Comments Add Comment

नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो

२० मंसिर, काठमाडौं । १३ औं साग अन्तरगत टि–२० क्रिकेट म्याचमा नेपालले माल्दिभ्समाथि ८४ रनको सहज जित हात पारेको छ । पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर खेल्दै ६ विकेट क्षतिमा ७९ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि तीन स्पिनरहरुले आपसमा ५ विकेट बाँडेका थिए । ललित नारायण राजवंशी र सुसन भारीले २–२ तथा पवन सर्राफले १ विकेट लिए । फास्ट बलरहरुले विकेट लिन सकेनन् ।

माल्दिभ्सका लागि आठौं नम्बरमा आएका विकेटकिपर ब्याट्सम्यान मोहम्मद आजमले सर्वाधिक १७ रन लिएका थिए । उनले दुई चौका प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक सय ६३ रनको बलियो स्कोर खडा गरेको थियो । सामान्य स्कोरतर्फ अघि बढेको नेपाललाई करण केसीले अन्तिम ओभरमा २४रन बटुल्दै उकासेका थिए ।

नियमित विकेट पतनले गर्दा नेपाल अपेक्षितरुपमा विशाल स्कोर बनाउन भने चुक्यो । पूर्व कप्तान पारस खड्का सस्तैमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । उनले ९ बलमा ११ रन मात्र जोड्न सके । यसैगरी भुटानविरुद्ध शतक बनाएका कप्तान ज्ञानेन्द्र मल्ल पनि १९ रनमा आउट भए ।

तेस्रो नम्बरमा आएका आरिफ सेखले १७ रन बनाएर पेभिलियन फर्किए भने रोहित कुमार पौडेल र पवन सर्राफको ब्याट पनि चलेन । त्यसपछि नेपालको ब्याटिङ सम्हाल्ने जिम्मा दिपेन्द्र सिंह ऐरीको काँधमा आएको थियो ।

ऐरीले विनोद भण्डारीसित उपयोगी साझेदारी गरे । भण्डारी १९ रन बनाएर आउट भए । ऐरी पनि ३६ बलमा ३९ रन बनाएर आउट भएपछि करण केसीले ब्याट घुमाउन थालेका थिए । उनले नेपालका लागि मात्र १६ बलमा सर्वाधिक ४० रन बनाए ।

नेपाली पुरुष क्रिकेट टिमले खेलेका तीन म्याचमा दुई जित र एक हार व्यहोरेको छ । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियो भने श्रीलंका अन्डर २३ सित पराजित भएको थियो । नेपालले अब बंगलादेशसित खेल्न बाँकी छ । भारत र पाकिस्तान भने क्रिकेटमा सहभागी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment