जित्न सफल भए ।

उनले अब फेरि म्याराथन दौडिने बताएका छन् । उनले भने, ‘लेजेन्ड बैकुण्ठ मानन्धर गुरुको इच्छा छ, आफ्नो रेकर्ड नेपाली खेलाडीले जितोस् ।अब मेरो लक्ष्य २ः१५ ब्रेक गर्ने हो ।’

मानन्धरले तेस्रो सागमा २ घन्टा १५ मिनेट तीन सेकेण्डमा म्याराथन पूरा गरेका थिए । दक्षिण एसियाको यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment