+
+
Shares

यसरी मनाइन्छ योमरी पूर्णिमा

भरतबन्धु थापा भरतबन्धु थापा
२०७६ मंसिर २६ गते १२:१०

२६ मंसिर, काठमाडौं । आज मार्ग शुक्लपक्ष थिंलाथ्व नेवार समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन् । ‘योमरी पुन्ही’ (पूर्णिमा) पनि भनिने यस दिन घरघरमा योमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ ।

योमरी चामलको पिठोबाट बनाइने परिकार हो । यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । जाडोयाममा योमरीले शरीरमा ताप पैदा गर्ने भएकाले यसलाई स्वास्थ्यवर्द्धक पनि मानिन्छ ।

योमरी पूणिर्मा नेवार समुदायले मनाउने एक महत्वपूर्ण चाड हो । यस दिन ‘योसिं त्यो बकसिं’ नेवारी गीत गाउँदै, नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा छ ।

योमरी बनाउँदा योमरीको साथसाथै लक्ष्मी, सरस्वती र कुवेर, ख्याकको पनि मूर्ति बनाउने गरिन्छ । यस उपलक्ष्यमा छोरी तथा ज्वाइँलाई बोलाएर नखत्याको रुपमा योमरी खुवाउने प्रचलन नेवार समुदायमा पाइन्छ । त्यस्तै योमरी पुन्हीको अवसर बाहेक छोराछोरीको उमेर दुई र चार वर्षको जन्मदिनमा योमरी र लोंचा मरीको माला लगाइदिने चलन नेवार समुदायमा अझै कायम छ ।

योमरीसँग सम्बन्धित एक जनश्रुती पनि छ । जनश्रुतीअनुसार धनका देवता कुवेर मगन्तेको भेषमा एउटा घरमा खानेकुरा माग्न जाँदा आजकै दिन घरबेटीले कुवेरलाई सन्तुष्ट हुने गरी योमरी खुवाएको र कुवेर खुशी भई धनधान्य होस् भनी आशिर्वाद दिएकाले यो दिनलाई धान्यपूर्णिमा पनि भन्ने गरिएको जनश्रुती छ ।

 

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?