Comments Add Comment

पुराना अपराध केलाउँदै रौतहट प्रहरी, एकै दिनमा १३ फरार अभियुक्त पक्राउ

२४ मंसिर, रौतहट । विभिन्न समयमा अपराध तथा गैरकानूनी कार्य गरी लामो समयदेखी फरार रहँदै आएका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्न थालेको छ ।

विभिन्न मुद्दामा लगत कसिएको तर फरार रहेका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्ने क्रममा सोमवार एकै दिनमा १३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरको टोलीले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएको तर हालसम्म फरार रहेका १३ जना अभियुक्तहरुलाई पक्राउ गरेको जनाएको छ । एकै दिनमा रौतहट प्रहरीले १३ जना फरार अभियुक्त पक्राउ गरेको यो पहिलो घटना हो ।

चोरी मुद्दामा २०६८ सालदेखी फरार रहेका गौर १० का राम एकवाल बैठा, धर्मेन्द्र पासवान तथा अन्य मुद्दाका समेत गरी १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । अपराधका घटना घटाएर गाउँघरमा लुकीछिपी बस्दै आएका तथा विभिन्न राजनितिक शक्तिको आडमा जोगिएर बसेकाहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

घटनाको १२ वर्षपछि कांग्रेस नेता आफताब आलम पक्राउ परेपछि रौतहट प्रहरीले थाती रहेका पुराना अपराधको फाइलहरु खोतल्न सुरु गरेको छ । २०६५ कात्तिक ७ मा रौतहटको प्रेमपुर गोनाही ४ मा ३५ वर्षीय शिक्षक सुनीलप्रसाद यादव हत्याकाण्ड, गरुडामा बैरीया ३ का राजाराम साहको छोरी पुनम साहको विवाहमा बन्दुक पडकाउँदा मारिएका सुनिलकुमार साह र २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडमा गोली हानी मारिएका कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको घटनामा समेत प्रहरीले पुराना मिसिल केलाउन थालेको छ । यसै गरी राजपुर बमकाण्डमा मारिएका ओशी अख्तरका आमा रोक्शाना खातुनको हत्याको फाइल पनि प्रहरीले खोतल्दै छ ।

अपराध गरेर पनि गाउँघरमा निर्धक्क साथ बसेकाहरु पक्राउ पर्न थालेपछि रौतहट प्रहरीको छवी स्थानीयको नजरमा राम्रो बनेको छ । “लामो समयसम्म थन्किएर बसेका मिसिलहरु अध्ययन गर्दै अदालतले पक्राउ गर्न आदेश दिएका तर फरार रहेका व्यक्तिहरुको खोजी कार्य तीव्र बनाएका छौं ।” डीएसपी नविन कार्कीले भने, “फरार अपराधीहरु समाजमै रहँदा न्यायप्रति पीडितको विश्वास कम हुने भएकोले पुराना फाइलहरु केलाउँदैछौं । न्यायीक निकायले दिएको फैसला कार्यान्वयन गर्न गराउन हाम्रो दायित्व समेत हो ।”

मंसिर महिनाको यो अवधिमा प्रहरीले ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका मध्ये अधिंकाश कर्तव्य ज्यान, चोरी डकैती, किर्ते, अंगभंग मुद्दामा फरार रहेकाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment