Comments Add Comment

‘होची’ पुष्पाको अग्लिएको कद

२१ मंसिर, काठमाडौं । पुष्पा भण्डारीले दक्षिण एसियाली खेलकुदको म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भएकी छन् ।

१३औं साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी हुन् । यो सागको महिला म्याराथनमा नेपालले जितेको एक मात्र पदक हो ।

सागमा २०१६ मा भारतमा भएको १२औं संस्करणबाट मात्र महिला म्याराथन समावेश गरिएको थियो । नेपालबाट पुष्पाले नै भाग लिएकी थिइन् तर दौड नै पुरा गर्न सकेकी थिइनन् ।

३५ किलोमिटरमा नै दौड छाडेकी थिइन् । ‘अहिले जसरी भएपनि पुरा गर्छु र एउटा मेडल ल्याउँछु भनेर सोचेको थिएँ ।  सफल भएँ, खुसी छु’, रजत विजेता पुष्पाले खुसी साटिन् ।

पुष्पाको अग्लिएको कद

सल्यानमा जन्मिएकी पुष्पाले १५ वर्षको उमेरमै म्याराथन दौडिएकी थिइन् । धनगढीमा छैटौं राष्ट्रिय खेलकुदमा म्याराथनमा दोस्रो भएकी पुष्पा पाँच किलोमिटरमा तेस्रो भएकी थिइन् ।

तर होची भएको र दौडको स्पीड नपुगेको भन्दै उनलाई न कुनै क्लबले लियो, न राष्ट्रिय टिममा नै बोलाइयो ।

उनी सल्यान फर्किइन् र पढाईमा जुटिन् । ‘खेलेर नहुँदोरहेछ भनेर झण्डै दुई वर्ष गाउँमै हराएँ’, उनी भन्छिन्, ‘जिल्लाको गुरु रविनकुमार राईले तिमी सक्छौं भनेर फेरि खेलमा ल्याउनुभयो ।’

२०६९ मा लुम्बिनी च्याम्पियनसिपमा पहिलो भएपछि भने उनी सशस्त्र प्रहरी क्लबको आँखामा परिन् ।

उनी एपीएलमा करारमा आवद्ध भइन् । ‘धनरामी चौधरी गुरुले ‘होची छु, म हक्दिन होला भन्ने भन्ने सोच त्यागेर मेहनत गर्न भन्नुभयो र म यहाँसम्म आइपुगेँ’ स्वर्ण जितेपछि पुष्पा भन्छिन् ।

सागमा एथलेटिक्सतर्फ लामो र मध्यम दुरीका मुख्य प्रशिक्षक रहेको चौधरी पनि सुरुमा आफूले भेट्दा पुष्पामा त्यस्तै भावना रहेको सुनाउँछन् । ‘म यस्तो छु, उस्तो छु, सक्दिन होला भन्थिन्,’ चौधरी भन्छन्, ‘तर मैले उनमा लामो समयसम्म दौडिन सक्ने क्षमता देखेको थिएँ ।’

एपीएफमा आवद्ध भएपछि उनले लगातार ट्रेनिङ पाइन् । त्यसक्रममा पुष्पाको टाइमिङ औषतमा २:५० (२ घन्टा ५० मिनेट) रहन्थ्यो । चौधरीकाअनुसार दक्षिण एसियामा म्याराथनको टाइमिङ २ घन्टा ३१ मिनेट छ । तर काठमाडौंमा हाइ अल्टिच्युडका कारण यो सम्भव थिएन ।

र, २ घन्टा ५० मिनेटमा म्याराथन पुरा गर्न सक्दा पुष्पाले कुनै न कुनै पदक जित्ने सम्भावना थियो । शनिबार भयो त्यही । सशस्त्र प्रहरीमा कार्यरत २४ वर्षीया पुष्पाले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पुरा गर्दै रजत जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment