Comments Add Comment

त्रिभुवन विमानस्थल अब २१ घण्टा सञ्चालनयोग्य

ट्याक्सीवे जिर्णोद्धारको काम सकियो

३० मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा सञ्चालनका लागि योग्य बनेको छ । धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको दोस्रो चरणको कामका लागि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल सञ्चालनयोग्य भएको हो । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने काम सकिएको छ ।

ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको जिर्णोद्धारको कामसमेत सकिएको छ । निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ । यससँगै अब विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

सरकारले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सञ्चालनको घोषणा गरेको छ । सकारको नीति तथा कार्यक्रम र बजेटमा समेत यो विषय उल्लेख थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राथमिकताका कार्यक्रममा पनि यसलाई समेटिएको छ । तर, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका उच्च अधिकारीहरु भने तत्काल २४ सै घण्टा सञ्चालन गर्न सम्भव नहुने बताउँछन् ।

‘उपकरणलाई पनि केही समय आराम चाहिन्छ, किनकी एउटा सामान बिग्रियो भने अर्कोले काम चलाउने गरी विकल्प छैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘त्यसकारण हामी दैनिक २१ घण्टा चलाउने गरी तयारी गर्छौं ।’ विमानस्थल कार्यालयका अनुसार १ जनवरी २०२० बाट दैनिक २१ घण्टा चलाउने तयारी छ । १ जनवरीबाट भ्रमण वर्ष प्रारम्भ हुँदैछ ।

त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा थियो । गत चैतमा जिर्णोद्धारको पहिलो चरणको काम शुरु हुनुअघि रातको समय पर सारेर २१ घण्टा चलाउने गरिएको थियो । तर, अधिकांश वायुसेवालाई दिउँसोकै समयमा स्लट दिइएका कारण रातको समयमा थप वायुसेवा कम्पनीले उडान गर्न इच्छा देखाएनन् । यसले गर्दा दिउँसोको समयमा आकास र विमानस्थलमा ट्राफिक जाम हुने तर रातको समयमा सुनसान हुने अवस्था रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करीव ४० वर्ष पुरानो पीच उप्काएर धावनमार्ग तथा ट्याक्सी वे जिर्णोद्धारको काम सम्पन्न भएको हो । यसबाट विमानस्थलको धावनमार्गमा हुने भौतिक क्षतिबाट उत्पन्न हुने जोखिम टरेको छ भने विमानस्थलमा अवतरण हुने जहाजको क्षमता समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment