+
+
फेवा किनारमा साहित्य महोत्सव सुरु :

हिउँचुलीको छहारी गण्डकी प्रदेश आफैंमा साहित्य हो : मुख्यमन्त्री

मुख्यमन्त्रीले सम्झिए हरिदेवी कोइरालादेखि भूपिसम्म Û

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १३:५८

२७ मंसिर, पोखरा । फेवा किनारमा नेपाल लिटरेचर फेस्टिभलका निम्ति मञ्च झकिझकाऊ छ । बिहानैदेखि पानी परेकाले चिसो छ, मौसम । समाजका विविध विषयमा हुने गरमागरम बहसका निम्ति तयार पारिएको मञ्चबाट पानी परेका कारण उद्घाटन सत्र हुन सकेन । बाराहीघाटको एक रेस्टुरेन्टको हलबाट शुक्रबार महोत्सव सुरु भएको छ ।

सञ्चारकर्मी तथा साहित्यकार शिवानी शिंह थारुले कार्यक्रमको सहजीकरण थालेलगत्तै मनिता, अनिता र सुनिता सुन्दासले वेदका ऋचा वाचन गरेर फेस्टिभलको सुरुवात भयो । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो फेस्टिभल पोखरामा हुनु गर्वको विषय भएको बताए । उनले धेरै साहित्यकार, कलाकारको नाम लिए, जसले गण्डकीलाई कर्मथलो बनाएका छन् ।

मुख्यमन्त्री गुरुङले साहित्य र कलाविनाको जीवन निरस हुने बताउँदै गरेको सम्वोधनको सम्पादित अंश यस्तो छ-

म साहित्यको विद्यार्थी हैन, तर…

नेपाल लिटरेचर फेस्टिभलमा आउन पाउँदा आफूलाई धन्य ठानेको छु । नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करणको उद्घाटन गर्न प्रमुख अतिथि बनाएर डाक्नुभएका आयोजक साथीहरुलाई यो धन्यवाद मेरो व्यक्तिगत तर्फबाट र गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको तर्फबाट पनि ।

समृद्धि आज हाम्रो सपना हो । यो सपनालाई जसरी पनि साकार पार्नुपर्ने दायित्व हामीलाई छ । समृद्धि फगत सपना हुन सक्दैन । यो साकार हुनैपर्छ । समृद्धि भनेको केवल बाटोघाटो, पुलपुलेसा, पानीपँधेरो र बिजुलीमात्रै होइन । समृद्धि जनताको जीवनस्तर उकास्ने कुरा हो । आर्थिक रुपमा मात्रै नभई बौद्धिक रुपमा पनि नागरिकलाई सबल पार्ने कुरा हो । नागरिकलाई वैचारिक हिसाबले उन्नत र सबल बनाउन सक्यौं भनेमात्रै वास्तविक समृद्धि हासिल हुन्छ भन्ने म ठान्छु । त्यसका लागि ज्ञान र अनुसन्धान महत्वपूर्ण हुन्छ । नेपाल लिटरेचर फेस्टिभल जस्ता महायज्ञहरु यस मामलामा महत्वपूर्ण हुन्छन् ।

विश्वका अग्ला हिउँचुलीहरुको छहारीमा गण्डकी प्रदेश आफैंमा प्रकृति निर्मित साहित्य हो । प्रकृतिको अदभूत कला गण्डकी प्रदेशमा भरिपूर्ण छ । सांस्कृतिकरुपमा पनि हामी धनी छौं । नेपाली साहित्यमा हाम्रो प्रदेशबासीले ठूलो योगदान गरेर प्रदेशको प्रतिष्ठा उचो बनाउनुभएको छ । चाहे नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको कुरा गरौं या राष्ट्रकवि माधवप्रसाद घिमिरेको अथवा कविशिरोमणि लेखनाथ पौडेलले नेपाली भाषा साहित्यको भण्डारमा भरेको ज्ञान ओजिलो छ ।

यही प्रदेशकै जनकवि गोकुल जोशी, नेपाली गद्य कविताका शिखर व्यक्तित्व भूपि शेरचन, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमिया, दार्शनिक साहित्यकार सरुभक्तदेखि लोकगायिका हरिदेवी कोइराला, लोकपपका महारथी अमृत गुरुङसम्मले नेपाली कला साहित्यलाई अतुलनीय गुन लगाउनुभएको छ । गण्डकी प्रदेशले नेपाली साहित्यलाई गरेको योगदान अरु प्रदेशको तुलनामा ज्यादा छ । त्यसैमाथि यता, अर्काे महत्वपूर्ण अनुष्ठान आयोजना हुँदा प्रदेशलाई मात्रै होइन देशलाई नै फेरि हामीले योगदान गर्न पाएका छौं ।

म साहित्यको विद्यार्थी होइन । तर, पारखी भने अवश्य हुँ । किताब पढ्नु मेरो जीवनको रुचिभित्रै पर्छ । कलामा पनि मेरो उत्तिकै चाख छ । नेपाल लिटरेचर फेस्टिभलले म र मजस्ता पाठकलाई पनि प्रेरित गरेको छ भन्ने विश्वास यहाँहरुमाझ राख्दछु ।

व्यक्तिगत रुपमा ममात्रै नभइ सिंगो गण्डकी प्रदेश सरकार ज्ञान, अनुसन्धान र पठनसंस्कृति एवं कला र साहित्यको पुजारी हो । तसर्थ नै पोखरामा आयोजित नाटक महोत्सव र यही नेपाल लिटरेचर फेस्टिभललाई गत वर्ष प्रदेश सरकारका तर्फबाट सहयोग पुर्‍याएको स्मरण गर्नु उपयुक्त हुने ठान्दछु । प्रदेशका अरु थुप्रै कला संस्कृतिका अनुष्ठानहरुमा हामीले हाम्रो दायित्व निर्वाह गर्दै आएका छौं । प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरेर कला, साहित्यका क्षेत्रमा अझै योगदान गर्ने प्रक्रियामा गण्डकी प्रदेश सरकार रहेको जानकारी पनि गराउँछु ।

साहित्य र कलाबिनाको जीवन निरश हुन्छ । साहित्यमा भाषिक सामथ्र्य, वैचारिक सामथ्र्य, कलाको सामथ्र्य हुनुपर्छ । जीवनलाई आनन्दमय बनाउने, खुसीमय बनाउने साहित्य विचारप्रधान र कलायुक्त हुनुपर्छ भन्ने मान्यता म राख्छु । त्यस्तो साहित्यले केवल व्यक्तिको जीवनलाई मात्रै आनन्द र खुसी दिँदैन, समाज र राष्ट्रलाई नै योगदान पुर्‍याउँछ । विश्वलाई योगदान पुर्‍याउँछ ।

समालोचकहरुले भनेको सुन्छु, विश्व साहित्यको मैदानमा नेपाली साहित्य थिरिथिरि गर्दै अघि बढ्दैछ । मलाई त नेपाली साहित्य विश्वको त्यो मैदानमा दौडने र अग्रपंक्तिमा हुनुपर्छ भन्ने विश्वास लाग्छ । विश्वास गर्छुु, मेरो विश्वास चाँडै सत्य साबित हुनेछ ।

साहित्यमा यथार्थ हुन्छ र कल्पना पनि हुन्छ । तर, कल्पनामा मात्रै साहित्य अडिँदैन । यसले समाजको भुइँ छोएकै हुन्छ । साहित्यको पात्र पनि समाजभित्रकै हुन्छ । स्वैरकल्पना पनि समाजभन्दा बाहिरबाट उत्पादन हुने होइन, त्यसको साइनो पनि समाजसँगै जोडिन्छ । साहित्य न समाजबाट अलग हुन्छ, न आर्थिक एवं सामाजिक चिजबाट । त्यसैले साहित्यलाई लिबरल विधा भनिएको हुनुपर्छ । त्यसको पुष्टि लिटरेचर फेस्टिभल भनेर आयोजित यस पर्वमा समेटिएका पाहुना र विषयवस्तुले पनि गरेकै छ ।

नेपाल लिटरेचर फेस्टिभल केवल कला, साहित्य, संस्कृति, राजनीति र सामाजिक एवं आर्थिक विषयको मात्रै चौतारी नभई पोखरामा स्वदेशी र विदेशी पर्यटक आकर्षण गर्ने प्रोडक्ट बनेको छ भन्ने मेरो विश्वास छ । राज्यबाटै हुनुपर्ने यस्ता अनुष्ठान गैरसरकारी स्तरबाट बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीका युवा साथीहरुले गरेका छन्, जसको म सराहाना गर्दछु । यो फेस्टिभलले पोखरा, गण्डकी प्रदेश र यहाँको साहित्यलाई अझै उजागर गर्न मद्दत गरेको छ भन्ने मेरो विश्वास छ ।

सुनेको छु, भारतको जयपुर लिटरेचर फेस्टिभलबाट प्रभावित भएर नेपाल लिटरेचर फेस्टिभल सुरु भएको हो । यो पनि सुनेको छु कि आज जयपुर लिटरेचर फेस्टिभल जयपुरमा मात्रै सीमित छैन, युरोप र अमेरिकामा पनि आयोजना हुन थालेको छ । नेपाल लिटरेचर फेस्टिभल पनि त्यसरी नै विस्तार भएको हेर्ने र देख्ने मेरो चाहना छ । त्यसका लागि शुभेच्छा र शुभकामना पनि छ ।

सन् २०११ मा ललितपुरको एउटा रेन्टुरेन्टबाट सुरु गरिएको नेपाल लिटरेचर फेस्टिभल आज आठौं संस्करणसम्म आइपुग्दा चौथोपटक पोखरामा भइरहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय लेखक र विद्वानहरुलाईसमेत सहभागी गराएर ज्ञानका पारखीहरुलाई एकै ठाउँमा भेला पार्ने यस्तो गौरवमय फेस्टिभलका लागि उपयुक्त स्थान हाम्रो प्रदेश गण्डकीको राजधानी सहर पोखरा चयन हुनु हामीलाई गर्वको विषय हो । यस्तो मौका देशका अरु सहरलाई प्राप्त छैन ।

नेपाल लिटरेचर फेस्टिभल जहाँ देशदेशावरका गिनेचुनेका विद्वानहरुले विचार पस्कनुहुन्छ । लेखक र साहित्यकारबीच विशद् विमर्श हुन्छ । कलाकारहरुका अनुभव र अनुभूति तथा दृष्टिकोण साटिन्छ । अनि सामाजिक, आर्थिक र राजनीतिक मामलाका थुप्रै विषयमाथि गहन छलफल हुन्छ ।

लिटरेचर फेस्टिभलले पोखरालाई पर्यटनको मात्रै नभई साहित्य, कला, संस्कृति र ज्ञानको केन्द्रका रुपमा स्थापित गर्न योगदान पुग्ने मेरो विश्वास छ । अझ दक्षिण एसियामा नोबल पुरस्कारकै दर्जा पाएको २५ हजार डलर राशीको डीएससी पुरस्कार घोषणा र अर्पणका लागि यो फेस्टिभल र हाम्रै प्रदेशको राजधानी पोखरा चयन गरिदिनुभएकोमा उक्त पुरस्कार संस्थापक र सञ्चालकहरुलाई धन्यवाद दिन्छु । यस्तो विशेष मौका प्रदान गर्ने तपाईं सबैलाई यो प्रदेशको मुख्यमन्त्रीको हैसियतले प्रदेश राजधानी पोखरामा न्यायो स्वागत गर्दछु ।

यो फेस्टिभल आयोजना गरेकोमा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी, निर्देशक अजीत बराल र बुकवर्मसँगै आयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेसहित उहाँहरुको टिम एवं सहयोगी सबैलाई बधाई र शुभकामना प्रकट गर्छु । फेस्टिभलमा आउनुभएका देश विदेशका सबै पाहुनाहरुको पोखरा बसाइ सुखद रहोस् भन्ने कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?