News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै रोजगारी सिर्जना गर्न ‘रोजगार प्रवर्द्धन दशक’ कार्यान्वयन अघि बढाएको छ ।
- युवा, श्रम तथा रोजगार मन्त्रालयले इटहरीमा १४ देखि २० असोजसम्म सात दिने ‘सिप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ ।
- मन्त्रालयले ‘सिप तथा रोजगार मेला सञ्चालन निर्देशिका २०८३’ जारी गरी प्रदेश, स्थानीय तह र जिल्ला प्रशासनसँग समन्वयमा मेला देशभरि विस्तार गर्ने तयारी गरेको छ ।
१ असोज, काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताको विकल्पबाट स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने दिशामा काम अघि बढाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’ कार्यान्वयनका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको हो ।
युवा जनशक्तिको सिप र ऊर्जालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने लक्ष्य अनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा सात दिने ‘सिप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ । मेला १४ देखि २० असोजसम्म सञ्चालन हुनेछ ।
मेलालाई देशभरि विस्तार गर्ने उद्देश्यले मन्त्रालयले ‘सिप तथा रोजगार मेला सञ्चालन निर्देशिका २०८३’ जारी गरिसकेको छ । निर्देशिका अनुसार प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनसँगको समन्वयमा रोजगार मेला सञ्चालन गरिने छ ।
मेलाको समग्र व्यवस्थापनका लागि श्रममन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति गठन गरिएको छ ।
मेलामा निजी क्षेत्र, उद्योग तथा प्रतिष्ठान, तालिम प्रदायक संस्था, विकास साझेदार र सामाजिक सुरक्षा कोष लगायत संस्थाका स्टल रहनेछन् । रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी रोजगारी खोजिरहेका युवालाई उनीहरूको योग्यता, सिप र रुचि अनुसार रोजगारीसँग जोड्ने मन्त्रालयको योजना छ ।
मेलामा रोजगारी मिलानसँगै सिप परीक्षण, आवश्यक तालिम, करियर परामर्श तथा उद्यमशीलता सम्बन्धी सेवा पनि उपलब्ध गराइने छ ।
सरकारले रोजगार मेलामार्फत श्रम बजारको माग र युवाको सिपबीचको दुरी घटाउने तथा स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य लिएको छ । रोजगार प्रवर्द्धन दशक अवधिमा यस्ता कार्यक्रमलाई देशभरि विस्तार गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया 4