Comments Add Comment

‘सभामुखबारे मलाई नबोल्ने आदेश छ’

‘उपनिर्वाचनले सत्तापक्षलाई नमात्तिन र प्रतिपक्षलाई नआत्तिन सन्देश दियो’

२३ मंसिर, काठमाडौं । संविधानसभाका अध्यक्ष तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू पाँचाैंपटक सभामुख बन्न तयार रहेको संकेत गरेका छन् ।

कृष्णबहादुर महराले राजीनामा दिएलगत्तै सभामुखमा नाम चर्चामा आउँदा नेम्वाङले आफू पुनः सभामुख हुन इच्छुक नरहेको प्रतिक्रिया दिएका थिए ।

आफूले सो प्रतिक्रिया दिएपछि पार्टीका नेताहरुले सभामुख बन्ने वा नबन्ने बारेमा कुनै प्रतिक्रिया नदिन भनेपछि नेम्वाङ पछिल्लो समय यो प्रश्नमा उम्किने गरेका छन् ।

यद्यपि , प्रधानमन्त्री तथा नेकपाका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीको रुचि नेम्वाङलाई नै सभामुख बनाउने रहेकाले पाँचौं पटक उनको सम्भावना बढेको कतिपय नेताहरु बताउँछन् ।

मैले सुरुमा यसबारेमा आफ्ना केही टिप्पणीहरु गर्न खोज्दा दलका नेताले मलाई अहिले तपाईं केही नबोल्नुस् भनेका छन्

पहिलोपटक ०६३ सालमा पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख बनेका नेम्वाङ त्यसपछि तत्कालीन विद्रोही माओवादीसहितको अन्तरिम संसदको पनि सभामुख निरन्तर भए । ०६४ र ०७० को संविधानसभा निर्वाचनपछि नेम्वाङ नै संविधानसभा अध्यक्ष र सभामुखमा दोहोरिए ।

नेकपाभित्र अग्नि सापकोटा र देव गुरुङ पनि सभामुखको लबिङमा रहेका र उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख बन्ने निश्चित भएपछि मात्र उपसभामुखबाट राजीनामा दिने बताइरहेका बेला नेम्वाङले भने यो निर्णय पार्टी र संसदले सहज रूपमा गर्ने दाबी गरेका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा नेम्वाङले आफू सभामुख बन्नुपर्ने अवस्थामा तयार रहेको संकेत मात्र गरेनन्, संविधानबमोजिम उपसभामुख फरक दललाई दिनु परे पनि कांग्रेसले नपाउने आशयसमेत प्रकट गरे ।

उपनिर्वाचनका बेला अध्यक्ष प्रचण्डसँगै अर्का अध्यक्ष ओलीको प्रतिनिधिका रूपमा देश दौडाहा गरेका नेम्वाङले उपनिर्वाचनले सत्तापक्षलाई नमात्तिन र प्रतिपक्षलाई नआत्तिन सन्देश दिएको बताए ।

प्रस्तुत छ– नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग गरिएको संक्षिप्त कुराकानी:

प्रमुख प्रतिपक्षले संसद खोज्न थालेको छ, प्रधानमन्त्री बिरामी र सभामुख जेलमा भन्दै संसदबाट जनताका आवाज बोल्न पाइएन भन्ने गुनासो पनि आएको छ । सत्तापक्षको उपनेताको हिसाबले प्रतिपक्षको सरोकारलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

प्रतिपक्षले सडक नखोजेर संसद खोज्नु यो राम्रो कुरा हो । यो संसदीय प्रणाली, जसलाई हामीले संविधानमा स्थापित गरेका छौं र प्रभावकारी बनाउन चाहेका छौं, त्यसका लागि यो सुखद संकेत हो ।

प्रतिनिधिसभा नियमित रूपमा बस्नुपर्छ । सदाको चलन यो हिउँदे अधिवेशन पुसको १२/१३ गतेतिर बस्ने हो । त्यसबारेमा अहिले छलफल भइसकेको छैन । तर, प्रतिपक्षको यो चाहना र भावनालाई सम्मान गर्दै सत्तापक्षले छलफल गरेर चाँडै टुंगोमा पुग्छ ।

प्रधानमन्त्री विरामी भएको र सभामुखको टुंगो लगाउन नसकेको दुःखका बीच सत्तापक्षले संसदलाई पछि धकेल्न खोजेको आशंका पनि गरेको छ नि प्रतिपक्षले त ?

त्यसो होइन । प्रधानमन्त्री अहिले स्वास्थ्य उपचार गरेर फर्किएपछि स्वस्थ हुनुहुन्छ । उहाँ नियमित काममा फर्किसक्नुभएको छ । जहाँसम्म सभामुखको चयनको कुरा छ, सभामुख संसदबाटै चयन हुन्छ । नियमित संसदको अधिवेशन चाँडै बस्छ भन्ने मलाई लाग्छ । त्यसपछि संसदले सभामुख पाइहाल्छ ।

तर, दुई महिनाभन्दा बढी भयो सभामुख नभएको, यसले केही असर गरेको छैन ?

सभामुखको विशेषतः संसद सञ्चालनमै भूमिका हुन्छ । त्यसभन्दा बाहिर पनि संसद नबसेका बेला समितिको क्रियाशीलताका सन्दर्भमा पनि सभामुखको आवश्यकता हुन्छ । त्यसैले सभामुखको अरुबेला काम हुँदैन भन्ने हुन्न । सभामुखको आवश्यकता जहिलेसुकै हुन्छ । तर, हामीले कल्पना नगरेको स्थिति अहिले बन्यो । यस्तो स्थितिलाई जतिसक्दो चाँडो अन्त्य गर्नु बुद्धिमानी हुन्छ ।

जतिसक्दो चाँडो गर्नलाई नेकपाले नसकेको हो ?

मलाई लाग्छ, हामी मंसिर १४ गते र त्यसको आसपासम्म उपनिर्वाचनमै व्यस्त थियौं । सत्तापक्ष–प्रतिपक्ष सबै उपनिर्वाचनमा व्यस्त रह्यौं । अब त्यसबाट मुक्त भइसकेका छौं । सभामुख चयनका सन्दर्भमा अब छलफल हुन्छ ।
यो पनि पढ्नुहोस प्रधानमन्त्री बिरामी, सभामुख जेलमा, संसद कहिले बोलाउने ?

नेकपाले निकास दिने हो भने पनि त्यो अब जतिसक्दो चाँडो नै हुन्छ । देशलाई र संसदलाई सभामुख दिनुपर्छ हामीले । मलाई लाग्छ, अब देशले चाँडै सभामुख पाउँछ ।

सभामुख को बन्ने भनेर बहस भइरहेको छ । तपाईको नाम फेरि पनि एक नम्बरमै चर्चामा छ । तपाई आफैंचाहिँ त्यो पदको आकांक्षी हो कि होइन ?

मैले व्यक्तिगत रूपमा यसबारेमा टिप्पणी गर्ने गरेको छैन । किनभने, कस्तो सभामुख प्रतिनिधिसभालाई चाहिन्छ, देशलाई चाहिन्छ भन्ने कुरा एउटा व्यक्तिको दाबी भन्दा पनि त्यो संसदलाई आवश्यक पर्ने सभामुखको चयन दलहरुले गरुन्, संसदले गरोस् र एउटा राम्रो निष्कर्षमा पुगौं भन्ने मेरो चाहना हो । त्यसैले व्यक्तिगत रूपमा मैले यसबारेमा कुनै टिप्पणी गर्न चाहेको छैन ।

तर, तपाई त्यो अवस्था आयो भने फेरि सभामुख बन्नुहुन्छ ?

मैले शुरुमा यसबारेमा आफ्ना केही टिप्पणीहरु गर्न खोज्दा दलका नेताले मलाई अहिले तपाई केही नबोल्नुस् भनेका छन् । नेताहरुले यो त संसदले निर्णय गर्छ, पार्टीले निर्णय गर्छ, यसमा तपाईले किन टिप्पणी गर्नुहुन्छ ? जे गर्ने हामी गर्छौं तपाई नबोल्नुस् भन्नुभएको छ । त्यसपछाडि मैले व्यक्तिगत रूपमा बन्छु बन्दिनँ भनेर केही टिप्पणी गरेको छैन ।

संविधानको व्यवस्था र हाम्रो व्यवस्था भनेको सभामुख र उपसभामुख विपरीत लिंगको हुनुपर्छ र फरक दलको हुनुपर्छ भन्ने छ । फरक दल भनेपछि कांग्रेसकै हुने भन्ने त संविधानमा लेखेको छैन

भनेपछि तपाई‌ंलाई फेरि सभामुखका रूपमा देख्न पाइने भो ?

त्यस्तो प्रसंग आएछ भने त्यसबेला छलफल गरौंला, सल्लाह गरौंला र एउटा उपयुक्त निष्कर्षमा पुगौंला ।

प्रतिपक्षको एकजना सांसदले अनलाइनखबरमै लेख्नुभएको छ, महिला सभामुख बन्न नदिन सत्तापक्षमै चलखेल भयो भनेर । तपाईहरुले अहिलेको उपसभामुखलाई सभामुख बन्नबाट बञ्चित गर्न लाग्नुभएको हो र ?

त्यो उहाँलाई पनि त्यस्तो लागेको छैन । उपसभामुखले पनि केही बोल्नुभएको छैन । तर, किन प्रत्येक प्रसंगमा हामी यो ढंगको राजनीति गर्छौं, मैले बुझ्न सकेको छैन । जहाँसम्म महिलालाई अघि बढाउने सन्दर्भ छ, हामीले त यो सन्दर्भमा विश्वमै उत्कृष्ट संविधान बनाएका छौं ।

व्यवहारमा महिलालाई राज्यका तीनै अंगका प्रमुख बनाइसकेका छौं । त्यसलाई व्यवहारमा उतार्ने सन्दर्भमा कानुनबाटै व्यवस्था गरेर स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधिलाई स्थापित गरेका छौं । त्यसैले यस्तोखालको राजनीति प्रतिपक्षबाट जुन हुन खोजेको छ, यस्तो अति राजनीतिक आग्रहमाथि म टिप्पणी गर्न आवश्यक ठान्दिनँ ।

उपसभामुखचाहिँ कांग्रेसलाई दिनुहुन्छ यसपटक ?

संविधानको व्यवस्था र हाम्रो व्यवस्था भनेको सभामुख र उपसभामुख विपरीत लिंगको हुनुपर्छ र फरक दलको हुनुपर्छ भन्ने छ । यो व्यवस्था व्यवहारमा उतार्नुपर्छ । संविधानको यो अक्षर र भावनालाई व्यवहारमा उतार्ने गरिकन अगाडि बढ्न हामी प्रतिवद्ध छौं ।

फरक दल भनेपछि कांग्रेसकै हुने भन्ने त संविधानमा लेखेको छैन । यति बुझ्नुस्, सभामुख र उपसभामुख फरक दलबाट निर्वाचित हुन्छन् ।

कहिलेसम्म ?

उपचुनावको धङधङगीबाट अब हामी मुक्त हुँदैछौं । त्यसपछि सबै प्रक्रिया अघि बढिहाल्छन् ।

उपचुनावका सन्दर्भमा नेकपा सकिने नि सच्चिने भन्ने दुई विकल्प जनमतले दियो भनेर कांग्रेसले भनिरहेको छ, नेकपाले उपचुनावको परिणामका बारेमा प्रष्ट केही भनेको छैन, तपाईहरु हतप्रभ हुनुभएको हो ?

उपनिर्वाचन भइरहँदा परिणाम आउनुभन्दा अगाडि अब यसपटक उपुनिर्वाचनबाट सत्तापक्ष नेकपा पूरै बढारिनेछ,सत्तापक्ष पूरै समाप्त हुन्छ भन्ने ढंगका टिप्पणीहरु आएका थिए । सरकार साह्रै अलोकप्रिय भएको छ र त्यसको परिणाम देखिन्छ भनेर हामीमाथि ठूलो प्रहार थियो ।

तर, परिणाम हामीले देख्यौं । केही अपवादका ठाउँमा हाम्रो आफ्नै कमजोरीका कारण गुमाउनु बाहेक समग्रमा निर्वाचनको परिणाम नेकपाको पक्षमा आएको छ । यो उपनिर्वाचनको परिणाम हेर्दा सबैले जितेको म देखिरहेको छु ।

प्रधानमन्त्रीज्यू अब चाँडै क्रियाशील भएर देश र सरकार सञ्चालन गर्न अग्रसर हुनुहुन्छ । यसमा अरु कुनै टिप्पणी गर्न आवश्यक छैन

जहाँसम्म सक्किने कि सच्चिने भन्ने प्रश्न छ, उहाँहरुलाई धन्यवाद हाम्रोबारेमा चिन्ता लिइदिनुभएकोमा । तर, चुनाव परिणामले नेकपा र कांग्रेसबीचको अन्तर लगभग दोब्बरकै बीचमा देखाएको छ । हामीले ३२ स्थानमा जित्दा उहाँहरुले १३ स्थान जिन्नुनभएको छ ।

कतिपय हिजो हामीले हारेका ठाउँमा अहिले जितेका छौं । हामीले कहिल्यै हार्दैनौं कि भनेको ठाउँमा प्रतिपक्षले जितेको छ । त्यसैले मैले भन्ने गरेको छु, यो उपनिर्वाचनमा हामी सबैले जितेका छौं । लोकतन्त्रले विजय हासिल गरेको छ ।

जहाँसम्म जनताले कोही ठाउँमा कसैलाई, कोही ठाउँमा कसैलाई जुन ढंगले कल्पना नगरिएको परिणाम दिएका छन्, त्यसमा आधारित भएर मैले भनेको छु, यो निर्वाचनमा जनताले सत्तापक्षलाई नमात्तिनु र प्रतिपक्षलाई नआत्तिनु भन्ने सन्देश दिएका छन् । हामीले यही ढंगले बुझेर अघि बढ्नुपर्छ ।

प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर धेरै टिप्पणी भएका छन्, उहाँलाई आराम गर्न दिउँ, देशलाई बन्धक नबनाउँ भनिँदैछ । तर, तपाईहरु जो नजिकमा हुनुहुन्छ, तपाईहरु चाहिँ उहाँलाई आराम गर्न दिने पक्षमै हुनुहुन्न भन्ने आरोप छ नि ?

सबैभन्दा पहिलो कुरा त एक/दुईवटा अपवादका व्यक्तिगत टिप्पणीलाई लिएर म यस सन्दर्भमा अरु टिप्पणी गर्न चाहान्नँ । सबै दलहरुले, सिंगो मुलुकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पछिल्लो समयमा हाम्रो पार्टी एक ढिक्का भएर पाँच वर्ष प्रधानमन्त्री केपी ओलीले नै देशको नेतृत्व गर्नुहुन्छ भन्ने निष्कर्ष निकालेको छ । हामी सबै यसमा खुसी छौं । प्रधानमन्त्रीज्यू अब चाँडै क्रियाशील भएर देश र सरकार सञ्चालन गर्न अग्रसर हुनुहुन्छ । यसमा अरु कुनै टिप्पणी गर्न आवश्यक छैन ।

अलिकति पनि कुनै अप्ठेरो छैन । कुनै पनि प्रकारले देश बन्धक भएको भनेर प्रश्न उठ्ने अवस्था छैन । पार्टीको कुरा कसरी अघि बढाउने भनेर दुवै अध्यक्षले दृष्टिकोण बनाउनुभएको छ र पार्टीले त्यसलाई अंगीकार गरिसकेको छ । केपी ओली र प्रचण्डको नेतृत्वमा देश अघि बढेको छ र नेकपा अघि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment